१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
पामिर गौतम काठमाडाैं
Invalid date format o७:२७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विदेश सम्बन्धसम्बन्धी कानुन र चिनियाँ विश्व दृष्टिकोण

Read Time : > 3 मिनेट
पामिर गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२७:oo

चीनले वैदेशिक सम्बन्धसम्बन्धी कानुनमार्फत विश्व समुदायलाई आफू कुनै पनि प्रकारका आधिपत्य, शक्तिको राजनीति, एकपक्षीयता, संरक्षणवाद र धम्कीविरुद्ध उभिने स्पष्ट पारेको छ

चाैधौँ राष्ट्रिय जन कंग्रेस (एनपिसी) को स्थायी समितिको गत बुधबार सम्पन्न तेस्रो अधिवेशनले चीनको पहिलो वैदेशिक सम्बन्धसम्बन्धी एक कानुन पारित गरेको छ । अक्टोबर २०२२ मा चीनको संसद्मा पेस गरिएको कानुनको पहिलो मस्यौदालाई विभिन्न विज्ञ र ज्ञाताहरूको रायका लागि पठाइएको थियो । मस्यौदा कानुनको पूर्ण पाठ डिसेम्बर ३०, २०२२ देखि जनवरी २८, २०२३ सम्म जनताको राय लिने उद्देश्यले अनलाइनमार्फत सार्वजनिक गरिएको थियो । मे २६, २०२३ मा एनपिसीको संविधान र कानुन समितिले मस्यौदा कानुनको प्रत्येक अनुच्छेदमा छलफल गरेपश्चात् जुन २८, २०२३ मा राष्ट्रिय जन कंग्रेसले यसलाई पारित गरेको हो । यो कानुन जुलाई १ बाट कार्यान्वयनमा आएको छ ।

चीनको बढ्दो आर्थिक र राजनीतिक प्रभावलाई रोक्न अमेरिकी नेतृत्वमा पश्चिमा मुलुकले विभिन्न बहानामा चीनविरुद्ध निर्यात नियन्त्रण र प्रतिबन्ध साथै चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप बढाउँदै आएका छन् । अमेरिकाले अहिलेसम्म एक हजार तीन सयभन्दा बढी चिनियाँ संस्थालाई कालोसूचीमा राखेको छ । त्यस्तै अमेरिकाले चीनको सेमिकन्डक्टर उद्योगमा निर्यात नियन्त्रण लगाउनुका साथै आफ्ना सहयोगी राष्ट्रलाई चीनलाई सेमिकन्डक्टर आपूर्ति शृंखलाबाट हटाउन दबाब दिँदै आएको छ । ग्लोबल टाइम्सले विशेषज्ञलाई उद्धृत गर्दै चीनले निर्यात नियन्त्रण र प्रतिबन्धसहित बढ़दो चुनौतीको सामना गरिरहेको वेला वर्तमान अन्तर्राष्ट्रिय कानुनले पर्याप्त उपाय प्रदान गर्न असफल भएको बताएको छ । यस्तो अवस्थामा चीनले अघि सारेको विदेश सम्बन्धसम्बन्धी कानुन आवश्यक भएको उल्लेख गरिएको छ । शीर्ष चिनियाँ कूटनीतिज्ञ वाङ यीले गत बिहीबार पिपुल्स डेलीमा प्रकाशित एक लेखमा आधिपत्यवादविरुद्धको लडाइँ र चीनलाई नियन्त्रण, हस्तक्षेप, प्रतिबन्ध गर्ने कार्यलाई विफल बनाउन विदेश सम्बन्धसँग सम्बन्धित कानुनको पूर्ण प्रयोग गर्नुपर्ने बताएका छन् ।

यही परिप्रेक्ष्यमा ६ अध्यायमा विभाजन गरिएको यस कानुनमा अध्याय चारको अनुच्छेद ३३ मा पश्चिमी विश्लेषकले सबैभन्दा बढी टिप्पणी गरेका छन् । यस प्रावधानले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको उल्लंघन गरी चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितलाई खतरामा पार्ने कार्यविरुद्ध चीन सरकारलाई प्रतिरोधात्मक उपाय अपनाउने अधिकार दिएको छ । ‘चाइना थ्रेट’ अवधारणालाई प्रचार गर्ने र चीनलाई ‘अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था’का लागि खतराका रूपमा प्रस्तुत गर्नेहरूले यस प्रावधानलाई चीनको ‘आक्रामक ब्वाँसो–योद्धा कूटनीति’ भनेका छन् । यद्यपि, यस प्रावधानले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको उल्लंघन गर्दै अर्थात् अन्तर्राष्ट्रिय कानुनका संयन्त्रलाई बेवास्ता गर्दै मनोमानी रूपमा चीनमाथि ट्यारिफ र प्रतिबन्ध लगाएको खण्डमा चीनले त्यसमा जवाफी कदम चाल्ने उल्लेख गरेको छ । यस अर्थमा ‘लंग आर्म जुरिस्डिक्सन’का नाममा अन्तर्राष्ट्रिय कानुन र मापदण्डलाई बेवास्ता गर्दै अन्य देशमा अवैध प्रतिबन्ध लगाएर क्षति पु¥याउने अमेरिकी नीतिविपरीत चिनियाँ विदेश सम्बन्धसम्बन्धी कानुनले एक रक्षात्मक नीति अघि सारेको छ । एकपक्षीय नीतिको विपरीत चीनले अवलम्बन गरेको वैदेशिक सम्बन्धसम्बन्धी कानुनले विश्वव्यापी दृष्टिकोण प्रस्तुत गरेको छ ।

