१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २३ मंगलबार १५:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १५:५८:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानवनिर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आजको आवश्यकता भएको बताएका छन्। 

ओखलढुंगाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवं मठमन्दिरका टुँडाल पाठ्यक्रमका रूपमा रहेकाे उल्लेख गरे। 

उनले भने, ‘नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवर्द्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र साहसले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवर्द्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु।’

यस्तै प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाले यस्ता विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए। 

संविधानसभाका सदस्य यज्ञ सुनुवारले खिजीदेम्बा क्षेत्र गल्फ र पर्यटनका लागि नयाँ गन्तव्य भएकाले विकास र समृद्धिका मुद्दामा जिल्लाका सबै राजनीतिक दलबीच एउटै मत हुन आवश्यक रहेको बताए। 

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले गल्फलगायत खेल पर्यटनका लागि खिजीदेम्बा क्षेत्र उपयुक्त नयाँ गन्तव्य भएकाले त्यहाँको प्राकृतिक छटालाई कुनै नोक्सान नगरी पर्या–पर्यटनसमेत विस्तार गर्न सकिने धारणा व्यक्त गरे। 

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पाले चण्डेश्वरी विमानस्थलको स्तरोन्नति र  खिजीदेम्बा–थोलेदेम्बा क्षेत्र समेटिने पर्यटकीय पदमार्गलाई व्यवस्थित तुल्याउन केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गरे। 

जिल्ला सदरमुकामबाट ६० किलोमिटर पश्चिम–उत्तरमा सुनुवार, तामाङ र शेर्पा जाति समुदायको बसोवास रहेको खिजीदेम्बा क्षेत्र धार्मिक हिसाबले बौद्ध, किराँत र हिन्दूको त्रिवेणीका रूपमा रहिआएको छ।

समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजीदेम्बा डाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक रहेकामा अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ।

साहित्य र राजनीतिक परिवर्तनका लागि भएको क्रान्तिका हिसाबले ओगलढुंगा देशकै उर्वर भूमि मानिँदै आएको छ। युवाकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाले ओखलढुंगाको गरिमा र ओजलाई विश्वभर फैलाउन सफल भए। 

सो अवसरमा मन्त्री किराँतीले पोखली झर्ना, चिलिमडाँडा, माम्जेबौद्ध, चुलीथान, दोबाटेभञ्ज्याङ, खिजी चण्डेश्वरी, खिजी पलाटे, चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा हुँदै सोलुखुम्बुको पिके, दूधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्गको घोषणा गरे।