Skip This
दोस्रोपटक थपिएको म्यादमा पनि नबन्ने भयो नागढुंगा सुरुङमार्ग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३ बुधबार o६:४७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दोस्रोपटक थपिएको म्यादमा पनि नबन्ने भयो नागढुंगा सुरुङमार्ग

कम्पनीले अझै नौ महिना समय माग्ने संकेत, २५ जनवरीअगाडि बन्ने सम्भावना न्यून

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार o६:४७:oo

दोस्रोपटक थप गरिएको म्यादमा पनि नागढुंगा सुरुङमार्ग आयोजना नबन्ने भएको छ । अप्रिल ०२३ सम्म रहेको ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्‍याइएको छ । तर, आयोजनाको पछिल्लो प्रगतिअनुसार अबको डेढ वर्षपछि अर्थात् जनवरी ०२५ (पुस ०८१) मा मात्रै सुरुङमार्ग तयार हुने प्रारम्भिक अनुमान गरिएको छ । 

आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाले ठेक्का अवधिमै आयोजना बन्ने सम्भावना न्यून रहेको बताए । ‘आगामी अप्रिल ०२४ सम्ममा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ । तर, त्यो अवधिमा आयोजनाको निर्माण सम्पन्न हुन सम्भव छैन,’ उनले भने, ‘व्यावहारिक रूपमा भन्नुपर्दा जनवरी ०२५ यता आयोजना तयार हुने अवस्था छैन ।’ ठेक्का सम्झौताअनुसार जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले आयोजना सञ्चालन गर्ने अवस्थामा पुर्‍याएर सरकारलाई हस्तान्तरण गर्नुपर्छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न अझै डेढ वर्ष लाग्ने उनको भनाइ छ ।

सुरुङमार्ग बनाउन सडक विभाग र जापनिज कम्पनी हाजमा एन्डो कर्पाेरेसनबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएर नोभेम्बर ०२० देखि आयोजनाको निर्माण सुरु भएको थियो । हालसम्म (साढे दुई वर्ष) आयोजनाको समग्र भौतिक प्रगति ५५.१३ प्रतिशत पुगेको छ । यद्यपि, आयोजनाको सुरुङ खन्ने काम ८५ प्रतिशत सकिएको छ ।

आयोजनाअन्तर्गत मुख्य र सहायक गरेर दुईवटा सुरु निर्माण हुँदै छन् । त्यसमा दुई हजार पाँच सय ५७ मिटर लामो सहायक सुरुङमार्ग दुई सातामा ब्रेक थ्रु हुँदै छ । सहायक सुरुङमार्गको ४५ मिटरखण्ड मात्रै खन्न बाँकी छ । दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग भने अझै पाँच सय १५ मिटरखण्ड खन्न बाँकी छ । 

अहिले दैनिक आठ–नौ मिटर सुरुङ खनिएको छ, सोअनुसार अझै चार महिना लाग्ने देखिन्छ । तर, यस आयोजनामा सुरुङ ब्रेक थ्र्रु भएर मात्रै हँदैन । त्यहाँभित्रको सडक ढलान गर्नुपर्ने हुन्छ । त्यसका अलावा सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तामक्रम मिलाउनेलगायतका काम बाँकी नै छ । त्यसका लागि ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप ६ महिना समय लाग्छ । यसका अलावा आयोजनाअन्तर्गतको फ्लाई ओभर बनाउने काम पनि बाँकी छ । त्यो सुरुङमार्ग अगाडि नै बनाउन सकिन्छ । तर, मुआब्जाका कारण स्थानीयले अवरोध गर्दा अन्योल छ । यसरी जनवरी ०२५ (पुस ०८१) मा मात्रै सुरुङमार्ग तयार हुने देखिन्छ । यो ठेक्का सम्झौताको पहिलो म्यादभन्दा एक वर्ष १० महिना बढी हो ।

सम्झौताअनुसार गत अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपेर जुलाई ०२३ सम्म पुर्‍याइएको थियो । त्यस अवधिमा पनि आयोजनाको निर्माण नसकिने देखिएपछि पुनः नौ महिना म्याद थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्‍याइएको छ । त्यसरी दोस्रोपटक थप गरिएको म्यादमा आयोजना नबन्ने पक्का भएको छ ।

त्यसअनुसार निर्माण कम्पनीले थप समय माग्ने सम्भावना देखिएको छ । त्यो अवस्थामा निर्माण कम्पनीलाई थप समय दिनुपर्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन् । ‘दोस्रोपटक थपिएको म्यादमा निर्माण नसकिने देखिएको छ । त्यो अवस्थामा निर्माण कम्पनीलाई आवश्यक मात्रामा म्याद थप गर्नुपर्छ, त्यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘अन्य आयोजनाहरूमा म्याद गरेर पनि काम भएको छैन । तर, यस आयोजनाको निर्माण कार्यको प्रगति सन्तोषजनक छ । बीचमा कोरोनाका कारण निर्माण कार्यमा केही ढिलाइ भएको हो । तसर्थ, यसलाई सकारात्मक रूपमै लिनुपर्छ ।’  

नेपालको पहिलो आधुनिक सुरुङमार्ग बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा छोटिनेछ । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको यो सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्नेछ ।

नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ । आयोजनाको उच्च व्यवस्थापनमा २६ जना जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । 

 मन्त्री ज्वालाले गरे आयोजनाको अनुगमन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोलीले सोमबार नागढुंगाको सुरुङमार्ग आयोजनाको अनुमगन गरेको छ । मन्त्री ज्वालासहित विश्व बैंकका उच्च अधिकारी, मन्त्रालय र सडक विभागका उच्च अधिकारी र सरोकारवालाहरूको टोलीले आयोजनाको अनुगमन गरेको हो । मन्त्री ज्वालासहितको टोली यसै साता जापान भ्रमणमा जाँदै छ । सोही सन्दर्भमा मन्त्री ज्वालाले आयोजना निर्माणको अवलोकन गरेका हुन् । अनुगमनपछि मन्त्री ज्वालाले तोकिएकै समयमा निर्माण कम्पनीलाई काम सम्पन्न गर्न निर्देशन दिएका छन् । यद्यपि, व्यावहारिक जटिलतामा सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको उनको भनाइ छ ।