१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महाकाली नदीको ढुंगा–गिटी ठेक्का लगाउँदा भीमदत्त नगरमा सवा तीन करोड भ्रष्टाचार

तत्कालीन मेयर सुरेन्द्र विष्ट र ठेकेदारसहित १२ विरुद्ध मुद्दा दायर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

कानुनविपरीत मिलेमतोमा महाकाली नदीको ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित १२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

महाकाली नदीमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा, ग्राभेल र माटोको रोयल्टी शुल्क उठाउन नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ठेक्का लगाएको थियो । भ्याटबाहेक न्यूनतम कबोल अंक तोकी बोलपत्र आह्वान भएकामा प्रक्रियाबमोजिम नै भवानी कन्स्ट्रक्सन प्रालिले बोलपत्र पेस गरेको थियो ।

प्रालिले कबोल गरेकै अंकमा नगर कार्यपालिकाले बोलपत्र स्वीकृत गरेको थियो । तर, कार्यदल नै गठन गरेर राजस्व छुट गरिएको थियो । प्रालिले कबोल गरेको अंक मिलेमतोमा कम देखाइ, झुटा व्यहोरा उल्लेख गरी, राजस्व रकम घटाएर ठेक्का घटाएर सम्झौता प्रक्रिया अघि बढाउन नगरपालिकालाई निर्देशन दिने प्रक्रियामा कार्यपालिका सक्रिय भयो । ‘उठाउनुपर्ने नियमानुसारको राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृतिविना कार्यदलको सिफारिसका आधारमा राजस्व रकम घटाई कम अंकमा सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा भ्याट चुहावटसमेत गरी तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको राजस्व चुहावट गरेको पुष्टि भयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

राजस्व हिनामिनामा संलग्न भएका नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध हिनामिना भएको राजस्व अंकलाई नै बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ । बिगोको दोब्बर जरिवानाको माग दाबी पनि अख्तियारले गरेको छ । पूर्वमेयर विष्ट एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष हुन् ।

भ्याटबराबरको दुई करोड ११ लाख ६५ हजार ६०८ कम राजस्व निर्धारण गरी प्रालिसँग ठेक्का सम्झौता गरेको अभियोगमा अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध दुई करोड ११ लाख ६५ हजार ६०८ नै बिगो कायम गरेको छ ।

छुट दिन नमिल्ने र कानुनविपरीत सिफारिस गरेको आरोपमा अख्तियारले राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तत्कालीन वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द र सदस्यहरू प्रमुख प्रशासकीय अधिकृत हरिसिंह धामी र शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालयसिंह ऐर र सम्झौताका साक्षी गोविन्दराज उपाध्यायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध तीन छुट्टाछुट्टै शीर्षकमा कुल पाँच करोड आठ लाख ८७ हजार बिगो कायम गरिएको छ । 

ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालकहरू केशवराज भट्ट, कम्पनीका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्ट र खगेश्वरी भट्टलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूलाई संयुक्त रूपमा तीन करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बिगो कायम गरिएको छ । ईश्वरी भट्टको निधन भएकाले बिगो जफतको प्रयोजनका लागि पत्नी खगेश्वरी भट्टलाई अख्तियारले प्रतिवादी बनाएको छ । 

त्यस्तै, कृषि अनुदानमा चार लाख ३८ हजार ५५७ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार नै कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभूषण झा, तत्कालीन सबइन्जिनियर भीमबहादुर रोकाय, अदानचुली गाउँपालिका– २ का तत्कालीन वडाध्यक्ष दलबहादुर बुढा र फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा कार्कीविरुद्ध मुद्दा दायर गरेको छ ।