१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o६:१५:oo
Read Time : > 7 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : पार्टीमा समस्या रहेकोमा एकमत, जिम्मेवारीमा आरोप–प्रत्यारोप

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:१५:oo

प्रत्यक्ष प्रसारण भइरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरू खुलेरै आरोप–प्रत्यारोपमा उत्रेका छन् । राष्ट्रिय राजनीति र पार्टीजीवनका कैयौँ मुद्दामा कांग्रेस केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिरहेका छन् । 

बिहीबारको बैठकमा धारणा राख्ने सदस्यहरूले आ–आफ्नो समूहको रक्षा गर्दै अर्को पक्षको आलोचना गरेका छन् । पार्टीमा समस्या रहेकामा सबैजसो नेता एकमत भए पनि त्यसको जिम्मेवारीलाई लिएर उनीहरूबीच आरोप–प्रत्यारोप जारी छ । अहिलेको चुनौती चिर्न सक्ने पार्टी निर्माणबारे नेताहरूका थरीथरी सुझाव छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्रीको प्रस्ताव ठीक रहेको र दोषबाट पन्छिने प्रवृत्ति अन्त्य गर्न खाँचो रहेको बताए । ‘महामन्त्रीले ल्याएका प्रस्ताव र कार्यक्रम स्वागतयोग्य छन्, यसलाई कार्यान्वयन गर्नुपर्छ । भएकाजति काम हामी आफैँले गर्‍यौँ भन्छौँ, तर नभएका सभापतिले गर्नुभएको छैन भन्छौँ । लागेका दोषबाट पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ उनले भने । 

उनले प्रदेश सरकारका गतिविधि पनि पार्टी बैठकको ‘नोट’मा रहनुपर्ने बताए । ‘सातै प्रदेशको गतिविधि पनि केन्द्रीय समितिले जानकारीमा राख्नु उपयुक्त हुन्थ्यो, प्रदेशमा पनि हामी कहीँ आफैँ सरकारको नेतृत्व गरिरहेका छौँ । कहीँ सरकारमा सहभागी छौँ, प्रदेश सरकारका गतिविधिलाई पनि केन्द्रीय समिति बैठकले जानकारी लिनु उपयुक्त हुन्छ,’ उनले भने, ‘पुराना पार्टीले गर्न सकेनन्, नयाँ पार्टीले मात्रै गर्न सक्छन् भनेर भाष्य निर्माण गरिएको छ । हामीले गरेका कामको फेरिहस्त बनाएर प्रतिवाद गरौँ । विधानमा संसदीय दलको नेता बनाउने व्यवस्था पनि छ, हटाउने व्यवस्था पनि छ ।’

केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले मुद्दाका आधारमा राजनीति गरे नयाँ पार्टीलाई तह लगाउन सम्भव हुने बताए । ‘मुद्दाको राजनीति गर्ने हो । आमनागरिकमा र कार्यकर्तामा निराशा छाएको छ । त्यो आशा जगाउने काम तीन तहका सरकारको हो । हामी नयाँ पार्टीलाई ठेगान लगाउँछौँ । तर, तपाईंहरूले आफ्नो काम गर्नुस्,’ उनले भने, ‘संसदीय व्यवस्थामा रहेका राजनीतिक दल जनताको विश्वास जितेका दिनसम्म जीवित रहन्छन । आठ लाख ६६ कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि दुई करोड जनताका लागि पनि गरिरहेका छौँ ? महामन्त्रीको कार्ययोजनामा महिला हिंसा र सामाजिक न्यायका विषयमा किन नबोलेको ?’ 

राजीवविक्रम शाहले केन्द्रीय समिति बैठक लाइभ गरेर ठीक गरेका छौँ भनेर प्रश्न उठाए । ‘हामीभित्रका सबै कुरा बाहिर ल्याउँदा राम्रो हो ? औपचारिकताका लागि मात्रै बोलेर हुन्छ ?’ उनले भने, ‘पदाधिकारी नै गुट बनाउन सक्रिय हुनुहुन्छ र यसको सिकार हामी भएका छौँ । गुटको प्रत्यक्ष सिकार म पनि हो । मैले प्रदेश सभामा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोजेको थिएँ, तर दिइएन ।’

