१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शान्ति तामाङ काठमाडाैं
गणेश लम्साल विराटनगर
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ३ बिहीबार o६:३५:oo
Read Time : > 11 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय सरकारले पनि ल्याए बजेट : महानगरहरूमा नयाँ कार्यक्रम थोरै, पुरानालाई निरन्तरता

Read Time : > 11 मिनेट
शान्ति तामाङ, काठमाडाैं
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:३५:oo

हरेक वर्ष १० असारभित्र सबै स्थानीय सरकारले आगामी वर्षको बजेट जारी गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सबैजसोले आइतबार बजेट ल्याएका छन् । केही तहले यसअघि नै बजेट ल्याएकामा अन्यले आइतबार जारी गरेका हुन् । 

विगतका वर्ष छुट्याएको बजेट सदुपयोग गर्न नसकेका स्थानीय तहले आगामी बजेट अंक झन् बढाएका छन् । तर, उनीहरूले आन्तरिक आयको स्रोत भने न्यून देखाएका छन् । त्यसैले यो अवस्थामा आएको आगामी वर्षको बजेट पनि पूर्ण कार्यान्वयन हुनेमा शंका छ । 

सबैभन्दा धेरै बजेट ल्याउने स्थानीय सरकार काठमाडौं महानगरपालिका हो । काठमाडौं महानगरपालिकाको मात्रै बजेट अन्य ६ महानगरपालिकाको कुल बजेटबराबर छ । अधिकांश पालिकाले पुराना कार्यक्रमहरूलाई निरन्तरता दिने उद्देश्यसहित बजेट ल्याएका छन् । 

काठमाडौं महानगर :  काठमाडौं महानगर आर्थिक वर्ष ०८/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनीता डंगोलले पूर्वाधार शीर्षकमा मात्रै सात अर्ब ३४ करोड ६४ लाख विनियोजन गरिन् । धुलोरहित काठमाडौं शीर्षकमा सबैभन्दा धेरै एक अर्ब र उज्यालो सहर, मेरो महानगर योजनाअन्तर्गत सडकबत्ती जडान गर्न (धेरै प्रकाश दिने बत्तीसहित) ३० करोड छुट्याएको छ । पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई प्रभावकारी बनाउन २५ करोड विनियोजन गरेको छ । महानगरले आर्थिक वर्ष ०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको हो । 

संस्कृति, सम्पदा तथा पर्यटनतर्फ दुई अर्ब १३ करोड
महानगरले संस्कृति, सम्पदा तथा पर्यटन क्षेत्रतर्फ दुई अर्ब १३ करोड ७६ लाख विनियोजन गरेको छ । संस्कृति, सम्पदा तथा पर्यटन, महानगरको धन शीर्षकमा ५० करोड विनियोजन गरेको हो । हिति र पोखरीहरूको मर्मत–सम्भार र संरक्षणतर्फ २६ करोड, जात्रा–पर्व सञ्चालन गर्न दुई करोड ५० लाख, पर्यटकीय क्षेत्र ठमेल क्षेत्रको विकासमा दुई करोड ५० लाख छुट्याएको छ । यस्तै, फोहोरमैला व्यवस्थापनलगायत विषय सम्बोधन गर्न ८७ करोड ९३ लाख, सरसफाइमा प्रयोग हुने सवारीसाधन एवं यन्त्र–उपकरण खरिदका लागि २७ करोड विनियोजन गरेको छ । महानगरभित्रका नदीहरूको नियमित सरसफाइ गरी नदी–किनार क्षेत्र संरक्षण कार्यक्रमलाई सात करोड विनियोजन गरेको छ । 

बालबालिका नगर अस्पतालदेखि सुलभ फार्मेसीका लागि बजेट
महानगरले बालबालिका नगर अस्पतालदेखि सुलभ फार्मेसीसम्म चलाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड बजेट छुट्याएको छ । सहुलियत मूल्यमा औषधि उपलब्ध गराउनका लागि सुलभ फार्मेसीको स्वर्णिम योजना कार्यान्वयनका लागि ६ करोड छुट्याएको छ । फार्मेसीमा ९८ प्रकारका निःशुल्क औषधि पाइनेछ । महानगरले फार्मेसी सञ्चालन गरेपछि निजी फार्मेसीहरूलाई पनि नियमन गर्ने र मूल्यमा एकद्वार प्रणाली लागू गर्नेछ । सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनामार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड विनियोजन गरेको छ । यस्तै, महानगरले टेलिभिजन स्थापना गर्न पाँच करोडसमेत छुट्याएको छ । 

पाँच सय नगर प्रहरी, तीन सय कुचीकार र दुई सय ६९ स्वास्थ्यकर्मी पुर्‍याउने 
काठमाडौं महानगरले नगर प्रहरीको संख्या पाँच सय पुर्‍याइने भएको छ । महानगरमा हाल स्थायी र करार गरी तीन सय ३३ नगर प्रहरी छन् । यसमध्ये पनि सक्रिय रूपमा खट्न सक्ने निकै कम भएकाले दरबन्दी थप्न लागेको बजेटमार्फत सार्वजनिक गरिएको छ । नगर प्रहरीसँगै तीन सय कुचीकार, दुई सय ६९ स्वास्थ्यकर्मीलगायतको दरबन्दी पनि बढाउने उपमेयर डंगोलले बताइन् । 

 ललितपुर महानगर :  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि साढे ६ अर्बको बजेट सार्वजनिक गरेको छ । महानगरको तेस्रो नगरसभामा उपमेयर मञ्जली शाक्यले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । चालूतर्फ चार अर्ब २१ लाख ४६ हजार र पुँजीगततर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विद्युतीय सवारीसाधन  किन्नेलाई घर बहाल कर छुट
ललितपुर महानगरले विद्युतीय सवारीसाधन किन्नेलाई घरबहाल कर छुट दिने भएको छ । विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो । यस्तै, सडक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र विपद्जन्य घटना रोकथामलाई बजेटले जोड दिएको छ । 

 विराटनगर महानगर :  विराटनगर महानगरपालिकाले पुराना कार्यक्रमलाई नै निरन्तरता दिँदै चालू आर्थिक वर्षको भन्दा ठूलै अंकले घटाएर आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि तीन अर्ब २८ करोड ५० लाखबराबरको बजेट प्रस्तुत गरेको छ । ०७९/८० मा तीन अर्ब ७३ करोडको बजेट ल्याएको विराटनगरले पछि संशोधन गरेर चार अर्ब १७ करोड नौ लाख १८ हजार पुर्‍याएको थियो । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६८ करोड, पूर्वाधार विकासतर्फ एक अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकासतर्फ तीन करोड ९६ लाख ८१ हजार, सामाजिक विकासतर्फ ८५ करोड २० लाख ४४ हजार, सुशासनतर्फ तीन करोड पाँच लाख र विपत् व्यवस्थापनतर्फ दुई करोड ७२ लाख खर्च हुने अनुमान प्रस्तुत गरेको छ ।

सामाजिक विकासअन्तर्गत शिक्षातर्फ ६७ करोड ९४ लाख र स्वास्थ्यतर्फ १३ करोड ६७ लाख खर्च हुने अनुमान छ ।दोस्रो छोरी जन्माउने आमालाई प्रोत्साहनदेखि अपांगता भएका र ८० वर्ष कटेका नागरिकको उपचारमा निःशुल्क एम्बुलेन्स सेवाजस्ता लोकप्रिय कार्यक्रमविराटनगर महानगरले ‘छोेरी बचाऊ छोरी बढाऊ’ कार्यक्रमलाई प्राथमिकता दिँदै दोस्रो छोरी जन्माउने आमालाई प्रोत्साहन र उपमेयर किशोरी आत्मरक्षा कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । त्यस्तै, महानगरभित्र स्तनपान केन्द्र स्थापना गराउने, गर्भवती महिला, अपांगता भएका व्यक्ति र ८० वर्षमाथिका ज्येष्ठ नागरिकको उपचारमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । 

