१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o८:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोले ताप्लेजुङका सडक तहसनहस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:o१:oo

करिब चार सय परिवार विस्थापित, एक सय घर बाढीपहिरोको जोखिममा

बुधबारदेखि निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा व्यापक क्षति भएको छ । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट बाह्य जिल्लामा आवतजावत ठप्प बनेको छ । जिल्लाका अधिकांश ग्रामीण सडक क्षतिग्रस्त भएका छन् । बाढीले मेहेले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सडक बगाएको छ । मेरिङदेन गाउँपालिकामा रहेको सडक बगाउँदा करिब तीन करोडबराबरको क्षति पुगेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । 

सबै स्थानीय तहमा करिब चार सय घरपरिवार विस्थापित भएका छन् । वर्षा र पहिरोका कारण ग्रामीण भेगका अधिकांश स्थानमा यातायातका साधन चलेका छैनन् । सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । बाढीपहिरोपीडितको राहत तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय भइरहेको उनले बताइन् ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामाथिको पुल बगाएपछि पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारीसाधन सदरमुकाममा रोकिएका छन् । तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले सडकसमेत बन्द छ । बाढीपहिरोबाट भएको क्षतिको वास्तविक विवरण आएको छैन । अझै मुसलधारे पानी परिरहेको छ । 

ताप्लेजुङमा अहिलेसम्म बाढीपहिरोमा परी तीनजनाले ज्यान गुमाएका छन् । तीनजना बेपत्ता छन् । मृत्यु हुनेमा सिदिङ– ६ मेहेलेका गणेशबहादुर तामाङ, गणेशबहादुर राई र उनका छोरा केशरकुमार राई रहेको प्रहरी प्रमुख राजन लिम्बूले बताए । बेपत्ता हुनेमा एकै परिवारका भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढा क्षेत्री छन् । कोसी प्रदेश सरकारले ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बेलुका बसेको कोसी प्रदेश विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । ताप्लेजुङमा एक सय घर बाढीपहिरोको जोखिममा परेका छन् । मैवाखोला गाउँपालिकामा २१ घर र पाथीभरा याङवरक गाउँपालिकामा एउटा घर जोखिममा परेका छन् । सिरिजंघा गाउँपालिकामा सात घर, सिदिङवा गाउपाँलिकामा करिब तीन सय घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सिरिजंघामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीनवटा पक्की मोटरेबल पुलमा क्षति पुगेको जनाएको छ । विभिन्न क्षेत्रमा पाँचवटा झोलुंगे पुल बाढीले बगाएको छ । 

जलविद्युत् आयोजना बगाउँदा मैवाखोला गाउँपालिका अन्धकार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघुजलविद्युत् आयोजना आइतबार राति गएको पहिरोले बगाएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका लघुजलविद्युत्का केहीको पावरहाउस र केहीको पानीट्यांकी बगाएको छ । १८ किलोवाटको लोदम्बा हाइड्रोे बगाउँदा गाउँमा अन्धकार भएको छ । ३६ किलोवाटको याम्फेवा हाइड्रोपावर हाउसलगायतमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । ३२ र ६४ किलोवाटको माङमाया १ र माङमाया २ आयोजना पूर्णरूपमा क्षति भएको छ । मैवाखोला क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघुजलविद्युत् आयोजना बगाएको अध्यक्ष वनेमले बताए । प्रायः सबै हाइड्रो बगाएपछि मैवाखोला गाउँपालिका अन्धकार बनेको छ । मोबाइल तथा विद्युतीय सामग्री बन्द भएका छन् । 

बाढीपहिरोका कारण ६ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । साँघुपाटी, कोलडाँडा, मैवाखोला ४ गौडे, बुङधक तुम्बे–नेरा, चप्लिङ, मजुवा ताम्राङ बृहत् खानेपानी आयोजनामा क्षति पुगेको हो । बाढीले मदन भण्डारी राजमार्गअन्तर्गत मैवाखोला– २ र ३ जोड्ने माङमाया खोलामा रहेको मोटरेबल पुल बगाएको छ । मैवाखोला– १ र मेरिङदेन जोड्ने खोलाको झोलुंगे पुलमा पनि क्षति पुगेको छ । केन्द्रीय प्रसारण लाइनको पोल ढल्दा मैवाखोलाको केन्द्र साँघुमा विद्युत् अवरुद्ध बनेको छ । नेरुवा खोलाको काठेपुल र माङमाया खोला सुन्तलेनजिकैको झोलुंगे पुल बाढीले बगाएको छ । गाउँपालिका विपत् व्यवस्थापन समितिले क्षतिको विवरण यकिन गरी राहत, उद्धार र थप जोखिम न्यूनीकरणका सम्बन्धमा आवश्यक निर्णय गरेको छ । 

ad
ad