१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ। प्रधानमन्त्री प्रचण्डले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन्। 

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो।बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका– ३ वसन्तपुरसम्म तीन किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

उद्घाटनपछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। 

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्यादेवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजा–आराधना सुरु गरिएको थियो। सप्ताहव्यापी पूजा–आराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिएका थिए।  

वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास गरिन्छ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउनेछ। आइएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। 

यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ। लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए।

लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरूसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक प्रयासबाट प्राप्त माया, सदभाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे। 

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए।  

अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे। 

उनले  केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि  घोषणा गर्दै यस सर्किटअन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथीभरासम्म पुग्न सकिने सम्भावना रहेको बताए। 

लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटेल, बाल उद्यान, स्काईवाक, जिपलाइन निर्माणको क्रममा छन्।

मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोन्डाेला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। 

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नाै सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। 

खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे तीन अर्ब लागतमा पाँचतारे होटेललगायत संरचना निर्माण हुनेछन्।

ad
ad