१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सांसद तामाङको माग- नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गरियोस्

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:३७:oo

एमाले सांसद तारा लामा तामाङले नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटकपटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरुपण गर्नुपर्ने उनको भनाइ छ

प्रतिनिधिसभामा शुक्रबार सम्पन्न विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले भने, ‘नेपालीहरूको गौरव सेनाको संख्याबारे बारम्बार टीका–टिप्पणी हुने गरेको छ । यसलाई राष्ट्रिय सहमति गरेर टुंग्याऔँ । सेनाबारे गैरजिम्मेवार तरिकाले बोल्नुहुँदैन ।’

सेना पनि समयानुकूल चल्ने र सदनमा प्रश्न उठाउन पाउने गरी व्यवस्थित गर्न माग गर्दै उनले हरेक सैनिकले सरकार अनुभूति हुने गरी रक्षा मन्त्रालयले सेनालाई व्यवस्थित गर्न रक्षामन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद तामाङले सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीमा रहेको सुविधाकाे विभेद हटाउन पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए । ‘कमसेकम जिल्लाको दररेटअनुसार सुरक्षाकर्मीलाई खानाको व्यवस्था गर्नुपर्छ । अहिले थोरै दिइएको छ । संशोधन गरियोस्,’ उनले भने ।  

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको दयनीय अवस्था रहेको भन्दै उनले बिओपी व्यवस्थित गर्न सुझाव दिए । ‘कारागार व्यवस्थित गरियोस् । नेपालगन्ज र नुवाकोटमा बनेको नयाँ कारागार यथाशीघ्र सञ्चालनमा ल्याइयोस्,’ सांसद तामाङले भने । विपत् पूर्वतयारीमा ध्यान दिन र अध्यागमन कार्यालय समयानुकूल सुव्यवस्थित बनाउन पनि उनले माग गरे । 

तामाङले बजेट विनियोजनमा पर्यटन मन्त्रालय गम्भीर नभएको र पर्यटनमा उल्लेख्य योगदान भएको निजी क्षेत्रलाई प्रोत्साहन हुने कुनै कार्यक्रम नल्याइएको टिप्पणी  गरे । भारतबाट आउने पर्यटकलाई सय रुपैयाँभन्दा माथिको नोट ल्याउन नदिएपछि लामो समय बस्ने गरी आउँदा बोरामा पैसा ल्याउनुपर्ने बाध्यता सिर्जना गरिएको भन्दै उनले त्यसले पर्यटनमा असर गरेको जिकिर गरे । 

पर्यटनमन्त्रीको सिफारिसमै पर्यटकको हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन क्षेत्रमा झन् अप्ठ्यारो पारेको उनको भनाइ थियो । हिल स्टेसनदेखि पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले गर्ने भौतिक निर्माणमा पाँच वर्षसम्म जिरो ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरे राम्रो हुने उनको भनाइ थियो । 

सांसद तामाङले नेपाल वायुसेवा निगमलाई व्यवस्थित बनाउन कार्यकारी महानिर्देशकलाई खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न सुझाव दिए । निगम घाटामा भएका वेला कर्मचारीहरू धेरै भएको, अहिलेकै मन्त्रीको पालामा पनि ४९ जना भर्ना गरिएको भन्दै उपयुक्त नभएको बताए । उनले कर्मचारी कटौती गर्न माग गरे । 

पर्यटनमन्त्रीले बजेटमा सुदूरपश्चिमलाई उपेक्षा गरेको तामाङको गुनासो थियो । ‘उहाँको वडा जति पनि सुदूरपश्चिममा बजेट परेको छैन । त्यसमा पनि मेरो कञ्चनपुरमा पर्यटनको गोटीहोम क्षेत्र, खप्तड क्षेत्रलगायतबारे मन्त्रीलाई ध्यानाकर्षण गराएको थिएँ । केही न केही पर्छजस्तो लागेको थियो । तर, एउटा पनि योजना हाल्नुभएन,’ उनले भने । संस्कृति मन्त्रालय सबै धर्म, जाति र समुदायको हुनुपर्ने तामाङको धारणा थियो । 

सरकार सबैको हो भन्ने अनुभूति गराउन उनले ध्यानाकर्षण गराए । ‘केवल चार–पाँच जिल्लाको हुने गरी र मन्त्री कुनै पार्टीको हुने गरी काम नगरियोस्,’ उनले भने ।  सरकार सत्ता कसरी सत्ता टिकाउने खेलमा लागिराखेको भन्दै तामाङले यो नेपाली जनताका लागि दुर्भाग्य भएको बताए । ‘यो सरकार जति रहन्छ, हाम्रा लागि त्यति घाटा छ,’ तामाङको भनाइ थियो ।

ad
ad