Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० जेठ २३ मंगलबार ०६:२२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुरुवाघरविनाका अस्पताल : बिरामी कुर्दा कुरुवा नै हुन्छन् बिरामी

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० जेठ २३ मंगलबार ०६:२२:००

राजधानीका सबैजसो ठूला अस्पतालमा कुरुवाघरको अभाव

गत १७ वैशाखमा वीर अस्पतालको मेडिकल वार्ड भवनको पर्खाल भत्किँदा आइसियूमा उपचाररत बिरामीका पाँच कुरुवा घाइते भए । आइसियूनजिकै भुइँमा आराम गरिरहेका अंशु चौधरी, धनेश्वर पन्थी, श्यामा देवी, रिना झा चौधरी र बहुवा देवीलाई पर्खाल भत्किएर खसेको इँटा र जस्तापाताले ढाड र टाउकोमा चोट लागेको थियो । केही महिनाअघि पनि पर्खाल भत्किँदा १० जना कुरुवा घाइते भएका थिए । 

तर, कुरुवा घाइते हुने गरी भत्किएको पर्खाल अहिलेसम्म मर्मत भएको छैन, जब कि त्यही धराप पर्खालमुनिको जोखिमपूर्ण भुइँमा अन्य बिरामीका कुरुवाले अहिले पनि आश्रय लिइरहेका छन् । अस्पतालले भने ०३४ मा बनेको मेडिकल भवनको चौथो तलाको पर्खाल पानी पर्दा गलेर इँटा झर्ने गरेको, तर उक्त भवन भत्काउने योजना रहेकाले मर्मत नगरिएको बताएको छ । 

बिरामीका कुरुवाका लागि अस्पतालमा कुरुवाघर नै हुनुपर्ने हो । तर, बर्सेनि १५ देखि २० हजार बिरामी बेडमा भर्ना भएर उपचार हुने वीरमा कुरुवा बस्ने छुट्टै घरको व्यवस्था छैन । विशिष्टिकृतसहितको सेवा दिइरहेको वीरमा सर्जिकल भवनसँगै नयाँ भवनहरू बनिरहे पनि कुरुवा भने वार्डबाहिरका प्यासेज, कुना र जोखिमयुक्त स्थानमै बस्न बाध्य छन् । चिसो भुइँमा लामो समय बस्दा बिरामी हुने जोखिम त छँदै छ, शौचालय, नुहाउने र फोन चार्ज गर्ने ठाउँदेखि ओढ्ने–ओछ्याउनेलगायतका सामान राख्ने ठाउँसम्म नहुँदा सामान चोरीसँगै कुरुवामा अन्य मानसिक समस्या पनि देखिने गरेको छ ।

सोमबार साँझ बाराका मधुसूदन साह र उनका आफन्त वीरको जाइका भवनको भुइँतलाको भर्‍याङमुनि कुनामा खाना खाइरहेका थिए । ५२ वर्षीया श्रीमतीलाई मिर्गौलामा समस्या देखिएपछि शुक्रबारदेखि अस्पतालमा कुरुवा बसिरहेका मधुसूदनको खाना खाने र सुत्ने ठाउँ नै भर्‍याङमुनिको कुना बनेको छ । पर्साबाट आएका तीन आफन्त पनि उनीसँगै अस्पतालमै कुरुवा बसेका छन् । राति यही ठाउँमा सुत्ने मधुसूदन आफैँ बिरामी पर्न थालेका छन् । ‘अस्पताल आएदेखि नुहाउन पाएको छैन । झोलामा फेर्ने लुगा छ, तर फेर्ने ठाउँ नहुँदा पाँच दिनदेखि एउटै लुगामा छु । शौचालय जान पनि लाइन लाग्नुपर्छ,’ उनले भने, ‘भुइँमै रात बिताउनुपर्दा म आफैँ बिरामी पर्न थालिसकेँ । साँझपखपछि ज्वरो आउँछ ।’ 

त्यस्तै, काठमाडौं बौद्धकी सुष्मा खतिवडा पनि ससुराको कुरुवा बनेर डेढ सातादेखि वीरमै छिन् । ससुराको कलेजोमा समस्या देखिएपछि अस्पताल ल्याएका उनका दुई बच्चासमेत सोमबार साँझ अस्पतालमै थिए । ‘ससुरा आइसियूमा हुनुहुन्छ । कहिलेसम्म अस्पताल बस्नुपर्छ, टुंगो छैन । राति पनि औषधि ल्याउनुपर्ने भएकाले वार्डनजिकै बस्नुपर्छ । चिसो भुइँमा ओछ्यान लगाएर बसेका छौँ, तर एकातिर चिसो, अर्कोतिर मोबाइल, चार्जर, पैसा चोरी हुने डरले राति निद्रा लाग्दैन,’ उनले भनिन्, ‘बच्चाहरू पनि सानै छन्, मेरो न्यास्रो लागेर होला वेला–वेला अस्पतालमै आउँछन् । उनीहरूलाई चिसो भुइँमै सुताउन बाध्य छु ।’ 

वीरमा भर्ना गरिएका सबै बिरामीका कुरुवाको हालत एउटै छ । साँझ परेसँगै उनीहरू वार्डबाहिरका करिडोरमा लहरै सुतिरहेका भेटिन्छन् । वीरका निर्देशक डा. सन्तोष पौडेल भने भोटाहिटीतर्फ निस्किने बाटोको साइडमा कुरुवाघर बनाउने तयारी गरिए पनि बजेट अभावमा निर्माण थाल्न नसकिएको बताउँछन् । 

