
धेरै अगाडिको कुरा हो, साँझको समय थियो । चिसो–चिसो हावा चलिरहेको थियो । एउटा बालक नदी किनारमा बसेर आकाशतिर हेरिरहेको थियो । पछाडिबाट कसैले आवाज दियो, ‘भाइ, साँझ परिसक्यो घर हिँड ।’ उसले पछाडि फर्केर हेर्यो, उसकी दिदी उभिएकी थिइन् । उनले भनिन्, ‘आज धेरै चिसो छ, आमाले तिम्रा लागि न्यायो ओढ्ने पठाइदिनुभएको छ, ‘लेऊ, यो ओढ ।’
बालकले त्यो ओढ्ने लियो अनि ऊ दिदीको हात समातेर घरतिर लाग्यो । बाटोमा उसले एउटा दृश्य देख्यो । भिखारीको लुगा ठाउँ–ठाउँमा च्यातिएको थियो । ऊ चिसोले कठ्यांग्रिँदै बालकको अगाडि आयो । सानो बालकले उसको शरीर कामिरहेको देख्यो । बालकको मनमा दया भरिएर आयो । त्यस बालकले आफ्नो न्यानो ओढ्ने भिखारीलाई दियो र भन्यो बाबा, ‘भिख माग्नु राम्रो काम होइन । भगवान्ले तिमीलाई हात, खुट्टा दिएका छन्, मिहिनेत गर र मिहिनेतको कमाइ खाएर बाँच । किनकि मिहिनेत गर्ने मानिसले कहिल्यै अरूको अगाडि हात फैलाउनुपर्दैन, न यताउति भड्किनु नै पर्नेछ ।’
भिखारीले त्यो बालकलाई हेरिरह्यो । भिखारीले त्यो दिनदेखि भिख माग्न छोडिदियो । ऊ हरेक दिन मिहिनेत मजदुरी गर्न थाल्यो । भिख माग्ने काम छाडेर परिश्रम गर्न थालेपछि उसले कसैसामु हात पसारेर केही माग्नै परेन । आफ्नै खुट्टामा उभिन सक्ने भयो । त्यसरी एक सानो भनाइबाटै मानिसको जीवनमा नयाँ मोड ल्याइदिन सक्ने ती बालकको नाम थियो, नानक । तिनै बालक पनि गएर महान् सन्त गुरु नानकको नामले संसार प्रसिद्ध भए ।