दिनेशकुमार यादवले पार्टीलाई अवसर सँगसँगै चुनौती रहेको, मधेसमा कांग्रेस फैलिन नसकेको बताए । ‘कांग्रेस हिजो मधेसबाटै जन्मियो, तर फैलन सकेन । हिजो जन्मिएका कम्युनिस्ट सबैतिर फैलिएका छन्,’ उनले भने, ‘हामीले मधेस र तराई सम्हाल्न सक्यौँ भने कांग्रेसलाई बहुमतबाट कसैले रोक्न सक्दैन ।’ 

केन्द्रीय सदस्य मोहन आचार्यले पार्टीकै नेताहरू नलाग्दा चुनावमा भोट घटेको बताए । ‘समानुपातिक भोटको विषयमा साथीहरूले कुरा राख्नुभयो । कांग्रेस र गठबन्धनकै जिम्मेवार साथीहरू नलाग्दा भोट घटेको हो,’ उनले भने, ‘कांग्रेस पहिलो नम्बरको पार्टी हो, फेरि पनि पहिलो बन्छ भन्ने विश्वास छ ।’

मधु आचार्यले कांग्रेसमा रूपान्तरण आवश्यक रहेको बताए । ‘महाधिवेशनमा एकता, उत्साह र रूपान्तरण नारा राखेका थियौँ । तर, व्यवहारमा त्यो देखिएन,’ उनले भने, ‘हामीले रूपान्तरण अभियानअन्तर्गत सबै प्रदेश र डायस्पोराका साथीहरूसँग छलफल गर्‍यौँ, धारणा बुझ्यौँ, सुझाव टिप्यौँ । अहिले देखिएका समस्या हल गर्न धेरै गहन सुझाव आएको छ ।’ उनले ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन कांग्रेसले नै दबाब दिनुपर्ने र पार्टीको सदस्य दोषी देखिएको अवस्थामा कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उमेश श्रेष्ठले कम बोल्न र धेरै काम गर्न आवश्यक रहेको बताए । ‘निर्वाचनमा एकजुट भएर गएको अवस्थामा हामीले ३० प्रतिशतभन्दा बढी सफलता हात पाथ्र्यौँ । तर, वर्तमान महत्वपूर्ण छ । वर्तमानलाई हेरेर भविष्यको कार्यनीति आवश्यक छ,’ उनले भने, ‘कम बोलौँ, काम गरेर देखाऔँ, आपसी हिलो नछ्यापौँ । ठूलो मान्छेको जिम्मेवारी ठूलै हुन्छ, कुरा बुझौँ । भाषण कम गरौँ ।’

उदयशमशेर राणाले युवाहरू कांग्रेसबाहेकका पार्टीसँग नजिकिएको अवस्था रहेको तथा पार्टीभित्रै हिलो छ्याप्ने प्रवृत्तिले निराशा छाएको बताए । ‘आन्तरिक विवादमै भुलेर हामीले हाम्रो मुख्य प्रतिस्पर्धा कोसँग भन्ने भुलेका छौँ । कतिपय हाम्रा साथीहरू समस्यामा पर्दा हाम्रै साथीहरूले खुच्चिङ भन्ने अवस्था बनेको छ । त्यसो नगरौँ, हामी एउटा परिवार पनि हो,’ उनले भने । 

सञ्जय गौतमले पार्टीका विविध विषयमा छलफल गर्ने विषय लाइभ गरेर छताछुल्ल गर्नु राम्रो नभएको बताए । ‘पार्टी विचारले चल्छ, भिडले चल्ने होइन । विधि र विधानमा चलेन । हामीले गठबन्धन र निर्वाचनलाई गम्भीर रूपमा छलफल गर्नुपर्ने हो, तर हामी सत्ताकै वरिपरि घुमेका छौँ । पहिलो पार्टी बन्यौँ भनेर भनिरहेका छौँ, तर हामीले राजनीति हारेका छौँ,’ उनले भने, ‘सदस्यता अनलाइन भनेका छौँ, तर क्रियाशील सदस्यता नवीकरण गर्न चाहनुभएको छैन । पार्टी विधिमा चलेन सभापतिज्यू ।’

उर्मिला नेपाल केसीले नेतृत्व हेरफेरको विषय बेमौसमी बाजा भएको बताइन् । ‘नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजा भयो । भर्खरै महाधिवेशनबाट नेतृत्व चयन गरेका छौँ, नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्छ । नेतृत्वको विषयलाई गम्भीर रूपमा लिऔँ,’ उनले भनिन्, ‘प्रदेशलाई चलायमान बनाउन आवश्यक छ । भ्रातृ संस्थालाई यथाशीघ्र पूर्णता दिऔँ र परिचालन गरौँ । अनुशासनको कारबाहीलाई विधानसम्मत बनाऔँ । जनमानसमा कांग्रेस गुट–उपगुटमा विभाजित छ भन्ने छ, अब त्यस्तो नहोस् ।’ 

