कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको बताएका छन्।
मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन्।
एमाले–माओवादी केन्द्रलगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि विश्वासको मत दिएको थियो।
विश्वासको मत दिनुको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले उक्त कुरा बताएका हुन्। पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे।
कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबीच गठबन्धन पुनः स्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गरे।
उनले भने, ‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ। आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउन वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा। हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनः स्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरणस्वरूप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा निर्वाचित गर्याैँ।’
उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्नेमा जोड दिए। उनले जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताए।