
खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्धजयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टरमार्फत यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
सिनेमाको सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् । दोस्रो पोस्टरमा उनीहरूसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ । तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सबैजसो मुख्य कलाकारहरू पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कारअनुसार पात्रहरूलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका हुन् । वीरबल घले कार्यकारी निर्माता रहेको सिनेमामा टीका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सहनिर्माताको रूपमा रहेका छन् । सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी गुरुङको सम्पादन रहेको छ ।