प्रतिमा गौतमले विधानका आधारमा कारबाही गरिनुपर्ने बताइन् । ‘विज्ञप्तिका भरमा कारबाही गरिनुहुँदैन । भ्रातृ संस्था तदर्थवादमा राख्नुहुँदैन । निर्वाचनबाट नेतृत्व तत्काल आउने अवस्था बनाउनुपर्छ । नत्र नेताहरूको खादामाला लगाउँदै नेताको घरघर जाँदै ठीक हुन्छ, फिल्डमा भेटिँदैनन्,’ उनले भनिन्, ‘गठबन्धनलाई बढी प्राथमिकता दिइयो, तर जनताले रुचाएका छैनन् । अर्को चुनावमा एक्लै जान सक्नुपर्छ ।’

टेकप्रसाद गुरुङले निर्वाचनको समीक्षा नभएको बताए । ‘उपनिर्वाचनमा कसरी उम्मेदवार तय भयो, त्यो पनि थाहा भएन । वेलैमा समीक्षा नहुँदा निर्वाचनमा लाजमर्दो भएर हार्नुपर्‍यो,’ उनले भने, ‘भ्रातृ संस्थामा पनि नचिनेका अनुहारहरू परेका छन् अनि संगठन चल्छ ? माथिबाटै तोकेर पठाएपछि तलका कमिटीलाई कसैलाई टेर्दैनन् ।’

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सरकार वा साथी के रोज्ने भन्नेबारे सभापतिले निर्णय लिनुपर्ने बताए । ‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य हिस्सेदार हो । यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग–अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ,’ उनले भने, ‘खाणप्रति अन्याय भएको भए सरकारबाट हट्नुपर्‍यो, होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्बन गर्नुपर्छ । सरकार र साथीमध्ये एक के रोज्ने हो सभापतिज्यू, यो बैठकले टुंगो लगाउनुपर्छ ।’

रंगमती शाहीले पार्टी घोषणापत्र र बजेटबीच तालमेल नमिलेको बताइन् । ‘हामी सरकारमा छौँ, अर्थमन्त्री हाम्रै छन् । तर, घोषणापत्र एकातिर बजेट अर्कोतिर छ । महामन्त्रीले ल्याएको कार्यतालिका पनि अलपत्र पर्छ कि भन्ने चिन्ता छ । सप्रेपछि हामीले सपार्‍यौँ भन्यो । बिग्रेपछि सभापतिलाई दोष दिए भयो । अब हामी भाग लिने गरौँ, गाली खान परे पनि सबैले खाउँ, जिम्मेवारी लिऔँ,’ उनले भनिन्, ‘सदस्यता यसै आउने होइन होला, किन कांग्रेसको सदस्य बन्ने भनेर पनि त बुझाउनुपर्ला । भोट घट्यो भन्छौँ, तर कारणबारे समीक्षा गरेका छेनौँ ।’

यज्ञराज जोशीले कांग्रेस गतिमा चलेको महसुस भएको र महामन्त्रीको प्रस्तावले ऊर्जा दिएको बताए । ‘देश ओरालो लागेको अवस्थामा कांग्रेसले आर्थिक नीति बनाउने कि नबनाउने ? बिदेसिएका युवालाई नेपालमै रोक्नेबारे केही गर्ने कि नगर्ने ? बोल्ने कि नबोल्ने? कांग्रेसबाट अपेक्षा गरिएको छ,’ उनले भने । 

रामजनम चौधरीले पाँचदेखि सात लाख सदस्य कसरी बनाउने सोच्नुभएको छ भनेर प्रश्न गरे । ‘तरुण दल गठन हुँदा चार सयमा चारजना थारू छन् । घरघर जाउँ पार्टी सदस्य बनाऔँ भनेर हामी जान सक्छौँ ? यो तरिकाले पार्टी सदस्यता हुन्छ ? जनसंख्याको आधारमा प्रतिनिधित्व भएको छैन । के भनेर सदस्य बन भन्ने ?’ उनका प्रश्न छन्, ‘कांग्रेसको पपुलर भोट किन घट्यो हामीले कहिल्यै सोच्यौँ? हामी गाउँगाउँ गएर संगठन बनाउने, नेताहरू काठमाडौं बसेर आफूखुसी गर्ने भए हामी मात्रै किन गाउँ बस्ने ?’ 

