१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागलुङमा हटलाइन सेवासहित आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१९:oo

आकस्मिक रूपमा निम्तिन सक्ने विपतकाे सहज व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरेको छ । विपतका वेला तत्काल हटलाइन सूचनाको आधारमा खोजी र उद्धारमा खटिनका लागि सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले केन्द्र सञ्चालनमा ल्याएको हो। 

विपतलाई रोक्न र न्यूनीकरण गर्न स्थानीय सरकारको अधिकारअनुसार आवश्यक सामग्रीको व्यवस्थापन गरी केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रको सोमबार उद्घाटन गरिएको हो । केन्द्रमा दमकल, एम्बुलेन्स, शववाहन, डोजर र उद्धारका अन्य  सवारीसाधन, मानवीय स्रोतसमेत परिचालन गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रबाट सञ्चालन हुने सेवा निःशुल्क हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

‘विपतका सामग्री कति र कस्ता चाहिन्छन् ती सबै व्यवस्थापन गरेका छौँ। २४सै घन्टा कर्मचारी रहने, टोल फ्री नम्बर र हटलाइन नम्बर सञ्चालन गर्ने कामसमेत यहाँबाटै हुनेछ।  खोजी उद्धारमा खटिने जनशक्तिको व्यवस्थापनमा पनि प्रहरी र सेनासँगको सहकार्यमा हुनेछ,’ उनले भने।

केन्द्रको सञ्चालनले जिल्लाभरि नै सहज हुने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । उनले सरोकारवालाहरूले विपत् व्यवस्थापनको कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्नुपर्ने बताए ।  ‘केन्द्रको स्थापनासँगै एकीकृत खोजी उद्धारको काम गर्दा प्रभावकारी हुन्छ,’ थापाले भने, ‘यो अभ्यासले जनताले समयमा राहत र उद्धार पाउनेछन्, विभिन्न सुरक्षा निकायसँग पनि हामी सहयोग मागौँ । यसले भोलि आइपर्ने विपत् व्यवस्थापनका निम्ति सहज हुनेछ ।’

बागलुङ नगरपालिकाले केन्द्रमै दमकलमा कम्तीमा दुई खेप स्वचालित मेसिनबाट पानी भर्ने व्यवस्था पनि गरेको छ । १२ मिनेटमा दमकल भरेर पठाउन सकिने गरी प्रविधि जडान गरिएको छ । नगरपालिकाको तर्फबाट दुईजना विपत् व्यवस्थापनका तालिमप्राप्त कर्मचारीसहित तीनजना चालकसमेत यहीँ बस्ने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताए।

सदरमुकामको केन्द्रमा रहेको नगरपालिकाले विपत् हुनुपूर्व नै थालेको व्यवस्थापनको पाटो निकै स्वागतयोग्य रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। उनले  विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा स्थानीय सरकार र प्रशासन एक्लैको प्रयासले नहुने हुँदा यस क्षेत्रमा सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

ad
ad