१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
धीरेन्द्र घर्तीमगर
२o८१ जेठ ५ शनिबार o८:o२:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बदलिँदो परिवेशमा स्ववियुका कार्यभार

विद्यार्थी हकहित र क्याम्पस प्रशासनका विभिन्न गतिविधिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन स्ववियुको भूमिका महत्वपूर्ण रहन्छ

Read Time : > 3 मिनेट
धीरेन्द्र घर्तीमगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o२:oo

त्रिभुवन विश्वविद्यालय (त्रिवि) र मातहतका आंगिक क्याम्पसमध्ये अधिकांशमा स्ववियु निर्वाचन चौध वर्षपछि गत ५ चैतमा र केहीमा पछि सम्पन्न भएको छ । अझै कतिपय क्याम्पसमा विद्यार्थी नेताहरूको भागबन्डा र स्वार्थ नमिल्दा निर्वाचन हुन सकेको छैन । सिद्धान्ततः विश्वविद्यालय प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलो हो । तर, त्रिवि र यसका आंगिक क्याम्पसमा शैक्षिक समस्याको चाङ छ । भौतिक सम्पत्तिका हिसाबमा संसारकै धनी विश्वविद्यालयमध्ये पर्छ, त्रिभुवन विश्वविद्यालय ।

तर, शैक्षिक प्राज्ञिक अभ्यास भने अत्यन्त कमजोर छ । उसले आफैँले बनाएको क्यालेन्डर लागू गर्न सकेको छैन । एउटा विद्यार्थीले स्नातकोत्तर वा स्नातक तह अध्ययन गर्न कति समय लाग्ने हो, टुंगो छैन । समयमा पठनपाठन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन नगर्ने, स–साना समस्यामा पनि प्रशासनिक झमेलाका कारण विद्यार्थीलाई दुःख दिने, ट्रान्सक्रिप्ट निकाल्न फर्म भर्दा कर्मचारीको समस्या देखाई दुई महिनापछि लिन आउनुहोस् भन्ने जस्ता अनेक समस्या छन्, यहाँ । 

त्रिवि कमजोर हुनुमा विविध कारण छन् । तीमध्ये विभिन्न स्वार्थसमूह र दलीय हस्तक्षेप त्रिवि कमजोर हुनुको प्रमुख कारण हो । विश्वविद्यालयभित्र क्रियाशील विभिन्न स्वार्थसमूहमध्ये विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूका संगठन र तिनका नेतृत्व पनि पर्छन् । क्याम्पसमा तिनकै दबदबा देखिन्छ ।

विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुख दलीय भागबन्डामै नियुक्त हुँदै आएका छन् । भागबन्डाबाट नियुक्त हुँदा पनि दक्ष र प्राज्ञिक जनशक्तिभन्दा आफ्नो दलसँग आबद्धताका आधारमा पदाधिकारी नियुक्त हुँदै आएका छन् । त्यसरी नियुक्त भएका पदाधिकारीले त्रिवि बनाउनेभन्दा पनि जागिरे भएर आफ्नो कार्यकाल पूरा गर्ने र आफूमातहतका नियुक्तिमा आफ्नो दल र आसेपासेहरू नियुक्त गर्ने गर्छन् । विश्वविद्यालयमा हावी भएको यो गैरप्राज्ञिक अभ्यास क्याम्पसहरूमा पनि जारी छ । 

बदलिँदो परिस्थितिसँगै नवनिर्वाचित स्ववियु पदाधिकारी आफ्नो क्याम्पसको शैक्षिक वातावरण सुधार र निर्माणतर्फ लाग्नुपर्नेछ । नियमित कक्षा सञ्चालनमा ध्यान दिनुपर्दछ । क्याम्पसमा आउने नयाँ विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाको सहजताका लागि सहायता कक्षसँगै बडापत्रको व्यवस्था गर्नुपर्छ । सूचना प्रविधिको अहिलेको युगमा क्याम्पसको वेबसाइट र सामाजिक सञ्जालका पेज अपडेट छैनन् । बाहिरबाट गरिएका फोन नउठ्ने वा उठिहाले पनि उचित रेस्पोन्स नहुने अवस्था छ । 

क्याम्पसमा पुस्तकालय व्यवस्थापन गर्नु अर्को महत्वपूर्ण काम छ । पुस्तकालय खासमा नाम मात्रका छन् । न विद्यार्थीका लागि आवश्यक कोर्स बुक छन्, न पुस्तकालयमा बसेर अध्ययन गर्ने ठाउँ नै छ । त्यसैगरी, ई–पुस्तकालयका रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूको पहुँच विद्यार्थीलाई गराउन सके पुस्तकालयको थप महत्व बढ्नेछ ।
क्याम्पसका विभिन्न विषयगत विभाग तथा विद्यार्थी संगठनसँग मिलेर स्ववियुको आयोजनामा समसामयिक विषयमा अतिरिक्त क्रियाकलापका रूपमा अन्तरक्रिया, गोष्ठी तथा विभिन्न कार्यक्रमको आयोजना गरिनुपर्छ । यसले विद्यार्थीको नेतृत्व विकासमा सघाउ पुर्‍याउनेछ । स्ववियु निर्वाचनको समयमा देखिएका समस्यामध्ये मत बदर पनि एक हो ।

