१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मीनराज बसन्त काठमाडाैं
Invalid date format o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डलर अर्बपति ज्याक मा काठमाडौंमा

Read Time : > 2 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o५:oo

बत्तीसपुतलीस्थित होटेल द्ववारिकाजमा बसेका ३३ अर्ब ६० करोड डलरका मालिक ज्याक माको भ्रमण कार्यक्रमबारे केही सार्वजनिक गरिएको छैन

चिनियाँ धनाढ्य एवं अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । सात सदस्यीय टोलीसहित उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालका अनुसार ज्याक मा बंगलादेशबाट चार्टर फ्लाइटमा आएका हुन् । उनले १५ दिनको अनअराइभल पर्यटन भिसा लिएका छन् । 

बत्तीसपुतलीस्थित द्ववारिकाज होटेलमा बसेका ज्याक माको भ्रमण कार्यक्रमबारे केही सार्वजनिक गरिएको छैन । उनी नेपालमा कति दिन बस्छन्, कहाँ–कहाँ जान्छन् र कस–कसलाई भेट्छन् भन्ने खुलाइएको छैन । यद्यपि, नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले ज्याक मासँग प्रधानमन्त्रीको भेट तय भइनसकेको बताए । ‘कुराकानी भइरहेको छ, तर भेट्ने तयचाहिँ भइसकेको छैन,’ उनले भने, ‘वैधानिक ढंगबाट नेपालमा लगानी गर्न चाहनेलाई नेपाल सरकारले स्वागत गर्छ, प्रधानमन्त्री यस मामिलामा सकारात्मक हुनुहुन्छ, समय मिलेसम्म उहाँसँग भेट हुन सक्छ ।’ निजी क्षेत्रसँग पनि ज्याक माको कुनै बैठक वा भेटघाट तय भएको छैन । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले ज्याक मासँग महासंघको कुनै भेट तथा छलफल कार्यक्रम तय नभएको बताए । 

को हुन् ज्याक मा ?

१० सेप्टेम्बर १९६४ मा चीनको हाङ्जाउमा जन्मिएका ज्याक मा बाल्यकालदेखि नै अंग्रेजी भाषाप्रति लगाव राख्थे । त्यसकै कारण उनी नौ वर्षको हुँदा टुरिस्ट गाइड गर्न २७ किलोमिटर साइकल चलाएर जान्थे । यसरी उनले अंग्रेजी भाषा सुधार गरेका थिए । 

ग्य्राजुएसनपछि ज्याक माले अंग्रेजी शिक्षकका रूपमा करिअर सुरु गरे । जागिरका लागि ३० पटकभन्दा बढी आवेदन दिँदा पनि उनले असफलता मात्रै पाए । केही सीप नलागेपछि प्रहरीमा भर्ती हुने उनको कोसिस पनि व्यर्थ भयो । कतिसम्म भने एकपटक चीनमा खुलेको केएफसीको ब्रान्चमा जागिरका लागि ज्याक माले अन्तर्वार्ता दिए । तर, २४ जनामध्येबाट २३ जना छनोट भए, उनी मात्रै फालिएका थिए । 

सन् १९९५ मा ज्याक मा आफ्ना केही साथीसहित अमेरिका पलायन भए । त्यहाँ पुगेपछि उनले इन्टरनेटमा चीनबारे सामग्री खोजे । आफूले खोजेको चिज नभेटेपछि पुनः चीन फर्केर इन्टरनेट कम्पनी सुरु गरे । यसमा लगानीकर्ता तुरुन्तै लगानी गर्न राजी भए । ज्याक मा आफैँलाई कम्प्युटरबारे खासै जानकारी थिएन । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ उनले अनलाइन बिजनेस थाले । सन् १९९९ मा उनले साथीहरूसँग मिलेर ई–कमर्स कम्पनी अलिबाबाको स्थापना गरे । त्यसको सुरुवाती चरणमा चिनियाँ नागरिकले उनलाई ठग भन्ठाने । तर, बिस्तारै इन्टरनेटको विस्तारबाट अलिबाबाको कारोबार बढ्न थाल्यो ।

सन् २०१४ मा अलिबाबाले अमेरिकामा २५ अर्ब डलरको आइपिओ ल्यायो । र, विश्वको मूल्यवान् कम्पनीको सूचीमा सूचीकृत भयो । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपिओ थियो । विश्वकै सर्वाधिक ठूलो ई–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले आफ्नो ५५औँ जन्मदिनका अवसर (१० सेप्टेम्बर २०१९) मा कम्पनीको अध्यक्षको पदबाट राजीनामा दिएका थिए । त्यतिवेला अमेरिका–चीन करयुद्धले व्यवसायमा पारेको प्रभावका कारण नै उनले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको थियो । 

सन् २०२० मा चीन सरकारको आलोचना गरेपछि ज्याक मा सार्वजनिक जीवनबाट हराएका थिए । उनले चीनको वित्तीय नियम र सरकारी बैंकको विषयमा भाषण दिने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेका थिए । यो भाषणपछि चिनियाँ कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । उनको भाषणलाई पार्टीमाथिको हमलासमेत भनिएको थियो । त्यसपछि उनको व्यापारमा अवरोधसमेत हुन थालेको थियो । पछि उनी जापानमा देखिएका थिए । 

काठमाडौं उत्रिएका दिन ज्याक माको कुल नेटवर्थ ३३ अर्ब ६० करोड डलर छ । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी विश्वका शीर्षस्थ धनाढ्यको सूचीमा ३९औँ स्थानमा छन् ।