१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
अपूर्वानन्द
२o८१ बैशाख १९ बुधबार १o:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भारतीय रेल दुर्घटनातर्फ जाँदै छ !

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५७:oo

दुर्घटनास्थलमा प्रधानमन्त्रीका लागि टेन्ट लगाइनु र त्यसमा कुलरको समेत व्यवस्था गरिनुभन्दा अश्लील दृश्य अर्को के नै हुन सक्ला र ?

रातको दुई बज्दै छ
टाढा कतै जंगलमा ब्वाँसाहरूको ह्वाँ–ह्वाँ
नजिक–नजिक आउँदै कुनै 
रेलगाडीको चक्काको आवाज
कुनै अनपेक्षित असम्भव घटनाको भयानक सन्देह
अचेतन प्रतीक्षा
कहीँ–कतै कुनै रेलगाडी दुर्घटनामा नपरोस् ।

मुक्तिबोधको यो कविता अनायासै झल्यास्स भयो, जब उडिसाको बालासोर र भद्रक ट्रेन २ जुनको राति ठोक्किएको समाचार पढियो । मुक्तिबोधको ‘अँध्यारोमा’ शीर्षकको कविताले यो दुर्घटनाको भविष्यवाणी गरेको थिएन । तर, यी पंक्तिले अन्य कुनै रेल दुर्घटनातर्फ गइरहेको भने स्पष्ट संकेत गरिरहेका छन् ।

यो स्तब्धकारी त्रासदी हो । झन्डै तीन सय मानिस मारिएको र सयौँ घाइते भएको समाचार आइरहेको छ । मृत्युको संख्या उकालो लागिरहेकै छ । मारिनेहरू सबैभन्दा धेरै भारतका सर्वसाधारण नागरिक हुन् । उनीहरू कोरोमण्डल रेलगाडीमा मात्रै यात्रा गर्न सक्छन् । त्यसमा यात्रा गर्नेहरू मात्रै होइन, हावडानिवासी पिनाकी राज मण्डलजस्ता मानिस, जो चिया बेचेर आफ्नो गुजारा चलाउँथे, उनीहरू पनि दुर्घटनामा परेका छन् । उनीसँगै झालमुरी बेच्ने सुजय जानाले टेलिग्राफ पत्रिकासँग आफ्नो साथी पिनाकी राजबारे भने– सधैँजसो बालासोरमा चिया बेचेर आउने ऊ त्यसदिन थप कमाइ गर्ने भनेर बालासोरदेखि भद्रक जान ट्रेनमा त चढ्यो तर त्यहाँसम्म पुग्न सकेन । 

यस्ता समाचार र तथ्यांकले तपाईंलाई द्रवित मात्रै तुल्यायो भने यिनको कुनै महŒव छैन । दुर्घटनापछि सतहमा जस्ता प्रतिक्रिया आए, ती साँचो अर्थमा चिन्तित गराउने खालका छन् । किनभने त्यसले त्यस्तो रेल दुर्घटनातर्फ संकेत गर्छ, जुन मुक्तिबोधको कवितामा व्यक्त गरिएको छ । छुट्टाछुट्टै दिशाबाट आइरहेका रेल एक–आपसमा ठोक्किनु असाधारण घटना हो । किन यस्तो भयो होला ? दुर्घटनाको जिम्मेवार को हो ? यो प्रश्न गरिनुपर्छ कि पर्दैन ? कैयौँ मानिस यति वेला यस्ता प्रश्न सोधिनु हुँदैन भन्दै छन् । यो राष्ट्रिय त्रासदी हो र यतिवेला कसैले पनि विभाजनकारी प्रश्न सोध्नु हुँदैन ।

जनतालाई सरकारले नयाँ रेल ल्याउँदै छ भन्ने मात्रै थाहा छ । उनीहरूलाई राज्यका संस्थामाथि निगरानी गर्ने भारतको महालेखाले रेलवे बजेट र खर्चको छानबिन गरेर कैयौँ वर्ष र मूलतः पछिल्ला चार वर्षदेखि रेलवको सुरक्षासँग सम्बन्धित काममा निकै न्यून काम र खर्च गरिएको छ । रेल विभागमा न्यून कर्मचारी हुनु पनि यसको एउटा कारण हो । गत वर्षदेखि यी प्रश्न बारम्बार उठी नै रहेका छन् । तर, सरकार यात्रीको सुरक्षाप्रति निकै बेपर्वाह छ । खासमा सरकार ‘बन्दे भारत’ रेल चढाएर रेलवेका यात्रुलाई भ्रममा राखिराख्न चाहन्छ, जबकि भारत रेल क्रान्तिको मुखमा उभिएको छ । शनिबारका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले अझै ‘वन्दे भारत’ भन्ने थप रेलको उद्घाटन गरे र ‘हाम्रो सोच दुर्घटना जोगाउनेमा हुनुपर्छ’ भने । ठूलो मिडियाको चिन्ता भने बेग्लै छ । 

