१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:o३:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोफसलमा पाँचतारे होटेलको संख्या दर्जन पुग्यो, साढे ३२ अर्ब लगानीमा १३ होटेल थपिँदै

२०२५ सम्ममा उपत्यकाबाहिर मात्रै पाँचतारे होटेलको संख्या २५ पुग्ने, सञ्चालनमा रहेका होटेलहरूमा १,२५१ र निर्माणाधीनमा १,५१२ कोठा क्षमता

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o३:oo

साढे दुई अर्ब लगानीमा सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा गत साताबाट पाँचतारे होटेल ‘सिद्धार्थ भिलासा’ सञ्चालन गरेको छ । एक महिनाअघि मात्रै पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको थियो । काठमाडौंबाट नजिकै काभ्रेको धुलिखेलमा ८५ कोठाको पाँचतारे ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनको तयारीमा छ ।

साढे दुई अर्ब लगानीको होटेल जुलाईभित्रै सञ्चालनमा आउनेछ । यस्तै, झापामा दुईवटा पाँचतारे सञ्चालनमा आइसकेका छन् भने थप दुईवटा निर्माण भइरहेका छन् । घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेले सिमराको इच्छा होटेललाई स्तरोन्नति गरी मधेस प्रदेशकै पहिलो पाँचतारे होटेल बनाए । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे ‘क्विन टावर’ ०८० फागुनदेखि सञ्चालनको लक्ष्य छ ।

केही वर्षयता मोफसलमा ठूला पाँचतारे होटेलमा लगानी गर्ने होडबाजी चलिरहेको छ । पूर्वको झापादेखि पश्चिमको बाँकेसम्म दर्जन पाँचतारे होटेल सञ्चालनमा छन् । अझै थप १३ वटा पाँचतारे निर्माणाधीन छन्, जसमा करिब साढे ३२ अर्ब लगानी हुँदै छ । 

निर्धारित समयभित्र निर्माण सम्पन्न भए सन् २०२५ सम्म मोफसलमा मात्रै पाँचतारेको संख्या २५ पुग्ने देखिन्छ । सञ्चालनमा रहेका पाँचतारेमा एक हजार २५१ कोठा छन् । नयाँ होटेलका एक हजार ५१२ कोठा थपिँदा पाँचतारेमा कोठा संख्या दुई हजार ७६३ पुग्नेछन् । अहिले काठमाडौंभित्र ११ वटा पाँचतारे सञ्चालनमा छन् । काठमाडौंबाहिर सञ्चालित १२ पाँचतारे होटेलमध्ये नौवटाले पर्यटन विभागबाट पाँचतारा लिइसकेका छन् । भैरहवाको पवन प्यालेस र सिद्धार्थ भिलासा तथा काभ्रेमा यसै महिनादेखि सञ्चालनमा आउने दुसित थानी हिमालय रिसोर्टले पाँचतारा लिन बाँकी छ ।

 फूलबारी रिसोर्ट मोफसलकै पहिलो 
काठमाडौंबाहिर पहिलो पाँचतारे पोखरामा ‘फूलबारी रिसोर्ट एन्ड स्पा’ खुलेको थियो । सन् १९९६ मा खुलेको फूलबारी रिसोर्टलाई देशमै पहिलोपटक ‘स्पा कल्चर’ भित्र्याएको श्रेय जान्छ । अमात्य परिवारले सञ्चालनमा ल्याएको रिसोर्ट अहिले विविध कारणले बन्द छ । एक समय फूलबारी एसियाकै उत्कृष्ट रिसोर्टमध्येमा दहरिन्थ्यो । दोस्रो पाँचतारेका  १७ वर्षअघि ‘पोखरा ग्रान्ड’ होटेल खुल्यो, जसमा १४० कोठा छन् । 

बाराही हस्पिटालिटी ग्रुपले पोखराको पामेमा पाँचतारे ‘सेदी लक्जरी रिसोर्ट’ निर्माण गरिरहेको छ । रिसोर्ट निर्माण कार्य ४२ प्रतिशत सम्पन्न भएको ग्रुपका अध्यक्ष विप्लव पौडेलले बताए । साढे पाँच अर्ब लगानी रहने रिसोर्टमा १८५ कोठा हुनेछन् । ११ वटा भिल्ला (घर) रहनेछन् । ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन आयोजना गर्न मिल्ने गरी रिसोर्ट निर्माण भइरहेको उनको भनाइ छ । 

