मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०६:५९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरले तोक्यो ३० स्थानमा नि:शुल्क पार्किङ

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०६:५९:००

काठमाडौंका मुख्य सहरका पसल र अन्य व्यापारिक स्थलमा पार्किङस्थलको माग गर्दै व्यापारीहरूले कालो ब्यानर राखेको महिनाैँ भइसक्यो । काठमाडौं महानगरले वैकल्पिक व्यवस्था नगरी सार्वजनिकस्थलबाट पार्किङ हटाएकोमा उनीहरू आन्दोलित बनेका हुन् । उपत्यका पार्किङ व्यवस्थापन संघर्ष समितिमा आबद्ध भई उनीहरूले विभिन्न दबाबमूलक कार्यक्रम पनि गरिरहेका छन् । 

व्यवसायीहरूले विरोध गरे पनि पार्किङको समस्या ज्युँका त्युँ छ । तर, सिमाना जोडिएको ललितपुर महानगरपालिकाले भने पार्किङका विषयमा व्यवसायीबाट कुनै गुनासो सुन्नुपरेको छैन । न त नगर प्रहरीले सडकछेउछाउ रोकेको सवारीसाधन उठाउन ट्रक नै लिएर हिँड्नुपरेको छ । महानगर प्रहरी प्रमुख सीताराम हाछेथू भन्छन्– ललितपुर महानगरले चुस्त पार्किङ व्यवस्थापन गरेको छ । जसका कारण पार्किङबारे कुनै गुनासो सुन्नुपरेको छैन । महागनरभित्रका ३० ठाउँमा नि:शुल्क पार्किङको व्यवस्था गरेका छौँ । ती पार्किङस्थलमा पार्किङ गरेर पाँच मिनेटमा गन्तव्यमा पुग्न सक्ने अवस्था छ । 

महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए । ‘साँघुरा सडक, नो पार्किङ लेखिएका ठाउँ, जहाँजहाँ जाम हुन सक्छ, दुर्घटना हुन सक्छ, त्यस्ता ठाउँमा पार्क गरिएको छ भने पाँच सय रुपैयाँ जरिवाना तिराउँछौँ । जथाभावी पार्किङ गर्नुहुन्न भन्ने भावना जगाउन जरिवानाको व्यवस्था गरेका हौँ,’ हाछेथूले भने । 

कहाँ–कहाँ छन् नि:शुल्क पार्किङ ?
ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुन्धारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्नकुना खरीबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि पार्किङ गर्न सकिन्छ । यसैगरी, महालक्ष्मीस्थानअगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा नि:शुल्क राख्न सकिन्छ । चक्रपथबाहिर भने पार्किङको समस्या नभएको महानगरले जनाएको छ । 

काठमाडौं महानगरलाई सीताराम हाछेथूको सुझाव

ललितपुरको सिमानामा रहेको काठमाडौंमा देखिएको पार्किङ समस्याबारे हाछेथू पनि अवगत छन् । उनी विकल्पविना दरबारमार्ग, बागबजारलगायत क्षेत्रका सडक–किनारको पार्किङ हटाउनैपर्ने खालको नरहेको बताउँछन् । ‘दरबारमार्गको सडक ६४ फिट चौडा छ । त्यो क्षेत्र जाम बनाउने क्षेत्र होइन । त्यो क्षेत्रमा आउने भनेको पसल, रेस्टुरेन्ट आउने मानिस नै हो । तीन सय मिटरको त्यो बाटो जाम भएको मलाई थाहा छैन,’ हाछेथूले भने, ‘बागबजार क्षेत्रमा पनि जाम नै हुन्न । किनभने, त्यो वान वे हो । भोटाहिटीबाट बागबजार जान पाउँदैन । बागबजारबाट पनि भोटाहिटी जान पाउँदैन । त्यसैले यस्ता क्षेत्रमा विनाअध्ययन, विश्लेषण पार्किङ हटाउने काम भयो ।’ बाटो खाली गर्ने, पार्किङ मात्र हटाउने नाममा जनतालाई दुःख दिन नहुने उनी बताउँछन् ।