१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेवा विस्तार गर्दै नेपाल रेलवे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:३३:oo

गत २० चैत ०७८ देखि नियमित सञ्चालनमा रहेको नेपालको एक मात्र जयनगर–कुर्था रेलवे सेवा विस्तार हुने भएको छ । भारतीय बजार जयनगर–कुर्था ३५ किलोमिटर ओहोरहदोहोर गर्दै आएको नेपाली रेलसेवा आउँदो १ असारदेखि महोत्तरीको सीतापुर भंगहासम्म थप १७ किलोमिटर सेवा विस्तार हुने भएको हो । जयनगर–कुर्थासम्म दैनिक दुईपटक सेवा दिँदै आएको नेपाल रेलवे आउँदो आइतबारदेखि महोत्तरीको भंगहा बिजलपुरासम्म सञ्चालन हुने नेपाल रेलवे कम्पनीका इन्जिनियर रवीन्द्र साहले बताए ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेलको उद्घाटन गर्ने उनको भनाइ छ । नेपाल रेलवे न्यारोगेज सेवा सञ्चालन भएका बखत पनि बिजलपुरसम्म सञ्चालन हुने गरेको थियो । तर, ०५२ सालमा आएको बढीले बिघहीको पुल भत्काएपछि रेल सेवा जनकपुर–जयनगरमा मात्र सीमित हुन पुगेको थियो । 

आर्थिक वर्ष सकिए पनि नेपाली रेलको बिमा भएन
झन्डै डेढ वर्षदेखि नियमित सञ्चालनमा रहेको जयनगर–कुर्था दुईवटा नेपाली रेलको आर्थिक वर्ष सकिन लाग्दा पनि बिमा हुन सकेको छैन । नेपाल सरकारले रेलका लागि चाहिने आवश्यक बजेट उपलब्ध नगराउँदा दुवै नेपाली रेल बिमाविना नै नियमति जयनगर–कुर्था सञ्चालन हुँदै आएको छ । दैनिक दुईपटक सञ्चालन हुँदै आएको रेलको बिमा बजेट व्यवस्था हुन नसकेको नेपाल रेलवे कम्पनीले जनाएको छ । एकपटकमा रेलले हजारभन्दा बढी यात्रु लिएर हिँड्ने गरेको छ ।  

दुवै रेलको बिमाका लागि चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ र गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो । जबकि एउटै बोगीसहितको रेलको बिमा गर्नलाई ९० लाख रुपैयाँ चाहिन्छ । यस हिसाबले दुवै रेलको बिमाका लागि एक करोड ८० लाख रुपैयाँ खर्च हुन्छ । रेलवे कम्पनीका इन्जिनियर रवीन्द्र साहले भने, ‘रकम अपुग भएपछि इन्स्योरेन्स गराउन सकिएन । चालू आर्थिक वर्षमा पनि बिमाका लागि १५ लाख मात्रै रकम विनियोजन गरिएको छ । हामीले थप बजेट माग गरेका थियाैँ। तर, थप बजेट अहिलेसम्म आएन ।’ उनले आगामी आर्थिक वर्षमा बिमाका लागि रकम विनियोजन गर्ने भनेर मन्त्रालयबाट आश्वासन आएको बताए । 

रेलको बिमा नभए पनि रेल दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार यात्रुलाई नेपाल रेलको ऐनअनुसार मृतकका परिवारजनले सात लाख रुपैयाँ क्षतिपूर्तिबापत पाउने व्यवस्था रहेको उनले बताए । तर, रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार पर्ने उनको भनाइ छ । गत पुसमा वैदेही स्टेसनमा नेपाली रेलमै किचिएर यात्रुको मृत्यु भएको थियो ।

रेल खुल्न लागेपछि टिकट नै नलिई रेलमा चढ्ने क्रममा रेलबाट लड्दा किचिएर धनुषा नगराइन नगरपालिकाका ३५ वर्षीय पूर्ण सदाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिनका लागि नेपाल रेलवे कम्पनीले छानबिन तथा मृतक परिवारलाई क्षतिपूर्तिका लागि समिति गठन गरिएको थियो । तर, छानबिन समितिले मृतकले टिकट नलिई रेलमा चढेको भन्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिएन । 

ad
ad