१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:३३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

अफगानिस्तानको एक कार्यबाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। 

उत्तरपूर्वी बदख्सान प्रान्तका कार्यबाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू भेला भएको समयमा विस्फोट भएको हो।
तालिबान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालीन सरकारको स्थानमा सन् २०२१ को अगस्टमा दुई दशक लामो विद्रोह अन्त्य गरेको तालिबान समूह सत्तामा फर्किएपछि सुरक्षामा नाटकीय सुधार देखिएको थियो। 

तर, पछिल्लो समय लगातार हिंसाका घटना भइरहेका छन्। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपूर्वी बदख्सान प्रान्तका कार्यबाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू भेला भएको समयमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३० जनाभन्दा बढी घाइते भएका छन्।’

प्रान्तीय राजधानी फैजाबादमा भएको विस्फोटबारे जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालय शत्रुहरूको यस क्रूरताको भर्त्सना गर्दछ।’

प्रत्यक्षदर्शी नसिर अहमदले भने, ‘म मस्जिदबाहिर पाहुनालाई स्वागत गर्न उभिरहेको थिएँ, अचानक एउटा भयानक आवाजले मस्जिद हल्लायो। हतारमा जब म मस्जिदभित्र पसेँ, मैले रगताम्य शवहरू भुइँमा लडेको देखेँ।’ 

घटना स्थलनजिकै रहेका एएफपीका एक पत्रकारका अनुसार तालिबान सरकारका सुरक्षा बलले बिहान अन्त्येष्टि स्थलवरपर चेकप्वाइन्ट खडा गरेका थिए। विस्फोटको आवाज सुनिसकेपछि मानिसहरू नजिकैको सडकमा भागेका थिए र सुरक्षा बलले घेराबन्दी गरेपछि पसलहरू आतंकित भई बन्द भएका थिए।

स्थानीय अस्पतालमा स्ट्रेचरमा १० जनाको शव देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। इस्लामिक स्टेट (आइएस)ले अहमदीको हत्याको जिम्मेवारी लिएको छ। 

आइएस अफगानिस्तानका तालिबान शासकहरूका लागि सबैभन्दा ठूलो सुरक्षा खतराको रूपमा देखा परेको छ। तालिबानले देशलाई अन्तर्राष्ट्रिय आक्रमण अन्त्य गर्ने र देशमा शान्ति तथा अमनचयन कायम गर्ने प्रतिज्ञासहित सत्तामा आएको हो। 

आइएसले अल्पसंखक धार्मिक समूह, विदेशी दूतावास र तालिबान सरकारी अधिकारीमाथि भएको आक्रमणको जिम्मेवारी लिएको छ। रासस