त्यस्तै, महानगरभित्र प्रवेश गर्ने सवारीसाधनको चक्का सफा गराउनुपर्ने, नगरभित्र प्लास्टिकको झोला प्रयोग निषेध गर्ने, अर्काको खाली जग्गामा फोहोर फाले जरिवाना तिर्नुपर्ने, सडक मानवको उद्धार गर्ने, घुम्ती शौचालय सञ्चालनमा ल्याउने, नगररक्षकहरूको क्षमता अभिवृद्धि गर्ने, सुर्ती र सुर्तीजन्य पदार्थ बेचबिखनमा थप कडाइ गर्नेजस्ता कार्यक्रम पनि समेटेको छ । 

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सिकाइ प्रणाली विकास गर्न ‘मेयर डिजिटल स्कुल’ कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरिएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ । विद्यालय भर्नादर ९९.६ प्रतिशत रहेको उल्लेख गर्दै आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा भर्ना हुने व्यवस्था मिलाएर सर्वसुलभ र गुणस्तरीय शिक्षा दिने वातावरण बनाउने महानगरले जनाएको छ । एक वडा एक नेतृत्व स्कुलको अवधारणा तथा १ देखि ८ कक्षासम्म आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्न पनि बजेट छुट्याएको छ ।

 भरतपुर महानगर  : भरतपुर महानगरले चालू आर्थिक वर्षको भन्दा १० करोड ७० लाख बढाएर आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट ल्याएको छ । कुल बजेटमा एक अर्ब ७५ करोड आन्तरिक आय हुने अनुमान छ । तर, भरतपुर महानगरमा आन्तरिक आयको अवस्था उत्साहजनक छैन । चालू आर्थिक वर्षमा एक अर्ब २५ करोड आन्तरिक आय गर्ने योजना रहेकामा मसान्त सकिनै लाग्दा ९६ करोड ५८ लाख मात्रै आन्तरिक आय भएको छ । जब कि आगामी वर्ष चालूको भन्दा ५० करोड बढी उठाउने लक्ष्य छ । 

सहरी पूर्वाधार, भूउपयोग, बस्ती विकास, अधुरा योजनाको निरन्तरता, कृषि, शिक्षा, सडक मर्मत, स्वास्थ्य, सरसफाइ, हरियाली निर्माण, सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोगलगायत १५ विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको मेयर रेनु दाहालले बताइन् । 

महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा दुई लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य नीति तथा कार्यक्रममै राखेको छ । यो भ्रमण वर्षलाई महानगरले निजी, सामाजिक, सामुदायिक, गैरसरकारी क्षेत्रलगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रूपमा मनाउने जनाएको छ । वर्षभरि पर्यटन प्रवद्र्धन अभियानका रूपमा अगाडि बढाई पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, जल पर्यटन, माइस पर्यटन, कृषि पर्यटन, विकास पर्यटन, स्वास्थ्य पर्यटन, सहकारी पर्यटन, खेल पर्यटन र शैक्षिक पर्यटनका मध्यमबाट ती पर्यटक भित्र्याउने महानगरको नीति छ । 

त्यस्तै, हरियाली प्रवद्र्धनका लागि ‘एक घर, दुई रूख’को नीति कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रूपमा रूख रोपेर संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने व्यवस्था राखेको छ । त्यस्तै, एक वडा एक पार्क निर्माण, हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर अवधारणाअनुसार सडक, सडक आइल्यान्ड, पार्क, मनोरञ्जन स्थल र खाली स्थान एवं चोकहरूमा हरियाली वातावरण सिर्जना गरी मनमोहक र वातावरणमैत्री महानगर बनाउन एक परियोजनाको रूपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी हुने भनिएको छ ।शिक्षालाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक विषयलाई प्रोत्साहन गर्ने, एक वडा एक नमुना विद्यालय, मेयर डिजिटल शिक्षा, मौलिक र व्यावहारिक शुक्रबार कार्यक्रम बजेटको प्राथमिकतामा राखिएका छन् । 

