१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डेढ सातादेखिको लू पश्चिम तराईसम्म फैलियो, अझै पाँच दिन तापक्रम अधिक रहने आकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

डेढ सातादेखिको अत्यधिक गर्मी अझै घट्न सकेको छैन। मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रिय प्रायः बनेपछि बढेको तापक्रमका कारण तराईमा डेढ सातादेखि लू (तातो हावा) चलिरहेको छ।

जेठ तेस्रोसाता मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लू चलिरहेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म तातो हावा चल्न थालेको छ। 
हाल तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री छ। तर, बुधबार नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।  

यसअघि १८ जेठमा रौतहटको गौरमा सबैभन्दा धेरै तापक्रम ४३.८ डिग्री मापन भएको थियो। मध्य र पूर्वी तराईमा वैशाख पहिलो साता पनि लू चलेको थियो। त्यतिखेर सबैभन्दा धेरै तापक्रम भैरहवामा ४२.२ डिग्री नाघेको थियो।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसअघि पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावका कारण त्यहाँ तापक्रम धेरै बढ्न पाएको थिएन। तर, हाल पश्चिमी वायु निकै कमजोर बनेकाले तापक्रम पनि बढेको हो। 

तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लू चल्ने चेतावनी महाशाखाले विशेष बुलेटिन जारी गरेर दिएको छ।  तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेको, हावाहुरी पनि खासै नचलेको र बदली पनि नभएकाले अझै पाँच दिन तापक्रम उच्च नै रहने आकलन मौसमविद्ले गरेका छन्। 

पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौंसहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ। 

नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने भए पनि तत्काल सम्भावना छैन, जसकारण गर्मी लम्बिने देखिन्छ।

पाँच क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री नाघ्यो
बुधबार मुख्य २० स्टेसनमध्ये पाँचवटामा अधिकतम तापक्रम ४१ डिग्री नाघेको छ। यीमध्ये सबैभन्दा बढी तापक्रम जनकपुरमा ४२.२ डिग्री मापन भएको छ। 

विराटनगरमा ४१, नेपालगन्जमा ४१.६, सिमरामा ४१.७ र भैरहवामा ४१.८ डिग्री मापन भएको छ। धनगढीमा पनि लगातार तापक्रम उकालो लागेर ३९.९ पुगेको छ भने धरानमा ३९.३ डिग्री मापन भएको छ। 

अत्यधिक गर्मी भएपछि सुस्ताएका पर्सावासी । तस्बिरहरू : तिवारी यादव/नयाँ पत्रिका