बजेटको मुखमा कोसी सरकार अल्पमतमा

नीति तथा कार्यक्रम अनिश्चित, अध्यादेशबाट बजेट ल्याउने तयारी

बुधबार, २४ जेठ, २०८०
डिजिटल संस्करण

कोसी सरकारले नीति तथा कार्यक्रम ल्याउने अघिल्लो दिन मंगलबार माओवादीले आफ्ना तीनै मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ भने बुधबार ल्याउने तयारी गरिएको नीति तथा कार्यक्रम अनिश्चित बनेको छ । १ असारमा ल्याउनुपर्ने बजेट अध्यादेशबाट आउने सम्भावना बढेको छ । यसअघि नै जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

संघ र ६ वटा प्रदेश सरकारबाट बाहिरिए पनि कोसीमा एमाले सरकारको नेतृत्वमा छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बुधबार प्रदेश सभा बैठक बोलाइएको छ । सोहीअनुसार मुख्यमन्त्री हिक्मत कार्की १ असारमा बजेट ल्याउने तयारीमा थिए । माओवादीले समर्थन फिर्ता लिएपछि राजनीतिक हलचल मच्चिएको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रतिकूल परिस्थितिअनुसार सरकारले संविधान र कानुनअनुसार नै बजेट ल्याउने बताए । ‘अध्यादेशमार्फत आउँछ कि अरू कुनै तरिकाबाट त्यो अहिले भन्न सकिँदैन, तर जेहोस् बजेट सरकारले वैधानिक तरिकाबाट नै ल्याउँछ,’ उनले भने । एमाले प्रमुख सचेतक भण्डारीले ३० दिनभित्र बहुमत पु¥याएर सरकारलाई निरन्तर दिने योजना रहेको बताए ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अल्पमतमा परेको सरकारले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउनु वैधानिक हुने बताए । ‘संसद्को अधिवेशन नै स्थगित गराएर अध्यादेशमार्फत बजेट ल्याउने काम सरकारले नगरोस् किनभने त्यो असंंसदीय कार्य हो,’ उनले भने ।

अब मुख्यमन्त्री कार्कीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ । अहिलेको समीकरणअनुसार कोसीमा एमालेसँग राप्रपा मात्र छ, यो गठबन्धनको बहुमत पुग्दैन । 

 एमालेको साथ छाड्न तीन महिना लाग्यो माओवादीलाई
मध्यफागुनमा गठबन्धन फेरिएसँगै संघसहित अन्य प्रदेशमा धमाधम सरकार हेरफेर भए । तर, कोसीमा माओवादीको समर्थन कायमै रहँदा एमाले नेतृत्वको सरकार पाँच महिना टिक्यो । कार्की मुख्यमन्त्री बनेपछि माओवादीले २४ पुसमा सरकारलाई समर्थन दिएको थियो ।

प्रतिपक्षमा रहेका कांग्रेस, एकीकृत समाजवादीसहितका दलले सरकार छाडेर सहयोग गर्न दबाब दिए पनि माओवादीले सरकार छाडेको थिएन । पहिचान पक्षधरलाई उपेक्षा गरेको भन्दै एक सांसद रहेको जनता समाजवादीले एक हप्ताअघि नै सरकार छाडेको थियो ।

दबाब बढेपछि २२ जेठमा सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा माओवादी कोसी प्रदेश संसदीय दलको आकस्मिक बैठक बसेको थियो । वर्तमान सरकारलाई नीति तथा कार्यक्रम र बजेट पारित गरुन्जेल समर्थन दिइरहनुपर्ने र तुरुन्तै फिर्ता लिनुपर्नेमा माओवादी सांसदबीच मत बााझिएको थियो ।

मंगलबार प्रदेशका नेताहरूले पार्टीको नेतृत्वसँग छलफल गर्यो भने बिहान माओवादीका कोसी प्रदेश पार्टी पदाधिकारी र इन्चार्जसहितको बैठकले समर्थन फिर्ताका लागि निर्णय गरेको थियो । लगत्तै बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको निर्णय फिर्ता लिने निर्णय गर्दै कोसी प्रदेश सभा सचिवालयलाई जानकारी गराउँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । 

माओवादी कोसी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्षसँगै वार्ता गर्न चासो नदेखाएको र आफूहरूले संघ–गठबन्धनलाई साथ दिँदै सरकारबाट बाहिरिन बाध्य भएको बताए । कोसी प्रदेश नामकरणमा माओवादीले पनि मतदान गरेको थियो ।

नयाँ सरकारका लागि दौडधुप 
गठबन्धन सरकारको नेतृत्वका लागि कोसीमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पहिलो दल एमाले प्रतिपक्ष बन्ने भएपछि दोस्रो ठूलो दलका हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए । ‘सरकार कांग्रेसको नेतृत्वमा बन्छ, हामीले दलबाट निर्णय पनि गरिसकेका छौँ,’ उनले भने । 

माओवादी संसदीय दलका नेता आङ्बोले पनि नयाँ सरकार आफ्नो पार्टीको नेतृत्वमा निर्माण हुने बताए । ‘त्यसका लागि हामी अधिकतम प्रयास गरिरहनेछौँ,’ उनले भने । सभामुखसहित कुल ९३ जना सांसद रहेको कोसीमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक सांसद छन् । कोसी प्रदेशमा बहुमतको सरकार गठन गर्न ४७ सांसद आवश्यक छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको गठबन्धन सरकार बनाउन माओवादी केन्दबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिनुपर्छ । होइन भने राप्रपाको साथ चाहिन्छ । तर, राप्रपाले मुख्यमन्त्री मागेको छ ।

मंगलबार कोसी प्रदेश सभामा दोस्रो कार्यकालका लागि मस्यौदा समितिले निर्माण गरेर बुझाएको प्रदेश सभा नियमावलीबारे छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर, माओवादीले नामकरणको विषयमा नियमावली संशोधन हुनुपर्ने माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएपछि कोसी प्रदेश सभाको नियमावली नै अन्योलमा परेको छ । कोसी प्रदेश सभा गठन भएको ६ महिना बितिसक्दा पनि अझै कोसी प्रदेश सभाले नियमावली पाउन सकेको छैन । अझै कोसी प्रदेश सभा पुरानै नियमावलीलाई ग्रहण गरेर सञ्चालन भइरहेको छ । 

सुझावित समाचार