
चौधरी ग्रुप (सिजी)ले पोखरामा सिजी प्लाजा सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटमा रहेको प्लाजाको ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्घाटन गरेका हुन् । प्लाजाको उद्घाटनपछि निर्देशक चौधरीले पोखरामा सञ्चालनमा ल्याएको जस्तै प्लाजाहरू देशका अन्य प्रदेशमा समेत क्रमशः विस्तार गर्दै जाने ग्रुपको योजना रहेको जानकारी दिए । ग्रुपका उत्पादनलाई ग्राहकसमक्ष पुर्याउन यस्ता प्लाजाले सहयोग गर्ने भएकाले चाँडै अन्य प्रदेशमा समेत खोल्ने गरी काम भइरहेको उनको भनाइ थियो । ग्राहकलाई अझ राम्रो सहयोग र सुविधा प्रदान गर्ने उद्देश्यसमेत प्लाजाको रहेको उनले बताए ।
एकै थलोमा सबै सेवा–सुविधा
नेपालमै पहिलोपटक सिजीले यस्तो प्लाजा सञ्चालनमा ल्याएको हो । सञ्चालनमा आएको प्लाजामा सबै सेवा–सुविधा उपलब्ध रहेको छ । सिजी डिजिटल सोरुमका प्रमुख सुमन घिसिडका अनुसार कम्पनीले सञ्चालनमा ल्याएको यस प्रकारको प्लाजा नेपालमै पहिलो रहेका जानकारी दिए ।
उनका अनुसार चारतले भवनमा रहेको प्लाजाको भुइँतलामा सिजी मोटर्स सोरुम रहेको छ जहाँ सिजीको इलेक्ट्रोनिक कार ‘नेटा भी’ बिक्री र प्रदर्शनीका लागि राखिएको छ । पहिलो तलामा सिजी डिजिटल सोरुम, सिजी नेट र सिजी फ्रेस छन् जहाँ एलजी, सिजी, गोदरेजका टिभी, फ्रिज, वासिङमेसिन, डिसवासर, चुलो, मिक्सर, ग्लाइन्डर, माइक्रोओभन, वाटरप्युरिफाई गर्ने विद्युतीय घरायसी सामान, टिसिएल, बेको, बी प्लस डी, केन्ट, एलिकालगायतका सामान बिक्री तथा प्रदर्शनका लागि राखिएका छन् । दोस्रो तलामा सिजीसँग सम्बद्ध नबिल बैंक, युनाइटेड इन्स्योरेन्स र फिनकोका शाखा सञ्चालनमा रहेका छन् भने तेस्रो तलामा सिजीको प्रदेश कार्यालय रहेको छ ।
सिजी प्लाजाका सञ्चालक तथा सिनियर म्यानेजर वसन्त पालका अनुसार एउटै भवनमा सिजीका सबै बिजनेस एकाइ सम्मिलित रहेका छन् । सञ्चालनमा आएको प्लाजाले ग्राहकहरूलाई एकैठाउँबाट सिजी व्यवसायसँग सम्बन्धित सबै जानकारी र सेवा प्राप्त गर्न सहयोग गर्ने उनले बताए ।