१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लहान प्रादेशिक अस्पतालमा एक  डोज पनि छैन रेबिजविरुद्धको खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o५:oo

रेबिजविरुद्धको खोप लगाउन दैनिक पुग्छन् १२ देखि १५ सम्म बिरामी, निःशुल्क सेवा नपाएपछि महँगोमा लगाउन बाध्य 

सिराहाको लहानस्थित प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको एक साता भयो । कुकुर, बिरालो, स्याल, बाँदरलगायतले टोकेर खोप लगाउन दैनिक १२ देखि १५ बिरामी अस्पताल पुग्ने गरेकामा सेवा नपाएपछि निजी स्वास्थ्य संस्थामा गएर महँगोमा लगाउन बाध्य छन् । 

प्रादेशिक अस्पतालमा निःशुल्क पाउने खोप सकिएपछि निजी स्वास्थ्य संस्थाले पनि कालोबजारी गरेका छन् । विगतमा एक डोजको ६ सय पर्नेमा अहिले दुई हजारसम्म लिने गरेका छन् । 

बिरामी सरकारी सेवाबाट वञ्चित हुँदा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र प्रदेशका अस्पतालमा खोप व्यवस्थापन गरिदिने मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकको भने दोहोरो जवाफ छ । 

लहान प्रादेशिक अस्पतालका मेसु डा. सुनील कुसवाहा केन्द्रसँग दिनहुँ खोप मागे पनि आपूर्ति नभएको दाबी गर्छन् । ‘कुकुरलगायतले टोकेका बिरामी रेबिजविरुद्धको खोप लगाउन दैनिक १२ देखि १५ जना आउँछन् । तर, खोप नै छैन,’ उनले भने, ‘जनकपुरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग दिनहुँ खोप मागिरहेका छौँ, तर आपूर्ति भएको छैन । एक कर्मचारी पठाएको थिएँ, छैन भनेर फर्काइदिएछन् ।’ 

तर, केन्द्रका निर्देशक नागेन्द्र यादव हाल सीमित स्टक रहेकाले तत्कालका लागि ५० भाइल लैजान भनेकोमा धेरै चाहियो भन्दै नलगेको दाबी गर्छन् । ‘लहानका मेसुलाई फोन गरेर तत्कालका लागि ५० भाइल लगेर काम चलाउँदै गर्नुहोला, यहाँ आपूर्ति भएपछि आवश्यकताअनुसार फेरि पठाउँछौं भनेको छु, तर लिन आउनु भएको छैन, धेरै चाहियो भन्नुभएको छ,’ उनले भने, ‘५० भाइल खोपले दुई सय ५० बिरामीलाई पुग्छ । त्यसले एक हप्तासम्म धान्नसक्छ ।’

संघ सरकारको स्वास्थ्य सेवा विभागले खोप खरिदका लागि टेण्डर आह्वान गरिसकेको भएपनि आपूर्ति केन्द्रमा इमर्जेन्सीका लागि साढे चार सय भाइल खोप मात्र मौज्दात रहेको र प्रदेशअन्तर्गतका आठवटा अस्पताललाई तत्काल ५० भाइलका दरले दिने व्यवस्था गरिएको उनले बताए । मधेस स्वास्थ्य प्रतिष्ठानलाई पनि ५० भाइल नै पठाएको उनले बताए । 

खोप लिन कर्मचारी पठाएको थिएँ, छैन भनेर फर्काइदिएछन् : डा. सुनील कुसवाहा, मेडिकल सुपरिटेन्डेन्ट, लहान प्रादेशिक अस्पताल
रेबिजविरुद्धको खोप लगाउन दैनिक १२ देखि १५ जना आउँछन्, तर खोप नै छैन । जनकपुरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग दिनहुँ खोप मागिरहेका छौँ, तर आपूर्ति भएको छैन । एक कर्मचारी पठाएको थिएँ, छैन भनेर फर्काइदिएछन् । 

तत्कालका लागि ५० भाइल लैजानुस् भनेको हो, लिन आउनुभएको छैन : डा. नागेन्द्र यादव, निर्देशक, मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र
लहानका मेसुलाई फोन गरेर तत्कालका लागि ५० भाइल लगेर काम चलाउँदै गर्नुहोला, यहाँ आपूर्ति भएपछि आवश्यकताअनुसार फेरि पठाउँछौँ भनेको छु । तर, लिन आउनुभएको छैन । धेरै चाहियो भन्नुभएको छ । ५० भाइल खोपले दुई सय ५० बिरामीलाई पुग्छ । त्यसले एक हप्तासम्म धान्न सक्छ । अहिले कम स्टक भएकाले मधेसका आठवटै अस्पताललाई ५० भाइलका दरले दिने व्यवस्था मिलाएको हो ।