१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
द गार्जियनबाट
२o८१ बैशाख १९ बुधबार o८:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

स्विडेनको नेटो सदस्यता अड्काएर एर्दोगानले हासिल गरेका उपलब्धि

Read Time : > 3 मिनेट
द गार्जियनबाट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५७:oo

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको वार्ता–शैलीका अध्येतालाई राम्ररी थाहा भएको कुरा हो, उनी सम्झौतामा आफ्नो हात माथि पार्नलाई उस्ताद छन् । यसका लागि उनी आफूसँग वार्तामा बसेका अर्को पक्ष सबैभन्दा कमजोर भएको समय पर्खने गर्छन् । उनी आफ्नो पक्षलाई बलियो बनाउन क्रूर हुन पनि पछि पर्दैनन् । सन् २०१५ मा टर्की र युरोपेली संघबीच सिरियाली आप्रवासीलाई टर्कीमै रोक्ने विषयमा चलेको वार्ताको लिखित विवरण लिक भएको थियो । त्यसमा एर्दोगानले युरोपेली नेतासँग भनेको कुरा उल्लेख छ, जहाँ एर्दोगान भन्छन्, ‘हामी ग्रिस र बुल्गेरियातर्फको ढोका जुनसुकै वेला खोल्न सक्छौँ । हामी शरणार्थी बोकेको बस अघि बढ्नबाट रोक्न बाध्य हुनेछैनौँ ... सम्झौता भएन भने तपाईंहरू शरणार्थीहरूसँग कसरी सामना गर्नुहुन्छ ? के शरणार्थीलाई मार्नुहुन्छ ?’ त्यस वेला उनले तत्कालीन युरोपेली संघ आयोगका अध्यक्ष जँ क्लोड जंकरको देश लग्जेम्बर्गलाई ‘टर्कीको एक सानो गाउँबराबर’ भनेर होच्याएका थिए । 

त्यस सन्दर्भमा यो साता भिल्नियसमा भएको नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यासम्म स्विडेनको सदस्यतामा अड्को थाप्ने टर्कीको शैलीलाई धेरैले स्वाभाविक मानेका छन् । यस अडानबाट एर्दोगान टर्कीको हितमा केही फैसला गर्न सफल भएका छन् । स्विडेनको नेटो सदस्यताका लागि एर्दोगानका तीन माग थिए– स्विडेनमा लुकेर बसिरहेका टर्किस कुर्द विद्रोहीमाथि कडा कारबाही हुनुपर्ने, अमेरिकी कंग्रेसले अंकारालाई एफ–१६ को बिक्रीमा लगाइरहेको भिटो हटाउनुपर्ने र युरोपेली संघभित्र टर्किस नागरिकलाई भिसा–फ्री यात्रा सम्बन्धमा प्रगति हुनुपर्ने । यी तीनवटै मामिलामा उनले प्रगति हासिल गरेका छन् । जबकि स्विडेनको नेटो सदस्यतालाई टर्कीको संसद् अनुमोदन गर्ने निश्चित मिति भने तोकिसकेको छैन । अहिले पनि विवाद सबै मिलिसकेको छैन । उता नेटो सदस्यताका लागि व्यग्र स्विडेनले टर्कीलाई खुसी पार्न कैयौँ कदम उठाइसकेको छ । नेटो सदस्य हुन देशको संविधान र कानुनमा परिमार्जन गर्नेबाहेक उसले टर्कीले आतंकवादी समूह मान्ने कुर्दिस वर्कस पार्टी(पिकेके)का सदस्यविरुद्धको आफ्नो आतंकवादविरोधी सहकार्यलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ । त्यसबाहेक उसले विगतमा टर्कीलाई रोकेको हतियार निर्यात पुनः सुरु गरेको छ । स्विडेनले ‘आतंकवादका सबै रूप र अभिव्यक्तिविरुद्ध जारी लडाइँको आधारको रूपमा’ एक मार्गचित्र प्रस्तुत गर्ने सहमति पनि जनाएको छ । त्यसबाहेक उसले सिरियामा सक्रिय वाइपी/पिवाइडी नामक कुर्दिस समूहलाई समर्थन प्रदान नगर्ने वाचा पुनः दोहोर्‍याएको छ । 

स्विडेनको नेटो सदस्यताका लागि एर्दोगानका तीन माग थिए– स्विडेनमा लुकेर बसिरहेका टर्किस कुर्द विद्रोहीमाथि कडा कारबाही हुनुपर्ने, अमेरिकी कंग्रेसले अंकारालाई एफ–१६ को बिक्रीमा लगाइरहेको भिटो हटाउनुपर्ने र युरोपेली संघभित्र टर्कीका नागरिकलाई भिसा–फ्री यात्रा सम्बन्धमा प्रगति हुनुपर्ने । यी तीनवटै मामिलामा उनले सफलता हासिल गरेका छन् ।

