
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । बुधबार बसेको समिति बैठकले सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समिति सचिव पद्मप्रसाद पाण्डेयका अनुसार १० दिनको समय दिएर बिहीबार उजुरी आह्वानको सूचना जारी हुनेछ । सरकारले विभिन्न मुलुक तथा नियोगको राजदूत परराष्ट्र मन्त्रालयका ६ जना सहसचिवको नाम सिफारिस गरेको छ ।
२६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभामा रामप्रसाद सुवेदी, फ्रान्समा सुधीर भट्टराई, थाइल्यान्डमा धनबहादुर ओली, युएईमा तेजबहादुर क्षेत्री र कुवेतमा घनश्याम लम्साललाई राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्न समितिले प्रस्ट आधार र सबुत प्रमाणसहित उजुरी आह्वान गरेको हो ।
उजुरीकर्ताले १४ साउनसम्म उजुरी दिन पाउनेछन् । समितिले उजुरीमाथि छानबिन गरेर प्रस्तावित राजदूतको सुनुवाइ गर्नेछ । सुनुवाइ अनुमोदन भएपछि सम्बन्धित देशमा एग्रिमो (नाम स्वीकृत)का लागि नाम पठाइनेछ । एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।