योगेन्द्र चौधरीले नेपालकै पुरानो लोकतान्त्रिक पार्टी किन संस्थागत रूपमा दिनप्रतिदिन कमजोर भइरहेको भनेर प्रश्न गरे । ‘जनतालाई अधिकारसम्पन्न बनाउने कांग्रेस जनताबीच किन आलोचित भइरहेको छ ? निर्मम समीक्षा आवश्यक छ,’ उनले भने, ‘विभाजित भएर हामीले पार्टीलाई ऊर्जा दिन सक्दैनौँ । लेखाजोखा सच्याएर जानु जरुरी छ ।’

गोपाल दहितले कांग्रेसको पहिलो अवधारणा जनतालाई कसरी धनी र शिक्षित बनाउने भन्ने हुनुपर्ने बताए । ‘समानुपातिक सदस्यताको आधारमा प्रतिनिधित्व आवश्यक छ । गरिबलाई धनी बनाउन नलागेसम्म बहुमतमा खेल्ने भनेको गरिबीमा हो । एउटा मात्र मूलभूत उद्देश्य हुनुपर्छ । नत्र हामी सरकारमा जाऔँला, मन्त्री बनौँला, गरिब जहाँको त्यहीँ रहन्छन्,’ उनले भने । 

कर्णबहादुर बुढाले तानाशाही प्रवृत्ति अझै पनि कांग्रेसभित्र जीवित रहेको बताए । ‘जनताले दिने भोटमा भागबन्डा लगाएको अवस्था छ । एक–दुईजना व्यक्तिको कारणले पार्टीमा सिन्डिकेट छ । तर, आफ्नै स्वाभिमानमा उभिएकाले त्यो सिन्डिकेट मान्नेवाला छैनन्,’ उनले भने, ‘प्रत्यक्ष प्रसारण राम्रै हो, तर मलाई ठीक लागेन । हामी झगडा यहाँभित्र गर्नुपर्छ, तितामिठा कुरा पनि यहाँ गर्नुपर्छ ।’ 

मुक्ताकुमारी यादवले सबैलाई अनुशासनमा राख्न जरुरी भएको बताइन् । ‘सबैलाई अनुशासनमा राखिनुपर्छ । पार्टीको उम्मेदवार हराउन लाग्नेलाई विधानअनुसार हदैसम्मको कारबाही गरिनुपर्छ । माफ गरेर हुँदैन, अन्तर्घात गर्नेको मनोबल बढ्छ,’ उनले भनिन्, ‘मधेसलाई कांग्रेस सरकारमा भएको महसुस भएको छैन, बजेटमा विभेद गरियो । महिलालाई त गुट र उपगुटले हैरानै पारेको छ ।’

आमन्त्रित सदस्य एवं कोसी प्रदेश सभापति उद्धव थापाले कोसीको सरकारको पक्षमा नेताहरू नबोलेको भन्दै असन्तुष्टि राखे । ‘बल्लबल्ल आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारविरुद्ध पार्टीका नेताहरू नै देखिनुभयो । हामी सरकारलाई स्थायित्व दिन लाग्नुहुन्छ भन्ने चाहन्थ्यौँ । बनेको सरकारको नेतृत्वबारे प्रश्न गर्दा सिंगो कांग्रेसमा कार्यकर्ताको मनोबल घटाएको छ,’ उनले भने, ‘कोसीमा सरकार बन्दा कुनाकाप्चामा ऊर्जा छाएको अवस्था छ । तर, आज यो शक्तिलाई खुम्च्याउने पार्टी नेतृत्व नै यसविरुद्ध लाग्दा कार्यकर्ताको मन रोएको छ ।’

आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझीले महामन्त्रीले ल्याएको क्यालेन्डरले ऊर्जा थपेको, तर मत घट्नुमा नेतृत्वलाई दोष दिन नमिल्ने बताइन् । ‘मत घट्यो भनेर नेतृत्वलाई मात्रै दोष दिएर हुँदैन । हरेक क्रियाशील सदस्यले छातीमा हात राखेर सोचौँ । नेतृत्वले तल्लो तहको कार्यकर्ताले रेस्पोन्स र सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘गुट–उपगुटका चपेटामा पारेर राम्रा मान्छेलाई पाखा नलगाऔँ । नेतृत्व सङ्लो भएपछि तल यसै सङ्लो हुन्छ । पार्टीका साथीलाई समस्या पर्दा नेतृत्वले हेरेन, पार्टीमा बसेर सेभ भइँदैन भनेर पार्टी छाडेर जानुभएको छ, यो विडम्बनापूर्ण छ । सानो लोकप्रियताले नयाँ पार्टीले भोट पाइरहेका छन् , हामीले जनताका लागि के लिएर जाने ?’ 

