१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Sunday, 11 May, 2025
बरामद सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ५ शुक्रबार o७:२८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एयरपोर्टबाट सामान छुटाउने कार्गो सञ्चालक तीनसहित १० समातिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार o७:२८:oo

बिहीबार राति राजस्व अनुसन्धानको टोलीले दुईजना कार्गो सञ्चालकलाई पनि पक्राउ गरेको छ । ट्रान्सग्लोब सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्सग्रुपका राजन श्रेष्ठलाई विभागको टोलीले पक्राउ गरेको हो । यी दुईले रेडी ट्रेड प्रालिका नाममा आएको सामान भन्सारबाट छुटाएर तत्तत् ठाउँमा ‘डेलिभरी’ गर्ने भूमिका खेलेको विभागको दाबी छ । दुवैजनालाई विभाग टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूले विगतदेखि नै रेडी ट्रेडको नाममा आएको वस्तुको भन्सार प्रक्रिया गरेर सम्बन्धित ठाउँमा पुर्‍याउने काम गर्थे । उनीहरूसँगै बिहीबार रातिसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ । त्यसमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सीचालक अशोक लामा, चिनीयाँ मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, हर्क राई, चिनियाँ नागरिक ली, कार्गो सञ्चालकहरू पुष्कर भट्ट, राजन श्रेष्ठ र कृष्ण श्रेष्ठ छन् ।

गत चैतमा दर्ता भएको थियो रेडी ट्रेड प्रालि : तीन महिनामा ३४ पटक वस्तु आयात, २२ पटक सुन
मंगलबार बरामद सुन रेडी ट्रेड प्रालिका नाममा आयात भएको थियो । यो फर्मले तीन महिनामै ३४ पटक वस्तु आयात गर्दा २२ पटक सुन ल्याएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । यो फर्म दर्ता नै सुन तस्करीका लागि गरिएको उनीहरूको शंका छ । कम्पनी पनि गत चैत अन्तिमतिर मात्रै दर्ता भएको देखिएको छ ।

भन्सार कार्यालयका कर्मचारी निलम्बित, भन्सार विभागले गठन गर्‍यो छानबिन समिति 
भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद भएपछि भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई निलम्बन गरेको छ । बिहीबार विभागले विमानस्थल भन्सार कार्यालयका खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गरेको हो भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिस गरेको हो ।

अधिकृत तहका कर्मचारीको हकमा निलम्बनको निर्णय अर्थ मन्त्रालयले गर्ने भएकाले सिफारिस गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । विभागले बिहीबारै अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेपछि कर्मचारी निलम्बन गरेर काम थालेको हो ।

समितिलाई पाँच दिनको समय दिइएको छ । समितिले भन्सार प्रक्रियाको त्रुटि, सुन ल्याउने पार्टीकै थप सामान गोदाममा भए–नभएको, जाँचपासमा खटिएका कर्मचारी, मालवस्तुको एक्सरे परीक्षण गरे–नगरेको तथा त्यसमा खटिएका कर्मचारी, भन्सार मूल्यांकन गर्ने, पास गर्ने र अन्तिम निर्णय गर्ने अधिकारी, सिसिटिभी फुटेजलगायतको पनि अध्ययन गर्नेछ ।

मध्यरातमा चिनियाँ नागरिकको गोदाममा छापा

ठूलो परिमाणको सुन हङकङबाट आएको भेटिएपछि यसमा उतैका एजेन्ट संलग्न भएको स्वाभाविक अनुमान राजस्व विभागलाई थियो । यसमा चिनियाँ नागरिक संलग्न रहेको र उनले गोदाम नै भाडामा लिएर सुन तस्करी गरेको जानकारी विभागलाई आयो । त्यही आधारमा तत्कालै विभाग उनको खोजीमा लाग्यो । 

विभाग टोलीले बालुवाटारमा उनको गोदाम पहिचान गरेर मध्यरातमै छापा हान्यो । छापा हान्दा एयरपोर्टमा बरामद वस्तु र गोदाममा भेटिएका वस्तु उस्तै भेटियो । उनले एयरपोर्टबाट ल्याएर त्यही गोदाममा राखेर तत्तत् ठाउँमा तस्करी गर्ने गरेको खुलासा भयो । फ्ल्याट भाडामा दिने घरबेटीबाट प्रहरीले ती चिनियाँको पासपोर्टको फोटोकपी प्राप्त गर्‍यो । ढिला गर्दा उनी उम्किन सक्ने भएकाले पासपोर्ट ब्लक गर्न अध्यागमन विभागमा पठाइयो । 

नभन्दै ली नाम गरेका ती चिनियाँ नागरिक बिहीबार ११ बजे नै विमानस्थल पुगे । तर, त्यतिवेलासम्म अध्यागमन अधिकृतहरू उनलाई पक्राउ गर्न ‘अलर्ट’ भएर बसेका थिए । उनको पहिचान हुनेबित्तिकै अध्यागमनबाट प्रहरीले पक्राउ गरेर राजस्व अनुसन्धानको जिम्मा लगायो । प्राप्त सूचनाका आधारमा ती चिनियाँ नागरिक गत २७ मंसिरमा नेपाल आएको देखिन्छ । महाराजगन्जमा उनले ल्यान्ड एन्ड ओसन इन्टरनेसनल लजिस्टिक प्रालि नामको कम्पनी पनि खोलेको देखिएको छ । गत २८ वैशाखमा उनले आफ्नो भिसालाई ‘बिजनेस’ भिसामा परिणत गरेको देखिन्छ । उनको पक्राउबाट धेरै पाटा खुल्दै जाने विभागले जनाएको छ ।