स्ववियुले क्याम्पसको शैक्षिक प्राज्ञिक सुधारका विषयमा क्याम्पस प्रमुख तथा प्रशासनसँग सहकार्य गरी रचनात्मक भूमिका खेल्न सके मात्र बदलिँदो परिस्थितमा स्ववियुको औचित्य पुष्टि हुनेछ
 

विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीको अवस्था यस्तो छ । यस विषयमा पनि शिक्षा आवश्यक छ । त्यसैगरी, हाम्रो समाजमा भएका विभिन्न सामाजिक समस्या जातीय विभेद, लैंगिक हिंसा, दाइजो प्रथा, महिला हिंसा, अन्तरजातीय विवाह, मानव बेचबिखनजस्ता विषयमा पनि स्ववियुले विद्यार्थीमाझ अन्तक्र्रिया आयोजना गरी प्राज्ञिक अभ्यास गर्नु जरुरी छ ।
अहिले सञ्चालित सेमेस्टर कक्षाहरू पनि वार्षिक प्रणालीजस्तै छन् । नामका लागि मात्रै सेमेस्टर भएर हुँदैन ।

परिणाममुखी, आत्मनिर्भर हुन सक्ने र बजारले खोजेको जस्तो जनशक्ति निर्माण आजको आवश्यकता हो । आन्तरिक मूल्यांकन विश्वसनीय र वैज्ञानिक आधारबाट हुनुपर्छ । पहुँचवाला विद्यार्थीले कक्षामा अनियमित भए पनि आन्तरिक परीक्षामा पूर्णांक ल्याउँछ भने जेहेनदार र नियमित कक्षामा उपस्थित हुनेको अंक निकै थोरै हुन्छ । शिक्षण सिकाइका क्रममा प्रयोग हुने विधि सैद्धान्तिक तथा प्रयोगात्मक दुवै हुनुपर्छ । जसले गर्दा विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्छ । तसर्थ, सेमेस्टर प्रणालीलाई साँच्चिकै व्यावहारिक रूपमा लागू गर्न स्ववियुको खबरदारी आवश्यक छ ।

विद्यार्थी हकहित र क्याम्पस प्रशासनका विभिन्न गतिविधिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन स्ववियुको भूमिका महत्वपूर्ण रहन्छ । क्याम्पसको विद्यार्थी कल्याणकारी कोषमा कति रकम छ, विभिन्न शिर्षकमा के कसरी खर्च हुन्छ, त्यसको हरहिसाब राख्नुपर्छ । साथै, कोषमार्फत हुने सम्पूर्ण काम स्ववियुमार्फत गराउन निर्वाचित पदाधिकारीको सक्रिय र रचनात्मक भूमिका हुनुपर्छ । क्याम्पसभित्र हुने नीतिगत भ्रष्टाचारबारे स्ववियु दूधको साक्षी बिरालो भएर बस्नुहुँदैन । क्याम्पस प्रशासनले गर्ने हरेक क्रियाकलापको सूक्ष्म ढंगले अध्ययन गरी विधिको शासनले काम गर्ने गरी स्ववियुले समन्वय गर्न आवश्यक छ । 

क्याम्पस हाताभित्र विद्यार्थीले पिउने स्वच्छ खानेपानीको व्यवस्था मिलाउनुपर्छ । चमेनागृहको सरसफाइ र खानपानको राम्रो व्यवस्थालाई पनि ध्यान दिनुपर्छ । क्याम्पसका शौचालय प्रयोग गर्नै नसकिने अवस्थामा छन्, पानीको व्यवस्था छैन, सरसफाइ पनि छैन, यस्ता विषयमा ध्यान दिनुपर्छ । मैदान व्यवस्थापनसँगै खेलकुद सामग्रीको व्यवस्था मिलाउन आवश्यक छ । त्रिविका विद्यार्थीलाई शिक्षण अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवाबारे सम्बन्धित कार्यालयबाट जानकारी लिई विद्यार्थीलाई अवगत गराउनु आवश्यक छ । क्याम्पस हाताभित्र ‘फ्री वाइफाई’ जडान गर्न पहल गर्नुपर्छ । 

स्ववियुले क्याम्पसमा अध्यापनरत शिक्षकले नियमित कक्षा लिएका छन् वा छैनन् र विद्यार्थीको समस्यामा क्याम्पस प्रशासनले राम्रो ‘रेस्पोन्स’ गरेको छ कि छैन भनेर चासो दिनु आवश्यक छ । त्यसका लागि सर्वप्रथम स्ववियु नै व्यवस्थित हुन जरुरी छ र निर्वाचित सबै सदस्यलाई कार्य विभाजन गरी जिम्मेवारी दिनु आवश्यक छ । शैक्षिक मुद्दामा केन्द्रित भएर काम गर्न सके मात्र स्ववियुप्रति विद्यार्थीको अपनत्व बढ्नेछ ।

स्ववियु खासमा विद्यार्थीको हकहित र अधिकारका लागि स्थापित एक वैधानिक संस्था हो । स्ववियुले क्याम्पसको शैक्षिक प्राज्ञिक सुधारका विषयमा क्याम्पस प्रमुख तथा प्रशासनसँग सहकार्य गरी रचनात्मक भूमिका खेल्न सके मात्र बदलिँदो परिस्थितिमा स्ववियुको औचित्य पुष्टि हुनेछ र विश्वविद्यालयले परिकल्पना गरेकोजस्तो स्ववियु निर्माण हुन सक्छ ।
(मगर सरस्वती बहुमुखी क्याम्पसका स्ववियु सदस्य हुन्)

ad
ad