विकसित जी–७ राष्ट्रहरूको गुट राजनीतिको अभ्यासविपरीत यस कानुनले अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकीकरण, बहुपक्षीयता र समानता, बृहत् परामर्श, संयुक्त योगदान र साझा लाभ सुनिश्चित गर्ने विश्वव्यापी शासन अवधारणालाई बढावा दिएको छ । यस कानुनमा चीनले त्रि–आयामिक कूटनीतिक कार्य दोहो¥याएको छ, जसअनुरूप प्रमुख शक्ति राष्ट्रबीच समन्वय र सकारात्मक अन्तरक्रियालाई बढावा दिने, छिमेकी मुलुक र विकासशील राष्ट्रहरूसँग इमानदारी, पारस्परिक हित र समावेशिताको अवधारणाअनुरूप सम्बन्ध विकास गर्ने र बहुपक्षीयता र विश्वव्यापी 

शासन प्रणालीको सुधार र निर्माणमा काम गर्ने रहेका छन् । यो शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तबाट प्रेरित छ, जुन चिनियाँ नेतृत्वले धेरै वर्षदेखि उल्लेख गर्दै आएका छन् । चीनले विश्वव्यापी वातावरणीय र जलवायु शासन प्रणालीमा सक्रिय सहभागिता जनाइरहेको छ र हरित र न्यून कार्बनयुक्त अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पारेको छ । चीनले अघि सारेको विदेश सम्बन्ध कानुनले निष्पक्ष र व्यावहारिक विश्वव्यापी वातावरणीय र जलवायु शासन प्रणालीको स्थापनालाई प्रवद्र्धन गर्ने चीनको प्रतिबद्धतालाई पुष्टि गर्छ । चीनको यस कानुनले विश्वव्यापी विकास पहलहरू, विश्वव्यापी सुरक्षा पहलहरू र विश्वव्यापी सभ्यता पहलहरूको कार्यान्वयनलाई बढावा दिएको छ । कुनै पनि राष्ट्रले आफ्नो राजनीतिक, सामाजिक र विकासका मार्ग रोज्न स्वतन्त्र रहेको हुँदा चीनले अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने उल्लेख गर्दै अन्य राष्ट्रलाई प्रदान गर्ने सहायता र अनुदानमा कुनै पनि प्रकारको राजनीतिक सर्त संलग्न नगर्ने बताएको छ ।

चीनले अवलम्बन गरेको वैदेशिक सम्बन्धसम्बन्धी नयाँ कानुनले शान्तिपूर्ण विकासको मार्गमा अगाडि बढ्ने, नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणलाई प्रवद्र्धन गर्ने र मानवजातिको साझा भविष्यका साथ समुदाय निर्माण गर्ने चीनको दृढ संकल्प व्यक्त गरेको छ । आफ्नो परराष्ट्र नीतिको सञ्चालनमा चीनले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली, अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्त र उद्देश्यमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तको संरक्षण गर्न आफ्नो प्रतिबद्धता जनाएको छ । 

गत बिहीबार पेन्टागनका प्रवक्ता पैट्रिक राइडरले फेब्रुअरीमा अमेरिकी लडाकु विमानले खसालेको चिनियाँ बेलुनले संयुक्त राज्य अमेरिकाभरि उडान गर्दा कुनै गुप्तचर सूचना संकलन नगरेको बताएका छन् । चीनले सुरुदेखि नै सो बेलुन जासुसीका लागि नभएर मौसमसम्बन्धी अनुसन्धानको ‘एयरसिप’ भएको र आफ्नो निश्चित मार्गबाट भट्केर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको बताउँदै आएको छ । तर, चीनलाई बदनाम गर्ने प्रयासमा बाइडेन प्रशासनले यसलाई ‘निगरानी’ का लागि प्रयोग भइरहेको दाबी गर्दै चिनियाँ एरोस्पेस कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनको उदयलाई रोक्ने वासिंटनको कुनै मनसाय नभएको बताए पनि चीनको आर्थिक वृद्धिलाई रोक्न अमेरिकाले चीनलाई विश्वव्यापी मूल्य शृंखलामा माथि उक्लन रोक्ने अभिप्रायले विभिन्न रणनीति अपनाउने निश्चित छ । चिनियाँ परिप्रेक्ष्यमा बाहिरी शक्तिद्वारा चीनविरुद्ध बारम्बार विकृति, बदनामी र उक्साहटको परिस्थितिमा चीनले अघि सारेको विदेश सम्बन्धसँग सम्बन्धित कानुन समयसापेक्ष र उपयोगी छ । एक चिनियाँ विशेषज्ञ भन्छन्– वैदेशिक सम्बन्धसम्बन्धी कानुनद्वारा चीनले विश्व समुदायलाई आफू कुनै पनि प्रकारका आधिपत्य र शक्तिको राजनीति, एकपक्षीयता, संरक्षणवाद र धम्कीविरुद्ध उभिने स्पष्ट पारेको छ ।