१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Saturday, 10 May, 2025
२o८o असार २० बुधबार ११:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिमा सुझाव दिन उद्योग संगठन मोरङको प्रतिनिधिमण्डल काठमाडौंमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २० बुधबार ११:४५:oo

उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको तर्फबाट सुझाव दिएको छ । संगठनका अध्यक्ष राकेश सुरानाले अर्थमन्त्री महतसँग दीर्घकालीन आर्थिक एवं औद्योगिक विकासका लागि निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षासहितको सुझाव दिएका हुन् । 

उनले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकासजस्ता मूलभूत विषयहरूमा न्यूनतम साझा मापदण्ड लागू गरी निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न सक्ने वातावरण तयार गर्न आग्रह गरे । आगामी मौद्रिक नीति उद्योग–व्यवसाय क्षेत्रमा कर्जाको ब्याज एकल अंकमा सीमित हुने गरी ल्याउनुपर्नेमा उनको जोड थियो । अर्थमन्त्री महतले वित्तीय व्यवस्थापन, विद्युत्को उपलब्धता, पूर्वाधार विकासजस्ता विषय सरकारको प्राथमिकतामा रहेको बताउँदै निजी क्षेत्रलाई ढुक्क भई लगानी विस्तार गर्न आग्रह गरे । औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र देश आत्मनिर्भरउन्मुख हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।  

राष्ट्र बैंकका गभर्नर अधिकारीले उद्योग–व्यवसायको गुनासो सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउने आश्वासन दिए । उनले भने, ‘उद्योग–व्यवसाय क्षेत्रले व्यावहारिक रूपमा भोग्दै आएको चालू पुँजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्बन्धमा तथ्यांकसहित संगठनका तर्फबाट प्रस्तुत सुझावअनुसार उद्योग–व्यवसायलाई सहजीकरण गर्ने गरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको छ ।’ 

त्यस्तै, प्रतिनिधिमण्डलले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग पनि भेटेर विद्युत्सँग सम्बन्धित समस्याहरूबारे जानकारी गराई दीर्घकालीन समाधानका लागि आग्रह गरेको छ । संगठनका अध्यक्ष सुरानाले कोसी प्रदेशका उद्योगहरूले सुक्खायाममा भोग्नुपरेको अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज फ्लक्चुएसनका समस्याबाट उद्योग–व्यवसाय आजित भएको जानकारी गराए । छलफलमा घिसिङले विद्युत् पर्याप्त मात्रामा उपलब्ध भए तापनि ट्रान्समिसन लाइन निर्माणमा समन्वय अभावले भएको ढिलाइका कारणले विद्युत् उपलब्ध गराउन नपाएको बताए । उनले भने, ‘ढल्केबर–इनरुवा चार सय केभिए प्रसारण लाइन आगामी केही महिनाभित्र निर्माण सम्पन्न हुन्छ, बर्जुलगायतका स्थानमा सबस्टेसन निर्माणको क्रममा छ, जसले गर्दा आगामी वर्षदेखि समस्या क्रमशः सुधार भई विद्युत् अभावको समस्या रहनेछैन ।’ 

विद्युत्को ट्रिपिङ, लो–भोल्टेज, फल्क्चुएसनजस्ता स्थानीयस्तरमा देखिएका समस्या समाधानाका लागि भारप्रेसण केन्द्र, विद्युत् वितरण केन्द्रका प्रमुखको उपस्थिति तथा उद्योग संगठनको समन्वयमा विराटनगरमा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ । 

छलफलमा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सौरभ सारडा, सन्तोष भगत, दीपक अग्रवाल, सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सिर्जन प्याकुरेलको सहभागिता थियो ।