 रूपन्देहीमा तीनवटा सञ्चालन,चारवटा तयारीमा 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै भैरहवाका होटेलमा लगानी ओइरिएको छ । तीनवटा पाँचतारे सञ्चालनमा आइसकेका छन् भने चारवटा निर्माणाधीन छन् । बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले कोटिहवामा पाँच अर्ब लगानी गरेर टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको छ । एक सय दुई कोठा रहेको यो लुम्बिनी क्षेत्रको पहिलो पाँचतारे रिसोर्ट हो ।

भैरहवाको अञ्चलापुरमा खुलेको सिद्धार्थ भिलासामा साढे दुई अर्ब लगानी छ, जहाँ ८५ कोठा छन् । चार बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ठूलो क्यासिनो राख्ने सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बताए । उनले भने, ‘हामीले लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई लक्षित गरेर पाँचतारे होटेलमा लगानी गरेका हौँ ।’

लुम्बिनीनजिकै पवन प्यालेस सञ्चालनमा छ । तीन बिघामा रहेको होटेलमा साढे दुई अर्ब लगानी भएको छ, जसमा १४७ कोठा छन् । अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि पर्यटक ओइरिने आसमा पवन कुमार हलुवाइले पाँचतारे होटेल निर्माण गरेका हुन्, तर पर्यटक नआउँदा होटेल बिक्रीमा राखेका छन् ।

भैरहवाकै बुद्धचोकमा तीन अर्ब लगानीमा १०३ कोठाको एसियन इन्टरनेसनल रिजेन्सी होटेल सञ्चालनको अन्तिम तयारीमा छ ।भैरहवाकै लुम्बिनी रोडमा बहुराष्ट्रिय चेन होटेल ‘होली डे इन’ निर्माण भइरहेको छ । एक अर्बभन्दा बढी लगानीमा १२५ कोठाहरू रहने होली डे इनका सञ्चालक सुरज उप्रेतीको भनाइ छ । भैरहवाको बेलहियामा साढे दुई अर्ब लगानीमा ११७ कोठाको पाँचतारे ‘मेघा–टु’ होटेल निर्माण भइरहेको छ । बुटवलको सुक्खानगरमा पनि डेढ अर्ब लगानीमा १०८ कोठाको सफ्रोन होटेल बनिरहेको छ । दुवै होटेलमा सिभिल स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको सञ्चालकले बताएका छन् ।

आइएमई समूहले पाल्पाको वसन्तपुरमा केबुलकारसहितको पाँचतारे होटेल निर्माण गर्दैै छ । बुटवलबाट वसन्तपुर जोड्ने २.६ किलोमिटर लामो केबुलकार सञ्चालनमा आइसकेको छ । वसन्तपुरमा १५० कोठाको पाँचतारे रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, ब्यांक्वेट, स्विमिङ पुल, बाल उद्यानलगायत निर्माण गरिने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘केबुलकारमा डेढ अर्ब लगानी भइसकेको छ,’ उनले भने, ‘रिसोर्टसहित सबै पूर्वाधार निर्माण सकिँदा लगानी पाँच अर्ब पुग्ने अनुमान छ ।’ 

 बाँकेमा दुईवटा पाँचतारे 
पश्चिम नेपालको व्यापारिक सहर बाँकेमा दुईवटा पाँचतारे होटेल सञ्चालनमा छन् । नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियम र कोहलपुरमा होटेल सेन्ट्रल प्लाजा सञ्चालनमा छन् । मानसरोवर जाने भारतीय पर्यटकलाई लक्षित गरेर पाँचतारे होटेल खुलेका हुन् । दुवै होटेलमा ८०–८० कोठा छन् ।

 झापामा दुई सञ्चालन, दुई थपिँदै 
झापाको धुलाबारीमा १०१ कोठाको होटेल मेची क्राउन र बिर्तामोडमा ८२ कोठाको होटेल द किंग्सवरी सञ्चालनमा छन् । ०७७ असोजमा खुलेको होटेल मेची क्राउन पूर्वी नेपालकै पहिलो पाँचतारे होटेल हो । झापामै थप तीनवटा पाँचतारे सञ्चालनमा आउँदै छन् । व्यवसायी दुर्गा प्रसाईंले साढे चार अर्ब लगानीमा ‘एट्रियम क्यासिनो होटेल’ ल्याउँदै छन् । चार बिघा क्षेत्रफलमा बनेको होटेलमा पाँचवटा भिल्लासहित ११५ कोठा हुनेछन् । झापाको मेचीनगर–१० मा अर्को पाँचतारे होटेल इस्टर्न नेपाल सञ्चालनमा आउँदै छ । १८ रोपनी क्षेत्रफलमा रहने होटेल इस्टर्नमा ८७ कोठा रहने र एक अर्ब ६९ लाख लगानी हुने बताइएको छ । 

