
गणतन्त्र कोरियाले भक्तपुर थिमीमा एक सय ५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी एक सय ५० शय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सोमबार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, मध्यपुरथिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथ कोइकामार्फत पाँच वर्ष अर्थात् सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ ।
९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमी नगरपालिका र नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछ । सम्झौता कार्यक्रममा बोल्दै अर्थसचिव पोखरेलले कोरियासँग भक्तपुरका जाेखिम रहेका जनतालाई स्वास्थ्य पहुँच दिने गरी अस्पताल निर्माण गर्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताए ।
उनले कोरियाको सहयोगले गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्ने बताए। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारलाई धन्यवाद दिए । उनले आयोजनालाई सफल कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताए । उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण अपेक्षा गरेको बताए । उनले उक्त सम्झौता कोरिया–नेपालबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउन इच्छुक भएको बताए ।
कोइकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालनजिकको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने भएको छ ।