Skip This
उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेले पद छाडे 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार o९:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेले पद छाडे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार o९:१५:oo

आफ्नो असक्षमता लुकाएर सरकारलाई गाली 

व्यवस्थापकीय कमजोरीका कारण क्षमताअनुसार सिमेन्ट उत्पादन गर्न असक्षम उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीप्रसाद न्यौपानेले सोमबारदेखि पद छाडेका छन् । उद्योगमा कार्यरत कर्मचारीबीच कुराकानी गर्ने प्रयोजनले सञ्चालित ‘वाट्स एप ग्रुप’मा एक सन्देश छाड्दै उनले  २९ महिने कार्यकालबाट विश्राम लिएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मित्रहरू, २९ महिने कार्यकालबाट आजदेखि विश्राम लिँदै छु । तपाईंहरू र सम्पूर्ण कर्मचारीहरूले मलाई पुर्‍याउनुभएको सहयोग र सदभावप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । उद्योगको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामनासहित म पदमा नरहे पनि मेरोतर्फबाट जहिले पनि यहाँहरूलाई आत्मैदेखि सहयोग हुनेछ ।’

०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा दुईवर्षे कार्यकालका लागि नियुक्त भएका न्यौपानेको गत २० पुस ०७९ मै कार्यकाल सकिएको थियो । तर, तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ‘खुसी’  पारेर उनले विधि मिचेर थप एकवर्षे कार्यकाल थमौती लिएका थिए ।

उनको नेतृत्वमा एक वर्षयता उद्योग निरन्तर बन्द अवस्थामा छ । वैशाख ०७८ देखि उद्योग विभिन्न बहानामा कहिलेकाहीँ मात्रै सञ्चालन गर्दै आएका न्यौपाने कात्तिकयता उद्योगपरिसर उदयपुर जानै छाडेका थिए । उनले चैतदेखि उद्योगको सिमेन्ट उत्पादन ठप्पै पारेका थिए ।

दैनिक आठ सय टन क्षमताको उद्योगबाट औसतमा ६ सय टनसम्म सिमेन्ट उत्पादन गर्न कुनै समस्या छैन, तर न्यौपानेले सिमेन्ट उत्पादन नै नगर्दा गत वर्ष करिब ३० प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालन भएको थियो ।

न्यौपानेले २९ महिना उद्योगको जिम्मेवारी सम्हाल्दा एक अर्ब नौ करोड रुपैयाँ व्ययभार थपिएको छ । बिजुलीको ३६ करोड रुपैयाँ बक्यौता नतिर्दा विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नै कटौती गरेको थियो । 

त्यस्तै, सरकारलाई बुझाउनुपर्ने भ्याट र अन्य करको दायित्व ५१ करोड ५९ लाख रुपैयाँ नाघेको छ भने रकम अभावमा अवकाशप्राप्त कर्मचारीलाई दिन बाँकी निवृत्तिभरणबापतको रकम १४ करोड ५० लाख रुपैयाँ छ ।

कोइला आपूर्तिकर्तालाई २० करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न नसक्दा उद्योगले थप कोइला नै खरिद गर्न सकेको छैन । यी सबै असक्षमता र व्यवस्थापकीय कमजोरीलाई ढाकछोप गरी उनले सामाजिक सञ्जाल फेसबुकमा भने घुमाउरो पाराले सरकारलाई गाली गरेका छन् ।

उनी नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय कोषाध्यक्षसमेत हुन् । संस्थानको महाप्रबन्धक रहँदा राजनीतिक दलको कुनै सदस्य हुन नपाउने व्यवस्था भए पनि सरकारले उनलाई कुनै कारबाही नगरी उद्योग सञ्चालनका लागि सहयोग गरेको थियो । तर, पद छाड्दै गर्दा उनले सरकारलाई दोष देखाएर आफ्ना कमजोरीको ढाकछोपमा लागेका छन् ।

कार्यकालभरि उद्योग सञ्चालन र सिमेन्ट उत्पादनको गलत सूचना प्रवाह गरी बदनियत राखेका न्यौपानेले नयाँ नेतृत्व चयन गर्दा भने सुनलाई पित्तल र पित्तललाई सुन बनाउन सक्ने कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर मन्त्रालयको नेतृत्वले आफ्नो स्वार्थ पूरा गर्नतिर लाग्नुपर्ने भन्दै घुमाउरो किसिमले व्यंग्य गरेका छन् ।

न्यौपानेले १५ दिनअघि नै सरकारलाई घुर्की देखाउँदै पदबाट राजीनामा दिने जानकारी गराएका थिए । उद्योगमन्त्री रमेश रिजालले समेत उनको कार्यशैलीबाट उद्योगलाई थप क्षति हुने निष्कर्ष निकालेर राजीनामा स्वीकृत गर्ने जनाउ दिएका थिए ।

उद्योगमा कार्यरत कर्मचारी र उदयपुरका स्थानीयले महाप्रबन्धक न्यौपानेका कारण उद्योगमा निरन्तर क्षति पुगेको भन्दै पदबाट हटाउन माग राखी चरणबद्ध आन्दोलन गर्दैै आएका थिए ।