चम्पादेवी खड्काले नेतृत्व र कार्यकर्ताबीच दूरी बढेको तथा जनतामा राजनीतिक दलप्रति वितृष्णा रहेको बताइन् । 

आङ्गेलु शेर्पाले कांग्रेसका पुराना सदस्यतामा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘नयाँ सदस्यता थप्दा पुराना कार्यकर्ताको अवस्था के छ ? कति सक्रिय हुनुहुन्छ ? हेर्नुपर्छ । पार्टी मापदण्डमा चलेको छैन । उहाँहरूमाथि न्यायोचित व्यवहार हुन सकेको छैन, असन्तुष्टिका कारण निष्क्रिय हुनुहुन्छ ।’

तारामान गुरुङले ढिलो भए पनि महत्वपूर्ण एजेन्डा आएको र कार्यान्वयन पक्षमा ध्यान पुर्‍याउनुपर्ने बताए । ‘कोसी प्रदेशको विषयमा अझै विवाद भइरहेको छ । यसलाई अझै कांग्रेसले नेतृत्व लिएर समाधान गर्नुपर्छ,’ उनले भने ।

अब्दुल सतारले सरकारमा भएको अनुभूति गराउन नसकिएको बताए । ‘ठूलो दल भनेका छौँ, तीनै तहको सरकारमा छौँ, तर अनुभूति गराउन सकेका छैनौँ,’ उनले भने, ‘विधानमा स्पष्ट रहेको अनुशासनको कारबाहीको विषय व्यवहारमा स्पष्ट भएन ।

महेन्द्रकुमार राय यादवले गठबन्धन सरकार भएको आभाष नभएको बताए । 

रमा कोइराला पौडेलले निर्वाचनको समीक्षाको माग गरिन् । ‘निर्वाचनपछिका परिस्थिति कस्ता परे र किन ढिला भयो भन्ने हामीले बुझ्नुपर्छ । सामाजिक सञ्जालमा हाम्रा नेताहरूलाई गाली गर्ने फेसबुक साइटहरू खोजी गरौँ,’ उनले भनिन् । 

कांग्रेस बैठकमा सुन प्रकरण
कांग्रेस बैठकमा बुधबार सय किलो सुनको विषयले पनि प्रवेश पाएको छ । केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले समसामयिक विषयअन्तर्गत यो विषय उठान गरे । उनले ठूला भ्रष्टाचारको विषय प्राथमिकतामा नपरेको भन्दै सुन प्रकरणको विषय पनि गुपचुप हुन सक्ने बताएका हुन् । ‘भ्रष्टाचारकै कुरा गर्दा हिजो मात्रै एक क्विन्टल सुन पक्रिएका छन् । एमालेका पालामा थुप्रै भ्रष्टाचार भएका छन् । तिनका बारेमा चर्चा हुँदैन । अनि हामी आफैँ विधिको शाषण र अन्तर्राष्ट्रिय कानुनका कुरा गर्ने ?’ उनले भने । नक्कली शरणार्थी प्रकरणमा जोडिएका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बनको विषयमा बचाउ गर्दै उनले विचाराधीन मुद्दामा आफैँ न्यायाधीश बन्न नमिल्ने तर्क गरे । 

बैठकमै महामन्त्री थापाको बर्थडे सेलिब्रेसन
इतिहासमा पहिलोपटक लाइभ गरिएको कांग्रेस बैठकमा बुधबार फरक दृश्य पनि रेकर्ड भयो । जारी कार्यसमिति बैठकको तेस्रो दिन महामन्त्री गगन थापाको जन्मदिन संयोग बन्यो । कांग्रेस कार्यालय सानेपामा यस्ता दृश्य विरलै देखिन्थे, तर सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्य एकै ठाउँमा जम्मा भएर महामन्त्री थापाको जन्मदिन मनाएका थिए । केन्द्रीय समिति बैठकको अन्त्यमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठक सकिएको जानकारी गराउँदै महामन्त्री थापाको जन्मदिनमा सहभागी हुन आग्रह गरेका थिए । 


 


 

ad
ad