१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
बिबिसी
२o८१ बैशाख २० बिहीबार o९:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पेट्रोल, डिजेल र विद्युतकाे विकल्प बन्ला हाइड्रोजन ?

खाना पकाउन, गाडी चलाउन, हवाईजहाज उडाउन पनि हाइड्रोजन ऊर्जाको प्रयोग गर्न सकिने विशेषज्ञ एवं वैज्ञानिकहरूले बताउँदै आएका छन्

Read Time : > 2 मिनेट
बिबिसी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१o:oo

अधिक कार्बन उत्सर्जन, यसले जलवायु परिवर्तनमा पार्ने प्रभाव र प्राकृतिक ग्यासको मूल्यवृद्धिजस्ता कारणले हाइड्रोजन चर्चामा छ । खाना पकाउन, गाडी चलाउन, हवाईजहाज उडाउन पनि हाइड्रोजन ऊर्जाको प्रयोग गर्न सकिने विशेषज्ञ एवं वैज्ञानिकले बताउँदै आएका छन् । 

थाहा पाउनुपर्ने विषय के भने पेट्रोल या कोइलाबाट ग्यास बन्छ । यसले समग्र पर्यावरणलाई नै प्रदूषित बनाउँछ । तर, हाइड्रोजन जलेपछि अक्सिजन र हाइड्रोजन मिलेर पानीमा परिवर्तन हुन्छ, जसले गर्दा कार्बन उत्सर्जन हुन पाउँदैन । वैज्ञानिकले यसलाई अक्षय ऊर्जा मान्न सकिने र हाइड्रोजन जलवायु परिवर्तनको समस्या कम गर्न पनि सहयोगी हुने बताउँदै आएका छन् । 

हाइड्रोजन कसरी बन्छ इन्धन ? :  बेलायतको सेफिल्ड युनिभर्सिटीमा केमिक इन्जिनियरिङका प्रोफेसर तथा बेलायती संस्थामा हाइड्रोजनको प्रयोगबारे शोध गरिरहेकी रेचेल रथमनका अनुसार हाइड्रोजनलाई विभिन्न तरिकाले जलाई इन्धनको काम लिन सकिन्छ । तर, महत्वपूर्ण कुरा भनेको यसलाई स्वच्छ रूपमा जलाउनुपर्छ । रेचेलको भनाइमा हाइड्रोजन पृथ्वीमा प्राकृतिक रूपले मिल्दैन । तर, पानी, हाइड्रोजन कार्बनका रूपमा कोइला, ग्यास र तेलमा चाहिँ मिल्छ । हाइड्रोजन स्रोत अर्थात् प्राकृतिक ग्यासबाट हाइड्रोजन निकाल्ने प्रक्रियालाई स्मिट मिथेन रिफर्मिङ भनिन्छ । यसको प्रयोग संसारभर भएको छ, जसमार्फत प्रत्येक वर्ष १२ करोड टन हाइड्रोजन बनाइन्छ । 

‘यसबाट कार्बन ग्यास पनि उत्सर्जन हुन्छ,’ रथमन भन्छिन्, ‘यसकारण हाइड्रोजन बनाउने सबैभन्दा उत्तम उपाय भनेको त्यसलाई पानीबाट निकाल्ने । यसलाई इलेक्ट्रोलिसिस पनि भनिन्छ । यो प्रक्रियामा अक्सिजन मात्रै बाहिर निस्किन्छ ।’ हाइड्रोजन बनाउने प्रक्रियालाई नीलो, हरियो र खैरो रङको चार्टमा देखाएर कति कार्बन बाहिर निस्कन्छ भन्ने देखाउन सकिन्छ । रथमनका अनुसार हाल मिथेन स्टिम रिफर्मिङको खैरो (ब्राउन) प्रक्रियाबाट कार्बन ग्यास पनि निस्केर हावामा मिसिन्छ । तर, नीलो (ब्लु) प्रक्रियामा यसबाट निस्कने कार्बन ग्यास एकत्रित गरी त्यसलाई अन्यन्त्र प्रयोग गर्न सकिन्छ । अनि सबभन्दा राम्रो भनेको हरियो (ग्रिन) प्रक्रिया हो, अर्थात् पानीबाट हाइड्रोजन बनाउने प्रक्रिया । 