 इटहरीमा खुल्यो, विराटनगरमा खुल्दै
इटहरीमा पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी भीम पौडेल र बलराम आचार्यको डेढ अर्ब लगानी रहेको होटेलमा सोल्टी समूहले व्यवस्थापन सम्हालेको छ । ८५ कोठाको होटेल पाँचतारास्तरमा वर्गीकरण भइसकेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

व्यवसायी देशबन्धु बस्नेतले इटहरीमै ‘रमडा’ ब्रान्डमा पाँचतारे होटेल सञ्चालनमा ल्याउन लागेका छन् । इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेललाई अमेरिकी विन्डहाम होटेल्स एन्ड रिसोर्टको चेन ब्रान्ड ‘रमडा’ले सञ्चालन गर्ने सम्झौता भइसकेको छ । २०२४ बाट सञ्चालनमा आउने आठ तलाको  ८० कोठा रहने होटेलमा एक अर्ब लगानी हुनेछ । सेन्चुरी ग्रुपले विराटनगरमा मलसहितको पाँचतारे होटेल निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय चेन ब्रान्ड ¥याडिसनले व्यवस्थापन सम्हाल्ने होटेलमा तीन अर्ब लगानी हुनेछ । कोभिड महामारीका कारण होटेल सञ्चालनमा केही ढिलाइ भएको सेन्चुरी ग्रुपका निर्देशक आदित्य दुगडले बताए ।

 इच्छा मधेसकै पहिलो, काभ्रेमा दुसित थानी
बाराको सिमरास्थित इच्छा होटेलले पर्यटन विभागबाट १३ चैत ०७९ मा पाँचताराको प्रमाणपत्र पाएको छ । दुई बिघामा बनेको होटेलमा स्तरोन्नतिपछि सय कोठा पुगेका छन् भने लगानी पनि डेढ अर्ब पुगेको छ । सञ्चालक वाग्लेले भने, ‘होटेल व्यवस्थापनमा बहुराष्ट्रिय ब्रान्ड ल्याउन ‘अलफ्ट’सँग कुरा चलिरहेको छ ।’ 

काभ्रेको धुलिखेलमा पनि पाँचतारे रिसोर्ट तयार भएको छ । यही जुलाई महिनामै रिसोर्ट सञ्चालनमा आउने बताइएको छ । धितोपत्र बोर्डको अध्यक्ष रहेका रमेश हमालको नेतृत्वमा साढे दुई अर्बमा ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आउन लागेको हो । दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । उनले भने, ‘रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन्, रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

 कहाँ–कहाँ बन्दै छन् पाँचतारे
तनहुँको बन्दीपुरमा पाँचतारे होटेल सञ्चालनको अन्तिम तयारीमा छ । ‘क्विन टावर’ टावर नाम दिइएको १७ तले होटेलमा ८२ कोठा हुनेछन् । केबुलकारसहितको होटेलमा साढे तीन अर्ब लगानी हुनेछ । होटेलमा मात्रै साढे दुई अर्ब लगानी रहने सञ्चालकमध्येका एक रामचन्द्र शर्माले बताए । २१ जना मान्छे बोक्ने, दुईवटा सिसैसिसाको पारदर्शी र ६ वटा रेस्टुरेन्ट (रेस्ट्रो–कार) गन्डोला रहेको केबुलकार एक–डेढ महिनाभित्रै सञ्चालनमा आउनेछ । होटेल फागुनसम्म सञ्चालमा आउनेछ ।

रामेश्वर शाहले चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याउँदै छन् । ८५ करोड लगानी गरेर ३४ रोपनीमा निर्माण भइरहेको रिसोर्टमा ६४ कोठा रहने शाहले बताए । यो रिसोर्ट फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सञ्चालन गर्नेछ । यो चितवनकै पहिलो पाँचतारे रिसोर्ट हुनेछ ।एनआरएनहरूको समूह आइडिया ग्रुपले सुदूरपश्चिमको कैलाली अत्तरियामा दुई बिघामा क्यासिनोसहितको पाँचतारे होटेल बनाउँदै छ । दुई अर्ब लगानी हुने १५० कोठाको होटेलमा पोखराको सौभाग्य रियलस्टेट एन्ड कम्पनी पनि लगानीकर्ता छ । 

ad
ad