
नौदेखि १४ वर्ष उमेरका बालिकामा लगाइने यो खोप चीनबाट २० हजार भाइल ल्याउने तयारी
सरकारले असारको पहिलो सातासम्ममा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप ल्याउने भएको छ । आर्थिक वर्ष ०७७/७८ देखि बजेटमा पर्दै आएको एचपिभी खोप चालू आवको अन्तिममा ल्याइन लागिएको हो ।
डा. विजय आचार्य क्यान्सर रोग विशेषज्ञ, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
ह्युमन प्यापिलोमा संक्रमण भइसकेका महिलामा खोपले संक्रमणबाट बचाउँदैन । जसकारण बालिकालाई नै खोप दिइने गरिन्छ । तर, पछिल्लो समय यौनसम्बन्ध स्थापित नभएको खण्डमा भने २६ वर्षको उमेरसम्म यो खोप लगाउन सकिने अध्ययनले देखाएका छन् । यसको उद्देश्य भनेकै संक्रमण हुनुपूर्व खोप दिनु हो ।
चीनबाट खरिद गरेर २० हजार भाइल एचपिभी खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जनाएको छ । पाठेघरको क्यान्सरविरुद्धको खोप विस्तार कार्यक्रम सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकतामा पर्दै आए पनि सरकारले पहिलोपटक आफैँले खरिद गरेर ल्याउन लागेको हो । यसअघि आव ०७७/७८ मा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाँच करोड मूल्यबराबरको खोप खरिद गरेर ६ हजार बालिकामा लगाएको थियो ।
अघिल्लो आर्थिक वर्षमा समेत एचपिभी खोप खरिदका लागि बजेट छुट्याइए पनि ल्याइएन । निकै महँगो र विश्वबजारमै कम उत्पादन हुने भएकाले खरिद गर्न नसक्दा खोप ल्याउन नसकिएको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस खोप नौदेखि १४ वर्ष उमेर समूहका बालिकामा लगाउनुपर्ने भए पनि २० हजार भाइल पर्याप्त नभएको र कुन जिल्लामा लगाउने भनेर परिवार कल्याण महाशाखाले छलफल गरेर फाइल मन्त्रालय पठाइएको छ ।
एचपिभी खोप दुई डोजका दरले लगाउनुपर्ने र खेर जाने दर पनि अत्यधिक रहेकाले अहिले आठदेखि नौ हजार बालिकामा मात्र लगाउन सकिने र जिल्लाको विषयमा छलफल भइरहेको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । नेपालले ल्याउन लागेको सकुलेन नामक भ्याक्सिन चीनको बेइजिङ वाङटाई बायोलोजिकल फर्मास्युटिकल कम्पनीले उत्पादन गरेको हो ।
नेपालमा सबैभन्दा बढी पाठेघरको क्यान्सरबाट प्रभावित भइरहेको तथ्यांकले देखाएको छ । पाठेघरको क्यान्सरको झन्डै ८० प्रतिशत कारक एचपिभीको संक्रमणबाट हुने भएकाले नेपालमा एचपिभीलाई नियमित खोपभित्र राख्न आवश्यक देखिएको चिकित्सकहरूले बताउँदै आएका छन् । सामान्यतया, एचपिभी भाइरसको वाहक पुरुष भएकाले सानै उमेर अर्थात् नौदेखि १४ वर्ष उमेरमा यो खोप लगाइसक्नुपर्ने भएकाले नियमित खोपमा राख्नुपर्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक डा. विजय आचार्यले बताए । उनका अनुसार यौनसम्बन्धमा आउनुपूर्व खोप लगाउँदा संक्रमणविरुद्ध एन्टिबडी बनिसक्ने भएकाले बालिकामा खोप लगाइने गरिन्छ ।