भरतपुरले दूध उत्पादक किसानलाई प्रतिलिटर तीन रुपैयाँका दरले दिने अनुदानलाई पनि निरन्तरता दिएको छ । लैंगिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणतर्फ ‘छोरीसँग मेयर’ कार्यक्रम, छोरीहरूका लागि छोरी बिमा कार्यक्रम, गणतन्त्र प्राप्तिका लागि भएका जनआन्दोलनमा तथा सबै प्रकारका आन्दोलनमा सहिद भएका तथा बेपत्ता पारिएका परिवारका लागि प्रदान गरिँदै आएको मासिक भत्तालाई निरन्तरता दिनेसमेत प्रतिवेदनमा छ । 

पोखरा महानगर : भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरले आगामी आर्थिक वर्ष ०८/८१ का लागि एक अर्ब ८३ करोड ८७ लाखले घटाएर बजेट ल्याएको छ । महानगरको १३औँ नगर सभामा आइतबार उपमेयर मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत गरिन् । पोखराको बजेट चालू आवमा आठ अर्ब ९९ करोड दुई लाखको हो । 

आगामी आवमा विनियोजनमध्ये पूर्वाधारमा दुई अर्ब र पर्यटन, सहरी विकास तथा वातावरणमा ७० करोड, आर्थिक विकासतर्फ १० करोड, नगर कार्यपालिका कार्यालयतर्फ ८१ करोड २२ लाख, सामाजिक विकासतर्फ ६ करोड ५० लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख रहेको छ । 

त्यस्तै, विभिन्न कोषमा १४ करोड, संघीय ससर्त अनुदानमा दुई अर्ब २३ करोड ६२ लाख र प्रदेश ससर्त अनुदान ८० लाख र सहरी विकास आयोजनामा आठ करोड ४० लाख ९१ हजार विनियोजन गरिएको छ ।

उत्पादनका आधारमा ७० प्रतिशतसम्म अनुदान
पोखराले कृषिमा उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । अनुदान भने कृषि क्षेत्रमा वर्गीकृत भूमिमा खेती गरेमा मात्र पाइनेछ ।त्यस्तै, सिँचाइ कुलो निर्माण तथा मर्मतका लागि साना सिँचाइ कार्यक्रममार्फत ५० लाख, कृषि यन्त्र उपकरण मर्मत अभियान सञ्चालनमा ३५ लाख, सुन्तला बगैँचा, मल, बिउ, बिरुवा र कृषि सामग्री, आलु उत्पादन, हिउँदे बाली अभियान, चैतेधान प्राविधिक सहयोग, माछापोखरी क्षेत्र विस्तार कार्यक्रमका लागि एक करोड २४ लाख विनियोजन गरिएको छ । स्थानीय कृषि उत्पादनको अनुदानमा ६० लाख, कृषि एम्बुलेन्स सेवाका लागि १५ लाख, किसान हाटबजार निर्माण, मेला, महोत्सव सहयोग प्रवद्र्धनात्मक कार्यक्रमका लागि एक करोड ६ लाख बजेट छ । 

निःशुल्क सेनेटरी प्याडका लागि एक करोड ५३ लाख
महानगरले सामुदायिक विद्यालयमा छात्राका लागि निःशुल्क सेनेटरी प्याड प्रदान गर्न एक करोड ५३ लाख विनियोजन गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको दिवा खाजाका लागि चार करोड ६५ लाख बजेट छ ।गण्डकी बहुप्राविधिक शिक्षालयका लागि तीन करोड ३३ लाख छुट्याइएको छ भने बालविकास केन्द्रमा तलब–भत्ता अनुदान, महिला शिक्षकको प्रसूति बिदामा सट्टा शिक्षक व्यवस्थापन, खेलकुद पूर्वाधारलगायत कार्यक्रम अघि सारेको छ ।

मिर्गौला रोगको डायलाइसिसका लागि एक करोड
महानगरले मिर्गौला रोगको डायलाइसिसका लागि एक करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न ३५ करोड ५६ लाख, निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि १६ करोड ५० लाख छुट्याएको छ । त्यस्तै, प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन र आमा तथा शिशुका लागि पोषण व्यवस्थाको कार्यक्रम पनि अघि सारिएको छ । 

