१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

झलनाथ खनालले भने– धेरै कमजोरी भयो, महाधिवेशनमा समीक्षा गरेर अघि बढौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२४:oo

सत्तारूढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी गठनयता धेरै कमजोरी भएको औँल्याएका छन् । एमसिसी, तीन तहको निर्वाचन, नागरिकताको विषय, वर्ग दृष्टिकोण र पार्टीको भूमिकामा कमजोरी भएको उनले औँल्याए ।

‘अपमानजनक सर्तसहित एमसिसी अनुमोदन गरेर पार्टीले गम्भीर गल्ती गर्‍यो । नागरिकताको विषयमा पनि पार्टीले जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकेन । नयाँ पार्टी भएकाले मुद्दा स्थापित गर्न निर्वाचनमा एक्लै उभिनुपथ्र्यो । निर्वाचनमा वर्गसंघर्ष बुझाउने ठूलो अवसर थियो । त्यसको सदुपयोग हुन सकेन । त्यही कारण देशव्यापी संगठन भएर पनि राष्ट्रिय बन्न सकेनौँ,’ खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

खनालले दक्षिणपन्थी शक्ति बढ्दै गएको र वामपन्थी शक्ति ओरालो लाग्ने क्रममा रहेको पनि औँल्याए । सबै वामपन्थी शक्ति मिलेर अगाडि बढ्नुको विकल्प नभएकोमा उनले जोड दिएका छन् । हालसम्मका कमजोरीको समीक्षा गर्दै नयाँ दृष्टिकोणको साथ पार्टीलाई अगाडि बढाउन आगामी फागुनभित्र महाधिवेशन गर्नुपर्नेमा समेत खनालले जोड दिएका छन् ।

फागुनभित्र महाधिवेशन गरेर जान सकिने उनको सुझाव छ । ‘महाधिवेशनको विकल्प छैन । आगामी फागुनभित्र महाधिवेशन गरेर जानुपर्छ । कमीकमजोरी सच्याउँदै वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर अगाडि जानुपर्छ,’ खनालको भनाइ थियो ।

गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा नेता खनालले यस्तो धारणा राखेका हुन् । वर्तमान परिस्थिति र हाम्रा कार्यभार विषयमा सोमबारसम्म सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, डा. गंगालाल तुलधार र डा. विजय पौडेल, रामचन्द्र झासहित १३ जना सदस्यले धारणा राखेका छन् । प्रत्येक सदस्यले करिब दुई घन्टाका दरले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, राजनीतिक दलहरूको वस्तुस्थिति, समाजवादी आन्दोलनको भविष्यलगायतका विषयमा धारणा राखेका छन् ।

ad
ad