१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २ मंगलबार ०६:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुर्रा राँगा लिन सरकारी टोली यसै साता भारत जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २ मंगलबार ०६:२६:००

भारतले अनुदानस्वरूप दिएको मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाने भएको छ । विभागका चारजना यसै साता भारत जाने तय भएको पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । मुर्रा राँगा लिन जाने टोलीमा पशुसेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान र क्वारेन्टिन शाखाका प्रमुख छन् । उनले भने, ‘भारतले सीमानाकासम्म ल्याइदिने र त्यहाँबाट नेपाली टोलीले ल्याउने गरी प्रक्रिया अघि बढेको छ ।’ अनुदानस्वरूप दिइने १५ वटा राँगालाई एकैपटक ल्याइने ढकालले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १७ जेठदेखि २० गतेसम्म भारत भ्रमणका क्रममा नेपाली मुर्रा राँगा उपलब्ध गराउने सहमति भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा मुर्रा जातका राँगा ल्याउने सहमति भएको थियो । ०७५ सालमै नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा ३० वटा उन्नत जातका मुर्रा राँगाको नेपाल सरकारबाट माग भएको थियो । जसअनुसार जेठ ०७७ मा भारतीय पशु मन्त्रालयलाई नेपालले उच्च प्रजनन क्षमता भएका बिउ राँगो आपूर्तिका लागि औपचारिक रूपमा प्रस्ताव गरेको थियो ।

 जसमा भारतले नेपालले निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमका १५ वटा उच्च नश्लका मुर्रा जातका राँगा उपलब्ध गराउने भारतले त्यतिवेलै प्रतिबद्धता जनाएको थियो । विभागका अनुसार मुर्रा जातका राँगालाई पशुसेवा विभागमातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने भएको छ ।

उक्त उन्नत जातका राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार डोज वीर्य उत्पादन गरी एक लाख भैँसीमा कृत्तिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादन बढाउने सरकारको नीति रहेको छ ।