हवाईजहाज, ट्रेन र गाडी  :  विश्वभर नै यायायातका साधनमा ठूलो मात्रामा ऊर्जा खर्च हुन्छ । यसरी हेर्दा यो कार्बन उत्सर्जनको ठूलो स्रोत पनि हो । अहिले सडकमा विद्युतीय सवारीसाधन चल्न थालेका छन् । यी सवारीसाधन लिथियम ब्याट्रीका आधारमा चल्छन् । तर, ठूलो ट्रक्र, ट्रेन र डुंगा चलाउन लिथियम ब्याट्रीले पुग्दैन । यस्तो अवस्थामा हाइड्रोजनको प्रयोग सही साबित हुन सक्छ । विश्वभरका संस्थालाई स्वच्छ ऊर्जा प्रयोगबारे सुझाव सल्लाह दिने संस्था क्लिन एयर टास्कका प्रबन्धक थोमस वाकर मालवाहक जहाज र ट्रक हाइड्रोजनबाट चलाउन सकिने बताउँछन् ।

विश्वमा सवारीसाधनबाट हुने कार्बन उत्सर्जनको दुईदेखि तीन प्रतिशत मालवाहक जहाजबाट हुन्छ । यसमा नाइट्रोजन र हाइड्रोजनलाई इन्धनसरह प्रयोग गर्दा कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ ।

उनका अनुसार विश्वमा सवारीसाधनबाट हुने कार्बन उत्सर्जनको दुईदेखि तीन प्रतिशत मालवाहक जहाजबाट हुन्छ । यसमा नाइट्रोजन र हाइड्रोजनलाई इन्धनसरह प्रयोग गर्दा कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ । यस्तै, सामान ओसारपसार गर्न प्रयोग हुने मालवाहक ट्रकमा ब्याट्रीको सट्टा कम्बस्टन इन्जिनमा हाइड्रोजन भरेर चलाउँदा ट्रकले लामो दूरीको यात्रा गर्न सक्छ । तर, ब्याट्री प्रयोग गर्दा समस्या देखिन सक्छ । यस्ता खालका ब्याट्री निकै ठूला हुने र एक हजार किलोवाटको ब्याट्री चार्ज गर्न पाँच घन्टा समय लाग्न सक्छ । तर, सोही ट्रकमा हाइड्रोजन भर्न मात्रै २० मिनेटको समय लाग्छ । 

त्यसो त हाइड्रोजन पनि समस्यामुक्त छैन । यो भर्न गतिलो उपकरण चाहिन्छ । कारण, दबाबले गर्दा यो अत्यधिक तात्ने हुन्छ । यदि उपकरण र प्रविधिको समस्या समाधान भइहाले पनि हरेक ठाउँमा पर्याप्त मात्रामा हाइड्रोजन पम्प उपलब्ध हुने/नहुने सुनिश्चितता गर्नुपर्छ । वाकरका अनुसार यसका लागि पूर्वाधार बनाउनुपर्छ र यसमा सरकारले पनि सहयोग गर्नुपर्छ । 

अब विषय हवाईजहाजको । के हवाईजहाजमा पनि हाइड्रोजन प्रयोग हुन सक्छ ? हो, हुन सक्छ । यसको प्रयोगले हवाई यातायातमा परिवर्तन ल्याउन सक्छ । यातायातबाट हुने कार्बन उत्सर्जनमध्ये विमानबाट मात्रै १० प्रतिशत उत्सर्जन हुन्छ । तर, वाकरको भनाइ मान्ने हो भने यसको प्रयोगमा कम्तीमा १० देखि २० वर्षको समय लाग्न सक्छ ।

घर तथा उद्योगमा प्रयोग :  हाइड्रोजनको प्रयोग भान्सामा खाना पकाउन र घरलाई न्यायो राख्न पनि गर्न सकिन्छ । बेलायतमा खाना पकाउन तथा घर न्यायो पार्न ८० प्रतिशतभन्दा बढी प्राकृतिक ग्यास प्रयोग हुने ऊर्जाविज्ञ सारा वाकरको भनाइ छ । यो अवस्थामा कार्बन उत्सर्जन कम गर्ने लक्ष्य प्राप्त गर्न हाइड्रोजन यसको उत्तम विकल्प बन्न सक्छ । बेलायत सरकार सन् २०२६ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्न चाहन्छ । यसका लागि सरकारले हाइड्रोजन उत्पादन र आपूर्ति शृंखलाको ढाँचा बनाउन कस्तो लगानी गर्ने भन्ने तय गर्नुपर्छ । यसलाई इन्धनका रूपमा अपनाउँदा सुरुवाती चरणमा यसको प्रयोग घर न्यायो पार्नभन्दा पनि ठूला उद्योगमा गर्दा ठीक हुने सारा वाकरको भनाइ छ । 

ad
ad