मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ २४ बुधबार १९:०४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि

Read Time : > 1 मिनेट
२०८० जेठ २४ बुधबार १९:०४:००

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि बिहीबार हुने भएको छ। 
आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन्। 

व्यावसायिक रूपमा केबलकार सञ्चालनपछि पाल्पाको वसन्तपुर पर्यटकीय गन्तव्य बन्ने भएको छ। 
यहाँ पर्यटकले कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिरको दर्शन, कैलाश पर्वत, वरपीपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरू भ्रमण गर्न पाउनेछन्। 

गत १५ जेठमा कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्तिमा प्राणप्रतिष्ठा गरी पूजाआराधना गरिएको थियो। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ पण्डितले धार्मिक प्रवचन दिएका थिए। 

भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनाइएको गुरु किशोर गौतमले बताए। 

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउनेछ। 

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका– ३ वसन्तपुरसम्म ३ किलोमिटर दूरीको यो परियोजना लुम्बिनी प्रदेशको पहिलो केबलकार परियोजना हो। 

आइएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ। 

नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपियो : अध्यक्ष ढकाल
लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताएका छन्।

भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको उनको भनाइ छ।

केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। 

टप स्टेसनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटेल, बालउद्यान, स्काई वाक, जिपलाइन निर्माणको क्रममा छन्। मोनोकेबल डिट्याकेबल सिस्टमका २५ वटा गोन्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। 

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ। बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। 

खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।