१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निजीलाई फोहोरमैला व्यवस्थापनको जिम्मेवारी नदिन जनप्रतिनिधिको जोड

फोहोरमैला व्यवस्थापन कार्ययोजना ०८० को मस्यौदामाथि छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१३:oo

काठमाडौं उपत्यकाका जनप्रतिनिधिले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुने बताएका छन् । सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा उपत्यकाका नगर प्रमुखहरूको उपस्थितिमा भएको ‘फोहोरमैला व्यवस्थापन कार्ययोजना ०८०’ को मस्यौदामाथिको छलफलमा उनीहरूले यस्तो बताएका हुन् ।

ललितपुर महानगर मेयर चिरिबाबु महर्जनले संघीय सरकारले ल्यान्डफिल साइट बन्चरेडाँडाको व्यवस्था गर्नुपर्ने बताए । उनले हाल फोहोर व्यवस्थापन गरिरेको संस्था नेप बेस्ट कम्पनी प्रालिलाई खारेज गरी नयाँ प्रविधि अवलम्बन गरी फोहोर व्यवस्थापन गर्नुपर्ने बताए । 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय तहहरूलाई जिम्मेवार बनाई फोहोर व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखे । यस्तै, कागेश्वरी–मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले फोहोरमैला व्यवस्थापनमा माफियाहरूको चलखेल बन्द गर्नुपर्ने बताए । उनले फोहोरमैलासम्बन्धी तीन तहको काम, कर्तव्य र अधिकार स्पष्ट हुनुपर्नेमा जोड दिए । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले फोहोर उत्पादनको स्रोतमै नियन्त्रण गर्नुपर्ने र यसका लागि जनचेतना जगाउनुपर्ने बताए । 

 आफ्नो नगरपालिकाबाट सिक्न मेयर प्रजापतिको सुझाव 
भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिले फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन नहुने प्रस्तावमा समर्थन गर्दै फोहोर व्यवस्थापन एकै ठाउँमा नगरी विकेन्द्रित गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई आवश्यक बजेट तथा उपकरणको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भक्तपुर नगरपालिकाले फोहोरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले घरघरबाटै कुहिने र नकुहिने फोहोर संकलन गर्दै आइरहेको बताए । साथै, नागरिकलाई कौसीखेती, कम्पोस्ट मल बनाउने विधिबारे तालिम पनि दिँदै आएको जानकारी दिए । नगरपालिकाले कुहिने फोहोरको कम्पोस्ट मल बनाएर किसानलाई बिक्रीसमेत गर्दै आइरहेको मेयर प्रजापतिले बताए । विकसित देशहरूको प्रविधि र अनुभवबाट नेपालले सिकेर वैज्ञानिक ढंगबाट फोहोरको व्यवस्थापन गर्न सकिने उनको भनाइ छ  । भक्तपुर नगरपालिकाभित्र दैनिक करिब ३० टन फोहोर उत्पादन हुन्छ । करिब तीन दशकदेखि नगरपालिका आफैँले फोहोर व्यवस्थापन गर्दै आएको छ । भक्तपुरले सिसडोल र बन्चरेडाँडामा फोहोर पठाउँदैन ।

 छलफलमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, चाँगुनारायण नपाका मेयर जीवन खत्री, मध्यपुर थिमी नपाका मेयर सुरेन्द्र श्रेष्ठलगायतले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि केन्द्र सरकारबाटै पहल हुनुपर्ने र निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिए सरकार अक्षम हुँदै जाने बताए । 

 प्लास्टिकजन्य सामग्रीमा स्थानीय तहले प्रतिबन्ध लगाउनुपर्छ :  मन्त्री गुरुङ
छलफलमा मन्त्री सीता गुरुङले फोहोरमैला व्यवस्थापन कुनै एउटा पालिका वा उपत्यकाको मात्रै समस्या नभई देशभरकै साझा समस्या भएको बताइन् । फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न सम्बन्धित सरोकारवालासँग निरन्तर छलफलमा रहने प्रतिबद्धता जनाउँदै उनले सहरी विकास मन्त्रालयले निर्माण गरेको ल्यान्डफिल साइट हस्तान्तरणमा अन्योल सिर्जना भएको र सोका लागि सहजीकरणको वातावरण सिर्जना गर्नुपर्ने बताइन् । उनले फोहोर व्यवस्थापनबारे संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट नहुँदा अन्योल भएको र स्थानीय तहहरूले प्लास्टिकजन्य सामग्रीहरूको प्रयोगमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राखिन् ।

ad
ad