चन्द्रकोट गाउँपालिका– ८ को मजुवा बजारनजिकैको भुजुंगे फाँट ठूलो खेतीयोग्य जमिन हो । ०४२ सालसम्म स्थानीयले बाह्रैमास खेती गर्थे । त्यो स्थानमा व्यक्तिका लालपुर्जावाला र सार्वजनिक गरेर करिब दुई सय रोपनी जग्गा बगर बनिरहेको छ । स्थानीय २०–२२ जनाको सातदेखि १५ रोपनी खेत बगर बनिरहेको छ । स्थानीयका अनुसार करिब चार दशकदेखि बगर जोगाउने र बगाउने काम चलिरहेको छ ।
पटक–पटक भुजुंगे फाँटसहित मजुवा बजार पनि जोखिममा पर्यो । अहिले मजुवा बजारमा करिब तीन सय घरपरिवार बसोवास गर्छन् । सरकारी तथा गैरसरकारी संरचना र विद्यालय तथा क्याम्पसहरू पनि मजुवा बजारमा रहेका छन् । जिल्लाको सबैभन्दा ठूलो बडिगाड खोलाले किनारका थुप्रै खेत ध्वस्त बनाउँदै आएको छ । त्योमध्येको भुजुंगे फाँट एक हो । यो फाँटलाई अहिलेको अवस्थामा फर्काउन राज्यले करोडौँ लगानी गरेका कारण काठका लागि महत्वपूर्ण मानिने सिसौले बगर लहलहाएको छ । तर, काम पर्याप्त छैन ।
आवश्यकताअनुसारकाे बजेट नहुँदा कम संरचना निर्माण हुने र भएका संरचना पनि बगाउँदै लैजाने भएकाले फाँट जोगाए पनि सोचेअनुसारको नदी नियन्त्रणको काम गर्न नसकिएको बडिगाड नदी नियन्त्रण तथा भुजुंगे बगर एवं मजुवा बजार संरक्षण समितिका अध्यक्ष लक्ष्मी गौतमले बताए ।
जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीबाट ८० लाख, नयाँ प्रविधि नदी नियन्त्रण कार्यालयबाट करिब ३० लाख र तत्कालीन जिल्ला विकास समितिलगायतका निकायबाट भुजुंगे फाँटमा नदी नियन्त्रणको काम भइरहेको छ । खोलाको केही धार परिवर्तन गरे पनि जोखिम अझै कायम रहेको छ । गत वर्षसमेत एक सय ३७ थान जाली बगाएको गौतमले जानकारी दिए । उनले जिल्ला र संघीय कार्यालयहरूको लामो प्रयासपछि आवधिक क्षेत्र विस्तार र खेलमैदान बनाउन सकिने अवस्थामा भुजुंगे फाँट रहेको बताए ।
बालुवा उत्खननले पीडित स्थानीय
भुजुंगे फाँटनजिक नदी नियन्त्रणका लागि करिब दुई करोड खर्च भएको छ । भुजुंगे फाँटको बगरको नदीजन्य पदार्थ खोलाको धारको अवस्थाअनुसार स्थानीय पालिकाले उपयोग गर्ने गरेका छन् । अहिले धेरै बगर गुल्मी दरबारको क्षेत्रमा परेको छ । त्यसैले गाउँपालिकाले गिट्टी–बालुवाको ठेक्का लगाएको छ ।
पाँच–सात लाखको लोभमा करोडौँका संरचना जोखिममा छन् । बडिगाड नदी नियन्त्रण तथा भुजुंगे बगर एवं मजुवा बजार संरक्षण समितिका अध्यक्ष लक्ष्मी गौतमले आफूहरूको कुरा कुनै सरकारले सुन्ने अवस्था नरहेको गुनासो गरे । ‘तीनै तहका सरकारले आ–आफ्नै अधिकारका कुरा गर्छन् । जनताका कुरा कसैले सुन्न अवस्था छैन,’ उनले भने, ‘सानो पैसाको लोभमा करोडौँका संरचना जोखिममा पर्ने र ध्वस्त हुने गरेका छन् ।’ पटक–पटक स्थानीयले विरोध गर्ने र पालिकाको ध्यानाकर्षण गराउने गरे पनि अवस्था सुधार नभएको गौतमले बताए ।
तटबन्दका कारण प्रभावित ठाउँमा खेती गर्न थाले
जिल्लामा जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीमार्फत भुजुंगे बगरसहित मुसिकोट र सत्यवतीमा समेत नदी नियन्त्रणको काम भइरहेको छ । मुसिकोट– २ मा बडिगाड नदी नियन्त्रण, सत्यवती– ५ को भलादीफाँट, उल्लीखोला र शाहाघाटमा जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयले नदी नियन्त्रण तथा संरक्षणको काम गरिरहेको छ ।
आर्थिक वर्ष ०७५–७६ पछि हालसम्म चार करोड खर्च गरेर १.३ किलोमिटर तटबन्द गर्दा करिब चार सय ६० घरधुरीले प्रत्यक्ष लाभ लिएको जलुस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका सूचना अधिकारी सन्तोष पौडेलले जानकारी दिए । योजना निर्माणसँगै बडिगाडतर्फका मजुवा भुजुंगे बजर, खैरेनी भलादी फाँटजस्ता प्रभावित ठाउँहरूमा चार सय रोपनीभन्दा बढी नदी उकास भई खेती गर्न थालिएको पौडेलले बताए ।
थोपरिएका योजनाको कार्यान्वयनमा चुनौती
जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर भरत सापकोटाले माग गरिएको योजनाभन्दा थोपरिएका योजनाले गर्दा न्यून जनसहभागिता हुने भएकाले कार्यान्वयनमा समस्या भएको बताए । ठूला योजनामा बजेट कम, टुक्रे र नाम नै तोकिएर माथिबाट आउने योजनाको जनसहभागिता कम हुने, प्राथमिकतायोग्य योजना नियमित योजनामा नसमेटिने र कम प्राथमिकताका योजनामा निरन्तर बजेट पर्ने समस्या देखिएकाले साँच्चै अति आवश्यक स्थानका जनता पीडित बनिरहेको सापकोटाले बताए । उनले जिल्लामा रहेका बडिगाड, छल्दी र रिडीलगायतका नदी किनारा क्षेत्र संरक्षण गर्दै जाँदा उकास भएका जमिनहरूको पुनः संरक्षणमा जोड दिए ।