१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खयरडाँडामा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३७:oo

बुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहको प्राचीन दरबार रहेको दाबी गरिएको खयरडाँडामा प्राचीन इनार र मध्यकालीन अवशेषहरू भेटिएका छन् । 

लुम्बिनी विकास कोषले देवदह– ९ खयरडाँडामा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए । 

गत १७ जेठदेखि सुरु गरी १५ असारसम्म करिब एक महिनासम्म गरिएको उत्खननबाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुन सक्ने सभाहलमा प्रयोग गरिएका इँटा, माटोको दियोहरू प्रशस्त भेटिएको लुम्बिनी विकास कोषका उप्रेतीले जानकारी दिए । 

‘प्राचीन इनारको प्रस्ट आकार देखिएको छ । धर्मदेशना गर्न निर्माण गरिएको हुन सक्ने भवनको संरचनामा प्रयोग गरिएको दुई साइजका इँटा भेटिएको छ,’ पुरातत्वविद् उप्रेतीले भने, ‘मध्यकालीनजस्तो देखिने इँटा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ 

उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इँटाहरू प्रशस्त भेटिएको जनाइएको छ । भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिने पुरातत्वविद् उप्रेतीले बताए ।

रुपन्देहीको देवदह– ९ घोडाहास्थित खयरडाँडा क्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र भएको दाबी गरिएको छ ।  उत्खननमा केही प्राचीन इनारसँगै ध्यान केन्द्रजस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरू प्रशस्त भेटिएकाले देवदहको दाबीलाई बल पुगेको बताइन्छ । 

लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन । उत्खननले प्राचीन इनार र भग्नावशेषहरू पत्ता लागेकाले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।

देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए ।

उत्खननबाट प्राप्त भएका पुरातात्विक वस्तुहरूलाई संरक्षण गर्न संग्रहालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातत्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए ।

ad
ad