१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ महिनामा नेपाल–भारत मोबाइल बैंकिङ कारोबार सञ्चालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५८:oo

नेपाल र भारतबीच भएको अन्तरदेशीय डिजिटल भुक्तानी समझदारी (एमओयू)अन्तर्गत पहिलो चरणमा मोबाइल बैंकिङ  सञ्चालन हुने भएको छ । नेपाली बैंक र भारतीय बैंकको खातामा मोबाइल बैकिङबाट पैसा आदान–प्रदान गर्न मिल्ने गरी तयारी अगाडि बढाइएको छ । 

यसका लागि दुवै देशको भुक्तानी प्रणालीलाई प्राविधिक रूपमा इन्टिग्रेट (अन्तरआबद्ध) गर्ने कामसमेत अघि बढाइसकिएको छ । ६ महिनाभित्र  पाइलट टेस्ट (परीक्षण) सुरु गर्ने तयारीका साथै दुवै देशले काम गरिरहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)का प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले जानकारी दिए । त्यसमा पहिलो चरणमा अन्तरदेशीय मोबाइल बैंकिङ कारोबार सञ्चालन गर्ने योजना बनाइएको छ । त्यसपछि वालेट, क्युआरलगायतका मर्चेन्ट पेमेन्टबाट पनि दुवै देशमा भुक्तानी गर्न मिल्ने गरी व्यवस्था गरिनेछ । 

अहिले भारतमा फोन पे, जिपे, पेटिएम, भारतपे, युपिआईलगायतका भुक्तानी सेवा प्रदायक सञ्चालनमा छन् । यस्तै, नेपालमा पनि इसेवा, खल्ती, आइएमई पेजस्ता भुक्तानी सेवा प्रदायक सञ्चालनमा छन् ।  यसैगरी, व्यावसायिक प्रयोजन, किनमेललगायतका काममा पनि अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा व्यवस्था गर्ने तयारी छ । 

गत जेठ १७ गतेदेखि जेठ २० गतेसम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारसम्बन्धी समझदारी भएको थियो । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा जेठ १८ गते नयाँदिल्लीमा भएको एमओयूमा नेपालको तर्फबाट एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पाेरेसन अफ इन्डिया (एनपिसिआई)का रितेस शुक्लाले हस्ताक्षर गरेका थिए । 

हाल दुवै देशको भुक्तानी प्रणालीलाई अन्तरआबद्ध गर्ने काम सुरु गरिएको उनले बताए । ‘भारतीय पक्षसँग एकचरण छलफल भइसकेको छ । अबको तीन–चारवटामा बैठकमै यसलाई टुंगोमा पुर्‍याउँछौँ,’ सिइओ प्रधानले भने, ‘६ महिनाभित्रै यसलाई कार्यान्वयनमा ल्याउने योजना छ । त्यसमा पहिलो चरणमा मोबाइल बैंकिङ कारोबार सुरु गर्ने तयारी छ ।’ अन्यको तुलनामा मोबाइल बैंकिङलाई प्रयोगमा ल्याउन सहज हुन्छ । त्यसैले पहिलो चरणमा यसलाई नै प्रयोगमा ल्याउने प्रयास गरिएको उनको भनाइ छ । त्यसपछि अन्य भुक्तानीको माध्यमलाई पनि यसमा जोड्दै जाने उनले बताए । 
एनसिएचएल नेपालको र एनपिसिआई इन्डियाको डिजिटल भुक्तानीको क्लियरिङ गर्ने संस्था हुन् ।

एनपिसिआई भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाद्वारा स्थापित एउटा संस्थान हो । यो भारतका विभिन्न खुद्रा भुक्तानी प्रणालीका लागि एउटा मातृसंस्थाका रूपमा स्थापना गरिएको हो । एनसिएचएल पनि नेपाल राष्ट्र बैंकले स्थापना गरेको सोही प्रकृतिको संस्था हो ।

त्यसअन्तर्गत रहेको नेपालको एनपिआई र भारतको युपिआईको सिस्टमलाई इन्टिग्रेट गरेर क्रसबोर्डर डिजिटल भुक्तानी सुरु गर्न लागिएको हो । त्यो प्रणाली अन्तरआबद्ध भएपछि अन्तरदेशीय डिजिटल भुक्तानी गर्न सकिनेछ । नेपाल र भारत सीमा जोडिएको देश भए पनि एक–अर्काेको भुक्तानी प्रणाली सिस्टम जोडिएको थिएन । यद्यपि, डेबिट तथा क्रेडिट कार्ड भने दुवै देशमा प्रयोग गर्न मिल्छ । तर, भुक्तानी प्रणाली इन्टिग्रेट नहुँदा भारत काम गर्न जाने नेपाली र नेपालमा घुम्न तथा काम गर्न आउने भारतीयलाई झन्झट भइरहेको थियो । 
 

ad
ad