कमला नदी सिन्धुली जिल्लाको चुरे क्षेत्रबाट बग्दै सिराहा हुँदै भारत पुगेर कोसी नदीमा मिसिन्छ । स्थानीयबीच ‘पवित्र नदी’को रूपमा परिचित दुई सय आठ किलोमिटर लम्बाइको कमला नदीमा सिराहाको कर्जन्हा र चारनाथ नगरपालिका क्षेत्रमा व्यापक दोहन हुने गरेको छ ।
कमला नदीमा एकातिर दोहन भइरहेको छ भने अर्कोतिर कमला नदीमा आधारित पूर्वी र पश्चिमी सिँचाइ प्रणालीमा पूर्ण रूपमा पानी पुग्दैन । जसले गर्दा उब्जनीमा ह्रास हुँदै गएको छ । कर्जन्हा नगरपालिका–३ बन्दीपुरमा पूर्वी नहर प्रणाली र चारनाथ नगरपालिका– पोर्ताहामा पश्चिमी नहर प्रणाली ब्यारेज बनाइएको छ । त्यसको करिब एक किलोमिटरको दूरीमा पूर्व–पश्चिम राजमार्गमा पक्की पुल रहेको छ ।
सिराहाको कर्जन्हा नगरपालिका र धनुषाको चारनाथ नगरपालिकाले बर्सेनि एकदेखि डेढ करोडको लागतमा नदीजन्य सामग्री उत्खनन गर्न ठेक्का लगाएका छन् । तर, उनीहरूले नियमित निगरानी नगर्दा चरम दोहन हुँदै आएको छ । दोहनविरुद्ध अहिले कर्जन्हा नगरपालिका र धनुषाको चारनाथ नगरपालिकाको नदीछेउका स्थानीय युवा आन्दोलित हुँदै आएका छन् ।
डेढ महिनादेखि आन्दोलनमा
कमला नदीमा नदीजन्य पदार्थको चरम दोहनको विरोधमा सिराहा र धनुषाका स्थानीय युवा करिब महिनादेखि आन्दोलित भएका छन् । सामुदायिकस्तरमा नागरिकलाई सजग बनाउँदै युवाहरूको समूहले मसाल जुलुसदेखि सडक जाम गर्नेसम्मका आन्दोलन गरेका छन् । ‘जल नै जीवन हो’ भन्दै कमला नदीमा उत्खनन पूर्ण रूपले बन्द हुनुपर्ने उनीहरूको माग रहेको छ । जसअन्तर्गत गणेशनाथ चारनाथ नगरपालिका कार्यालय घेराउका कार्यक्रम पनि गरेका छन् ।
बाली शर्माले कमला नदीमा हुने चरम दोहन रोकिनुपर्ने बताए । ‘यो आफूहरूको जीवन र भविष्यमा आफ्ना सन्ततिको जीवनसँग खेलबाड भइरहेको छ,’ उनले भने,‘कमला नदीको दोहन रोकिनुपर्छ ।’ जलविना किसान र जलमा आधारित पेसाबाट जीवन निर्वाह गर्ने समुदायको जीवन संकटमा परेको भन्दै सिराहाको कर्जन्हा नगरपालिकाका– ६ का युवा अभियन्ता प्रभात महतोले चुरे क्षेत्रबाट कुनै पनि प्रकारको दोहन गर्न नदिइने बताए । ‘जलविना हाम्रो जीवन नै संकटमा पर्छ । कमला नदी र चुरे दोहनले हाम्रो जीवन संकटग्रस्त अवस्थामा पुगेको छ,’ उनले भने ।
सम्झौताभन्दा बढ्ता नदी उत्खनन
कमला नदीबाट सम्झौताभन्दा बढी उत्खनन हुँदै आएको स्थानीयको भनाइ छ । १६ भदौ ०७८ मा कमला–कञ्चनपुर सडक विस्तार तथा अभ्युत्थानका कार्यका निम्ति नदीजन्य सामग्री उपलब्ध गराउनेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो । सिराहाको कर्जन्हा नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका र निर्माण कम्पनीको रूपमा चाइना रेल्वे कम्पनी नम्बर २ इन्जिनियरिङले सम्झौता गरेको हो । जसको साक्षी तत्कालीन कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान र गणेशमान चारनाथ नगरपालिकाका तत्कालीन मेयर रामबाबु यादव साक्षी बसेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
बर्सेनि ८० हजार घनमिटर नदीजन्य सामग्री उत्खनन गर्ने गरी त्रिपक्षीय सम्झौतामा छ । सम्झौताअनुसार उत्खनन गरी वर्षको मूल्यअनुसार प्रतिघनमिटर नदीजन्य सामग्रीको रकम भुक्तानी दिनुपर्ने सहमति भएको हो । जसअनुसार बर्सेनि सरदर दुवै नगरपालिकाले ५७–५७ लाख गरी एक करोड १४ लाख हाराहारीमा रकम पाउँदै आएका छन् । जसमध्ये २० प्रतिशत प्रदेश र संघलाई रोयल्टी पठाउने गरेको छ ।
यता सम्झौताविपरीत निर्माण कम्पनीले चरम रूपमा नदीजन्य सामग्रीको उत्खनन गरेको स्थानीयको दाबी छ । स्थानीय अभियानी प्रभात महतोले अहिलेसम्म निर्माण कम्पनीले तीन लाखभन्दा बढी घनमिटर कमला नदीबाट नदीजन्य सामग्रीको चरम रूपमा दोहन गरी लगिसकिएको बताएका छन् । ‘साढे दुई बिघामा स्टक राखेको थियो,’ महतोले भने, ‘जसमा तीन लाखभन्दा बढी घनमिटर नदीजन्य सामग्री भण्डार गरी लगिसकेको छ । अझै लान खोज्दै छ । त्यसको विरोधमा हामी छौँ । स्टक मापन गर्नुपर्ने हाम्रो माग छ ।’
कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलले विगतमा पाँच वर्षका निम्ति सम्झौता भएको र गौरवको आयोजना भएकाले संघीय मामिला मन्त्रालयबाट पत्राचार गरेपछि नदीजन्य सामग्री लैजान दिएको बताएका छन् । बर्सेनि ८० हजार घनमिटरको सहमति भएको र पछिल्लो नापचाँज गर्दा एक लाख २८ हजार तोकेपछि थप रकम लिई लैजान दिएको मेयर पोखरेलले बताए । आन्दोलनरत पक्षलाई वार्तामा आएर समस्याको समाधान गर्न आग्रह गरेको भन्दै मेयर पोखरेलले यसमा आफ्नो कुनै दोष नरहेको दाबी गरेका छन् ।
दोहन रोकेर सिँचाइमा जोड दिन माग
कमला नदीमा भइरहेको चरम दोहनको कारणले पानीको सतह झन् तल पुगेको छ । चुरे क्षेत्र र पवित्र कमला नदीमा अवैध उत्खनन सधैँका निम्ति रोक्नुपर्ने र किसानलाई वर्षभरि खेतीपाती गर्ने गरी सिँचाइ सुविधा मिलाउनुपर्ने आन्दोलनमा उत्रिएकाहरूको अर्को माग छ । अहिले कमला नहरको पूर्वी र पश्चिमी प्रणालीका शाखामा पानी नै पूर्ण क्षमता पुगेको छैन । दोहनले झन् पानीको सतह तल पुगेकाले सिँचाइका निम्ति पानी अपुग भइरहेको स्थानीय जितेन्द्र यादवले बताएका छन् ।