१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १८ मंगलबार १६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधविरुद्ध निर्मम बन्दै प्रहरी, खैरो हेरोइन तस्करीमा प्रहरी जवान नै पक्राउ

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:२४:oo

सुदूरपश्चिम प्रदेशको तराईका जिल्ला लागुऔषधको अखडा बनिरहेका वेला नेपाल प्रहरी यसविरुद्ध निर्मम बन्दै गएको छ। कैलाली–कञ्चनपुर प्रहरीले दैनिक लागुऔषधविरुद्ध कारबाही अघि बढाउन थालेको छ। लागुऔषध नियन्त्रणमा दुवै जिल्लाका प्रहरी सक्रिय भएका छन्।

प्रदेशका नाै जिल्लामध्ये सीमावर्ती भारतसँग जोडिएका कैलाली र कञ्चनपुरमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनजस्ता गैरकानुनी गतिविधि तीव्र भइरहेका छन्। यी जिल्लाका प्रहरीले लागुऔषध नियन्त्रणमा युद्धस्तरमै काम गरेको तथ्यांक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुवै जिल्लाका प्रहरीले दैनिकजसो दुईदेखि चार लागुऔषध तस्करी पक्राउ गर्दै आएका छन्। कञ्चनपुर प्रहरीले लागुऔषध तस्करीमा संलग्न एक बहालवाला प्रहरीलाई नै पक्राउ गरेको छ।

गत शनिबार बेलौरी नगरपालिका– १० भुडा सीमावर्ती गाउँबाट पक्राउ परेकामध्ये  एक प्रहरी जवान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पुष्टि गरे। प्रवक्ता डाँगीका अनुसार इलाका प्रहरी कार्यालय बेलडाँडी र भुडा प्रहरी चौकीबाट खटिएको प्रहरी संयुक्त टोलीले सुपप्र ०४००१ प ०१०६ नम्बरको मोटरसाइकलमा सवार दुई युवकलाई चेकजाँज गर्ने क्रममा १९.९ सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङ तल्कोट गाउँपालिका– १ का झलकबहादुर द्वाल र बझाङ मष्ठा गाउँपालिका– २ का राजकुमार रोकाया रहेका छन्। यीमध्ये द्वाल डोटी जिल्लामा कार्यरत नेपाल प्रहरीका जवान भएको खुलेको छ।

यता, कैलाली प्रहरीले लागुऔषधको मुद्दामा थुनामा रहेका छोरालाई लागुऔषध लिएर भेट्न गएकी ५० वर्षीया महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी खगेन्द्र साउदले आइतबार लागुऔषध लिएर कारागार आएकी धनगढी नगरपालिका– ३ मिलनचोककी कमलादेवी अवस्थीलाई पक्राउ गरेको बताए।

सूचना अधिकारी साउदका अनुसार कमलादेवीले लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्नो छोरा ओमप्रकाश अवस्थीलाई भेट्न जाँदा बिस्कुटभित्र लुकाएर ५.४० मिलिग्राम खैरो हेरोइन ल्याएकी थिइन्। ओमप्रकाशकी श्रीमतीसमेत लागुऔषध मुद्दामा प्रहरी हिरासतमै छिन्।

साउदका अनुसार प्रहरीकै कर्मचारीदेखि विभिन्न धनाढ्य व्यक्तिहरू लागुऔषध कारोबार तथा सेवनका मुद्दामा पक्राउ गरेर कारबाही चलाइएको छ।

ad
ad