उनीहरू सरकार र प्रधानमन्त्रीको छवि धुमिल हुने हो कि भन्ने चिन्ताले ग्रस्त छन् । स्वयं प्रधानमन्त्रीलाई यसको चिन्ता त छँदै छ । त्यसैले, प्रधानमन्त्रीको प्रचार विभागले तत्कालै उनको गम्भीर, चिन्तित मुद्रामा अधिकारीसँग सोधपुछ गर्दै गरेको तस्बिर सार्वजनिक गर्‍यो । त्यसलगत्तै लुगा फेरेर दुर्घटना स्थल पुगेको फोटो सार्वजनिक गरियो । एउटा खम्बा समाएर मोबाइलमा कुरा गर्दै गरेको फुटेज पटक–पटक देखाइयो । घटनास्थल पुगेका प्रधानमन्त्रीले फोनमा कोसँग के कुरा गरे भनेर केसैले सोधेनन् ।

टेलिभिजन च्यानलहरू प्रधानमन्त्रीले धेरै घाम सहनुपर्‍यो भनेर चिन्तित थिए । सबैभन्दा अश्लील दृश्य के थियो भने दुर्घटनास्थलमा प्रधानमन्त्रीका लागि भनेर टेन्ट लागइएको थियो र त्यसमा कुलरको व्यवस्था गरिएको थियो । अर्कातर्फ ठ्याक्कै त्यसको छेउमा लास ढाक्नका लागि कात्रोसमेतको व्यवस्था थिएन । को दोषी हो ? को जिम्मेवार हो ? भन्ने रिपोर्टमा स्पष्ट छ । रिपोर्टमा सुरक्षाका लागि गर्नुपर्ने काम नगरिएको र अत्यावश्यक संसाधनको प्रयोग नगरिएको उल्लेख छ ।

कुशल शासनका लागि डबल इन्जिनको सरकार हुनुपर्छ भनेर पटक–पटक नारा लगाउने प्रधानमन्त्री नै यसका दोषी होइनन् र ? सधैँजसो आफ्नो सेखी प्रदर्शन जुन उनको कमजोरी ढाक्नका लागि प्रयोग हुने गरेको छ, के त्यो नै यसका लागि जिम्मेवार छैन र ? रेलमन्त्री, जो कहिल्यै कहीँ देखिँदैनन् भने जिम्मेवार को हो ? के त्यो मिडिया जिम्मेवार होइन, जसले सरकारसँग कुनै जवाफदेहिता माग्दैन ? बरु उनीहरू त जनताको जीवनसँग खेलबाड गर्न लागिपरेका छन् । रेल दुर्घटनाका जिम्मेवार को हुन् भन्दै गर्दा हामी पिनाकी राजको कथामा फर्किनुपर्ने हुन्छ । उनी २०१७ मा राजस्थानमा काम गर्थे । नोटबन्दीपछि कारोबार ठप्प भयो र उनी घर फर्किनुपर्‍यो । उनले पछि रेलमा चिया बेच्न थालेका थिए । नोटबन्दी र रेल दुर्घटनाबीच के सम्बन्ध हुन सक्छ ? 

के पिनाकीको मृत्युका लागि भारतको कर्पोरेट संसार, हाम्रा बुद्धिजीवी जिम्मेवार छैनन्, जसले नरेन्द्र मोदीलाई एक कुशल प्रशासक, भारतका लागि अनिवार्य व्यक्ति भन्दै जनताको बुद्धि भुटेका थिए ? यो, रेलका यात्रीलाई रेलको चालक बनाइदिएजस्तै हो । त्यसो भयो भने रेल दुर्घटनामा पर्नु निश्चित छ । यसलाई कसरी जोगाउने त ? 

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) 
सत्य हिन्दीबाट

ad
ad