१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवराज ढुंगाना
नयाँ पत्रिका काठमाडाैं
२०८० असार १३ बुधबार ०९:०२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजस्व अनुसन्धान विभागमा एक वर्षमै फेरिए चार महानिर्देशक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार १३ बुधबार ०९:०२:००

प्रशासनिक अस्थिरताले कामकारबाहीसमेत प्रभावित 

राजस्व अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई कार्यालय तानेर त्यहाँ सहसचिव नवराज ढुंगानालाई पठाएको हो । 

गत २३ माघमा विभागको महानिर्देशक बनेर गएका सापकोटा पाँच महिना पनि नपुग्दै सरुवा भएका छन् । पछिल्लो समय यस विभागमा तीव्र प्रशासनिक अस्थिरता देखिएको छ । सापकोटकाअघि विभागको महानिर्देशक रहेका मदन दाहालको तीन महिनामै सरुवा भएको थियो । १६ कात्तिकमा विभाग आएका दाहालको २२ माघमा सरुवा भएको थियो । दाहालभन्दा केही बढी समय बसे पनि सापकोटा पनि अस्थिरताको सिकार बने । 

मदन दाहालअघि विभागको महानिर्देशक रहेका झलकराम अधिकारी पनि साढे चार महिनामै सरुवा भएका थिए । १ असार ०७९ मा विभाग आएका अधिकारीको १६ कात्तिकमा सरुवा भएको थियो । अधिकारीअघिका विभागका महानिर्देशक प्रकाश पौडेल भने साढे आठ महिना टिकेका थिए । उनी १८ असोज ०७८ देखि ३१ जेठ ०७९ सम्म विभागको महानिर्देशक थिए । 

चुहावट छानबिन अनुसन्धान गरी अभियोजनको महŒवपूर्ण जिम्मेवारी बोकेको विभागको नेतृत्व छिटोछिटो सरुवा हुँदा त्यसले प्रशासनिक अस्थिरता सिर्जना गरेको छ । त्यसको असर राजस्व विभागको कामकारबाहीमा समेत परेको विभागका अधिकारीहरू बताउँछन् । पछिल्लो महानिर्देशक सापकोटाले त आफैँले सुरु गरेर एउटै मुद्दा पनि टुंग्याएर दायर गर्न पाएनन् । पाँच महिनाको अवधिमा दुई मुद्दा उच्च अदालतमा दायर गरे पनि ती दुवै उनी आउनुअघि नै छानबिन सुरु गरिएका मुद्दा थिए । त्यसअघि अर्थ मन्त्रालयमातहत रहेको विभागका कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएका थिए । प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइए पनि पछिल्लो समय विभागमा प्रशासनिक अस्थिरता बढेको छ । 

प्रधानमन्त्री प्रचण्डको निजी सचिव रहेका ढुंगानालाई विभाग पठाएपछि नयाँ निजी सचिवमा सहसचिव अर्जुन भण्डारी आएका छन् । २० पुसमा प्रधानमन्त्रीको निजी सचिव बनेका ढुंगाना ६ महिना नपुग्दै बाहिरिएका हुन् । नयाँ निजी सचिव बनेर आएका भण्डारी प्रधानमन्त्री कार्यालयमै कार्यरत थिए । कार्यालयले मंगलबार भण्डारीलाई प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी तोकेको हो ।