स्विडेनले टर्कीको वर्तमान सरकारले ‘फेथुल्लाह आतंकवादी संगठन (एफइटिओ)’ भन्ने गरेको धार्मिक प्रचारक फेथुल्लाह गुलेनसँग जोडिएका हुन सक्ने एकाइलाई पनि समर्थन नगर्ने वाचा दोहोर्‍याएको छ । नेटोले पनि टर्कीकै मागलाई सम्बोधन गर्ने गरी आतकंवादविरोधी संयोजक स्थापना गर्न सहमत जनाएको छ । अझ महत्वपूर्ण स्विडेनका अदालतहरू कानुन उल्लंघन गर्ने स्विडिस कुर्दप्रति कठोर हुँदै गइरहेका छन् । अमेरिकी लडाकु विमान एफ–१६ को विषयमा, टर्कीका रक्षामन्त्री यासर गुलरले नेटो सम्मेलनको अघिल्लो दिन अर्थात् जुलाई १० मा उनका अमेरिकी समकक्षी लोयड अस्टिनसँग फोनमा कुरा गरे । दुई सकक्षीको फोन संवादपछि अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिको सकारात्मक टोनले धेरैको ध्यान तानेको छ । विज्ञप्तिमा भनिएको छ– ‘गुलर र अस्टिनले संयुक्त राज्य अमेरिका र टर्कीबीचको सैन्य सहयोगको लामो इतिहासको प्रशंसा गरेको र निरन्तर घनिष्ठ सहकार्यको सराहना गरे ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उनीहरूले टर्की, स्विडेन र नेटो महासचिव जेन्स स्टोल्टेनबर्गबीचको सकारात्मक वार्ताबारे पनि छलफल गरे । साथै टर्कीको सैन्य आधुनिकीकरणप्रति अमेरिकाको रक्षा मन्त्रालयको समर्थनबारे पनि कुरा भयो ।’

अझ महत्वपूर्ण कुरा सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष तथा ग्रिस समर्थक बब मेनेन्डेजले ‘टर्कीलाई लागिरहेको एफ–१६ बिक्रीसम्बन्धी भिटो हटाउने कि नहटाउनेबारे एक हप्ताभित्र निर्णय गर्ने’ बताएका छन् । ग्रिसविरुद्ध टर्कीको आक्रामकता घटेको टिप्पणी गर्दै यो ‘स्थायी वास्तविकता’ होस् भन्ने आशा राखेको मेनेन्डेजले बताए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस परिवर्तनका लागि आफू सक्रिय रहेको खुलासा गरे । टर्की र अमेरिकाबीच ४० वटा जेट खरिदका लागि ६ अर्ब डलरको सम्झौता भएको थियो । तर, सन् २०२१ को सिनेट भिटोपछि सम्झौता कार्यान्वयन हुन सकेको छैन । सम्झौतामा जेट खरिदका अतिरिक्त टर्की वायुसेनासँग पहिलेदेखि रहेको ७९ युद्धक विमानको आधुनिकीकरण कीट पनि समावेश हुनेछ ।

टर्कीको इयू सदस्यताको मुद्दामा भने प्रगति भए–नभएको स्पष्ट छैन । सम्भवतः टर्कीका राष्ट्रपतिलाई पनि यो विषयमा त्यति धेरै सफलता हात लाग्दैन भन्ने थाहा छ । भन्सार सम्झौता र भिसा–फ्री यात्रामा पुनः वार्ता  गर्नेमा एर्दोगानको बढी रुचि हुन सक्छ । स्पेन, जर्मनी, फ्रान्स र स्क्यान्डिनेभियामा उग्र दक्षिणपन्थीहरू शक्तिको वृद्धिमाझ यस्तो सम्झौताप्रतिको राजनीतिक प्रतिरोध निश्चित प्रायः छ । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले केहीअघिको एर्दोगानसँगको भेटलाई ‘राम्रा’ भन्दै आफूहरूले ‘युरोपेली संघ–टर्कीबीचको सहकार्यलाई पुनः महत्व दिन र पुनः क्रियाशील गर्ने अवसर पहिल्याउने’ गैर–प्रतिबद्धता जनाए । एर्दोगानको आत्मकेन्द्रित र लेनदेन प्रवृत्तिप्रति नेटोमा कोही खुसी छैनन्, तर अरुचिका बाबजुद एर्दोगानले हासिल गरेको उपलब्धिअघि यो अरुचि नगण्य छ । स्विडेनमा पनि उत्साह छ । सोमबार सार्वजनिक भएको २४ देशको प्यू–रिसर्च सेन्टरको सर्वेक्षणले ९८ प्रतिशत स्विडिस नागरिक रुसप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको देखाएको छ । ७८ प्रतिशतले नेटोप्रति अनुकूल दृष्टिकोण राख्ने ९२ प्रतिशतले आफूमा भ्लादिमिर पुटिनले विश्व मुद्दा सम्हाल्न सक्नेमा अविश्वास प्रकट गरे । यस्तोमा एर्दोगानसँगको वार्तापछि स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले सोमबार राति भिल्नियसमा उत्सवको मुडमा देखिनु स्वाभाविक हो । 

द गार्जियनका कूटनीतिक सम्पादक प्याट्रिक विन्टोरको विश्लेषण

 

ad
ad