पालिकामा पनि लोकरिझ्याइका कार्यक्रम :
धरान र दमकले मेयर र उपमेयर कोषका लागि बजेट छुट्याए, राक्सिराङमा बसाइँ आउनेलाई घर उपहार 
मेयर र उपमेयरले आफूखुसी खर्च गर्न पाउने गरी दमकले छुट्यायो ८० लाख 
झापाको दमक नगरपालिकाले मेयर र उपमेयरलाई आफूखुसी खर्च गर्ने अधिकारसहित ८० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसका लागि मेयर–उपमेयर कोषमा ४०–४० लाख बजेट राखिएको छ ।दमकको १३औँ नगरसभामा पेस भएको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा कुनै निर्णयविनै बजेट खर्च गर्न पाउने गरी कोष छुट्याउने प्रस्ताव गरिएको छ ।

उक्त कोष खर्च गर्दा नगरप्रमुख र उपप्रमुखले कार्यपालिकाबाट कुनै निर्णय गर्नुपर्ने छैन । जुन आर्थिक सुशासनविपरीत हुन जान्छ । ‘नगरप्रमुख र उपप्रमुखको कार्यक्रम शीर्षकबाहेक एकमुष्ट विनियोजन भएको रकम नगर कार्यपालिकाको निर्णयबाट मात्र खर्च गरिनेछ,’ प्रस्तावित नीति तथा कार्यक्रममा भनिएको छ । अर्थात् यो शीर्षकको पैसा नगर प्रमुख र उपप्रमुखले आफूखुसी खर्च गर्न पाउनेछन् । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार विपत् कोषमा रहेको बजेट खर्च गर्न कार्यपालिकाबाट निर्णय गर्नुपर्छ । तर, नगरप्रमुख–उपप्रमुख कार्यक्रम शीर्षकको बजेट भने कहीँ कतैबाट निर्णय गर्नुपर्दैन ।

गत वर्ष पनि यो कोषमा ५०–५० लाख बजेट विनियोजन गरिएको थियो । त्यसवेला अबन्डामा रहेका सबै बजेट खर्च गर्दा कार्यपालिकाबाट अनिवार्य निर्णय गर्नुपर्ने गरी नगरसभाले पास गरेको थियो । यसरी आफूखुसी ‘अबन्डा’ खडा गरेर बजेट राख्नु सुशासनविपरीत हुने पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधान बताउँछन् । प्रमुख–उपप्रमुख शीर्षकमा बजेट राख्दा दुरुपयोग हुने खतरा रहेको उनले बताए । ‘यसरी खर्च गर्न पाइँदैन । सरकारी कोष भनेपछि एकाउन्टिङ, अडिटिङ गर्नुपर्छ । कोष राख्नु भनेको सरासर सरकारी कोषको दुरुपयोगतिर लाग्नु हो । आर्थिक ऐनबमोजिम त्यसरी जथाभावी कोष राख्न पाइँदैन । यस्तो प्रस्तावलाई नगरसभाले पास गर्नुहुँदैन,’ प्रधानले नयाँ पत्रिकासँग भने, ‘यसरी पैसा राख्नु अपारदर्शी विधि हो । अबन्डामा पैसा राख्न पाइँदैन । सरकारको कानुनबमोजिम खर्च गर्नुपर्छ । यसरी कोष राख्नु भनेको व्यक्तिको गोजीमा पैसा राखेजस्तै हो । यसरी कोष राखेर आफूखुसी खर्च गर्नु राजस्व दुरुपयोग ठहरिन्छ । सभाले पास नगरेको खर्च गर्न पाइँदैन ।’

धरानमा मेयर र उपमेयर कोषमा दुई करोड २५ लाख
धरान उपमहानगरपालिकाको प्रस्तुत बजेटमा मेयर र उपमेयरका लागि कोषमा बजेट विनियोजन गरिएको छ । मेयर कोषमा एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने उपमेयर कोषमा ७५ लाख रुपैयाँ राखिएको छ । मेयर तथा उपमेयरको तजबिजमा खर्च हुने भैपरी कोषको रूपमा यो रकम छुट्याइएको हो ।

बेसार र साबुन उद्योग सञ्चालन गर्ने
धरानले बेसार र साबुन उद्योग सञ्चालन गर्ने भएको छ । त्यसका लागि तीन करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । बेसार उद्योग स्थापना र सञ्चालनका लागि १० लाख र साबुन उद्योग स्थापना र सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको हो । मेयर हर्कराज राईले केही समयअघिबाटै माया धराने नामको साबुन उद्योग स्थापना गर्ने योजना अघि सारेका थिए ।

इटहरीमा रात्रिकालीन बजार सञ्चालन हुने, ६ वटा विद्युतीय बस चल्ने
इटहरी महानगरपालिकाले राति पनि बजार सञ्चालन गर्ने नीति अघि सारेको छ । कोसी प्रदेशको केन्द्रको रूपमा रहँदै आएको इटहरीको ६ र ९ नम्बर वडामा पर्ने बजार राति अबेरसम्म सञ्चालन गर्ने भएको हो । नगरले यसका लागि नीति तथा मापदण्ड बनाइरहेको छ भने सडक र सुरक्षाका लागि आवश्यक पहल भइसकेको छ । 

करिब १२–१ बजेसम्म सञ्चालन हुने बजारले बजार प्रवद्र्धन हुनुका साथै पर्यटकहरूलाई बस्न, घुम्न र किनमेल गर्नसमेत सघाउ पुग्ने उपमहानगरको भनाइ छ । स्ट्रिट फुड, होटेल तथा रेस्टुरेन्ट, सुपरमार्केटलगायतका अन्य व्यवसाय १ भदौबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । केही वर्ष अघिबाटै रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा चर्चा भए पनि उपमहानगरले पहिलोपटक नीति तथा कार्यक्रममै समावेश गरी प्रक्रिया अघि बढाएको हो ।उपमहानगरले ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बस खरिद गरी उपमहानगरले रुट निर्माण गर्नेछ । स्थानीयको सुविधाका लागि विद्युतीय नगरबस सञ्चालन गर्ने योजना रहेको नगरले जनाएको छ ।

 अब बुटवलमा डिप्लोमा इन्जिनियरिङ र अटो इन्जिनियरिङ पढाइ हुने
आगामी आवका लागि दुई अर्ब ३६ करोड ५४ लाख बजेट ल्याएको बुटवल उपमहानगरपालिकाले बुटवलमै इन्जिनियरिङतर्फ डिप्लोमा र अटो इन्जिनियरिङ पढाउने घोषणा गरेको छ । बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई)मा डिप्लोमा तहका इन्जिनियरिङ विषय, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गरिने भएको हो । 

बुटवल १३ र १७ मा १५–१५ शड्ढयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न दुई करोड बजेट छुट्याइएको छ भने वडा नम्बर १३ को अस्पताललाई २४सै घन्टा आकस्मिक सेवा सञ्चालन गरिने भएको छ । बुटवल– १४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई २४सै घन्टा सञ्चालन गर्ने, बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ । 

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबैखालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख सावित्रीदेवी अर्यालले बताइन् । 

राक्सिराङमा बसाइँ आउनेलाई पालिकाले घर उपहार दिने
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले अन्यत्रबाट बसाइँसराइ गरी आउनेलाई आगामी आर्थिक वर्षबाट घर उपहार दिने घोषणा गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै पालिकाले ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रमअन्तर्गत अन्यत्रबाट बसाइँ सरी आएमा घर उपहार दिने घोषणा गरेको हो ।

दुर्गम क्षेत्रबाट बसाइँसराइ गरेर सुगम र सहरी क्षेत्रमा जानेको संख्या बढेपछि त्यसलाई रोक्न र निरुत्साहित गर्न घर उपहार कार्यक्रम घोषणा गरिएको पालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।‘राक्सिराङ दुर्गम भएकाले बसाइँसराइ गरेर सुगम ठाउँमा जाने क्रम बढ्न थालेपछि त्यसलाई रोक्न घर उपहार योजना ल्याएका हौँ । यो योजनाले अन्यत्रबाट यहाँ बसाइँ सरी आउन आकर्षित गर्न सक्ने भएकाले ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम घोषणा गरिएको हो,’ उनले भने ।

गुल्मीदरबार र रुरुमा ‘युवाहरूलाई विदेश होइन बिजनेस’
गुल्मीको गुल्मीदरबार र रुरु क्षेत्र गाउँपालिकाले ‘युवालाई विदेश होइन बिजनेस’ कार्यक्रम घोषणा गरेका छन् । गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा अध्यक्ष युवा उद्यम कार्यक्रममार्फत ‘युवालाई विदेश होइन बिजनेस’ भावना जागृत गराएर स्वरोजगारउन्मुख बनाउने घोषणा गरे । विपन्न, गरिब, सुकुमबासी परिवारका युवाहरूलाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्बिङ तथा इलेक्ट्रो–मेकानिकल, इलेक्ट्रिसियन, मेकानिकल, ब्युटिपार्लर, होटेल म्यानेजमेन्ट, टायल–मार्बल जडान, व्यावसायिक पशु तथा तरकारी खेतीका लागि आवश्यक सीप, उपकरण र अनुदानमार्फत स्वरोगगारी सिर्जना गरेर गरिबी न्यूनीकरणको योजना रहेको थापाले बताए ।रुरु क्षेत्र गाउँपालिकाले कृषि, पशुपालन र उद्यममार्फत युवालाई विदेश होइन, बिजने िकार्यक्रम घोषणा गरेको हो । 

बागलुङले छोरीको नाममा मुद्दती खाता खोलेर पाँच हजार जम्मा गर्ने
एक अर्ब ३३ करोड बजेट ल्याएको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी अभियान’ कार्यक्रम घोषणा गरेको छ । जसमार्फत आगामी वर्षदेखि छोरीको जन्म हुनेबित्तिकै पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिने मेयर वसन्तकुमार श्रेष्ठले बताए । यो कार्यक्रमका लागि १५ लाख विनियोजन गरिएको छ ।

आठराईमा बसाइँ सरी आउनेलाई ३० हजार नगद

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले बसाइँ सरी आउनेलाई ३० हजार नगद सहयोग गर्ने भएको छ । अन्य पालिकाबाट तथा बाहिरी जिल्लाबाट बसाइँ सरी आउने परिवालाई घर–आवासका लागि नगदै रकम उपलब्ध गराउने गरी बजेट ल्याइएको अध्यक्ष दीपेन पोमुले बताए । 

भेटेरिनरी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति
फुङलिङ नगरपालिकाले भेटेरिनरी अध्यापनका लागि पालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । 
मेयर अमिर मादेनका अनुसार जिल्लामा किसान धेरै भए पनि भेटेरिनरी डाक्टरको अभाव भएकाले आगामी आर्थिक वर्षदेखि भेटेरिनरी डाक्टर पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिन लागिएको हो । भेटेरिनरी डाक्टर पढ्नलाई प्रवेश परीक्षा पास गरी कुन कलेज पढ्ने यकिन भएर आएपछि कलेजले लिने शुल्कमा ७५ प्रतिशत व्यहोर्ने मेयर मादेनले बताए । ‘गरिब, आदिवासी, दलित, महिला साथै सामुदायिक विद्यालयमा अध्ययन गरेर १० कक्षा उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइनेछ,’ उनले भने ।

मनहरीमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइने
मकवानपुरको मनहरी गाउँपालिकामा सुर्तीजन्य पदार्थ (गुट्खा, पानपराग) बिक्री–वितरणमा रोक लगाइने भएको छ । अध्यक्ष रञ्जन कालाखेतीले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने भएकाले आगामी आवदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाइने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए ।

(झापामा चिरञ्जीवी घिमिरे, इटहरीमा आरबी कट्वाल, बुटवलमा विष्णु घिमिरे, मकवानपुरमा पोष्टराज अधिकारी, गुल्मीमा टोपलाल अर्याल, बागलुङमा नारायण रिजाल, ताप्लेजुङमा केशवप्रसाद भट्टराई )

ad
ad