राजधानीका सबैजसो ठूला अस्पतालमा कुरुवाघरको अभाव
वीर र कान्तिमा मात्रै होइन, कुरुवाघर नहुँदाको दुःख राजधानीका सबैजसो ठूला अस्पतालमा छ । त्रिवि शिक्षण अस्पताल, सिभिल, पाटन, टेकुजस्ता अत्यधिक भिडभाड हुने अस्पतालमै कुरुवाघरको अभाव छ । कुरुवाघर आवश्यक भए पनि बजेट र ठाउँ अभावका कारण निर्माण गर्न नसकिएको ती अस्पतालका प्रशासनको जवाफ आउँछ । 

त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयरका बिरामीका लागि २० बेडको कुरुवाघर छ । तर, क्रिकिटल केयरका बिरामीका कुरुवा नै त्यहाँ नअटाउने भएपछि सुरेश वाग्ले भवनको पेटीसमेत छुट्याइएको छ । अन्य बिरामीका कुरुवा भने सम्बन्धित वार्डबाहिर पेटीमै सुत्न बाध्य छन् । 

क्रिटिकल केयरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालले केही संख्यामा कुरुवा बस्ने व्यवस्था मिलाए पनि सबै कुरुवाका लागि व्यवस्थित कुरुवाघर सञ्चालनमा ल्याउन नसकिएको बताउँछन् त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रमोदकुमार निरौला । ‘अस्पतालमा खाली रहेका केही वार्डमा पुराना सोफाहरू कुरुवाले प्रयोग गर्न मिल्ने गरी राख्ने व्यवस्था गरिएको छ । तर, अस्पतालमा बिरामी राख्ने बेडहरू नै पर्याप्त छैनन्, यस्तो अवस्थामा कुरुवाका लागि छुट्टै व्यवस्था गर्न नसकिने अवस्था छ,’ उनले भने, ‘केही दातृ निकायले कुरुवाघर बनाउन सहयोग गर्ने बताए पनि प्रक्रिया थाल्न सकिएको छैन ।’ 

सिभिलमा पनि समस्या उस्तै छ । अधिकांश बिरामीका लागि कम्तीमा दुईजना कुरुवा आवश्यक पर्छ । तर, अस्पताल निर्देशक डा. दयानिधि पौडेल एकभन्दा बढी कुरुवा बस्दा झन् समस्या हुने गरेको बताउँछन् । 

‘क्रिटिकल केयरबाहेकका वार्डहरूमा बिरामीका कुरुवालाई राति सुत्न सजिलो होस् भनेर फोल्डिङ चेयर राखेका छौँ । त्यहाँ एकजनालाई आराम गर्न सुविधा छ,’ उनले भने, ‘तर, एक बिरामीसँग चार–पाँचजनासम्म कुरुवा आउँदा समस्या हुन्छ । कुरुवाको होहल्लाले बिरामीलाई नै समस्या पर्छ भन्ने कुरा पनि बुझ्न आवश्यक छ ।’ 

कान्तिको कुरुवाघर नवजात शिशुका सुसारेलाई नै ठिक्क, अन्य बिरामीका कुरुवा छिँडीमै

चार वर्षीय छोरा विपिनलाई ज्वरो आउने र बेहोस हुने समस्या लामो समयसम्म पनि ठीक नभएपछि सप्तरीका अमरेश साह कान्ति बाल अस्पतालमा कुरुवा बसेको तीन साताभन्दा बढी भयो । न्युरो सर्जरी वार्डमा उपचाररत विपिनको हेरचाहका लागि अमरेशकी श्रीमती पनि अर्का पाँच वर्षका जेठा छोरा लिएर अस्पतालमै छिन् ।

तर, लामो समयसम्म भुइँमा प्लास्टिकको म्याट ओछ्याएर दिनरात व्यतित गरेका आमा–छोरा नै ज्वरो आउने र झाडापखाला लाग्ने समस्याले ग्रस्त छन् । ‘सानो छोरा बिरामी परेर अस्पताल आएको तीन साताभन्दा बढी भयो । दुईजना कुरुवा नभई नहुने भएपछि श्रीमतीलाई पनि ल्याउनुपर्ने भयो ।

तर, साना छोराहरू आमाबाहेक अरूसँग नबस्ने भएपछि उसलाई आफन्तकोमा पठाउन पनि सकिएन,’ अमरेशले भने, ‘राति चिसो भुइँमा सुत्नुपर्दा अहिले उनीहरू नै बिरामी परेका छन् । औषधि नै खानुपरेको छ ।’

कान्ति अस्पतालले बिरामीको कुरुवाका लागि भनेर पहिलो तलामा ३० बेडको छुट्टै वार्ड र पाँचजनालाई खाना पकाउन मिल्ने भान्साकोठाको व्यवस्था गरिदिएको छ । तर, उक्त कुरुवाघर नवजात शिशुको स्याहारका लागि आएकाहरूले भरिने भएकाले अन्य बिरामीका कुरुवाले ठाउँ नै पाउँदैनन् । बिरामीको चापअनुसार कुरुवाघरको क्षमता नहुँदा समस्या भइरहेको कुरुवाहरू बताउँछन् । 

बर्सेनि १५ देखि २० हजार बिरामी भर्ना भएर उपचार हुने वीरमा कुरुवाघरको व्यवस्था छैन 

वीर अस्पतालमा बर्सेनि १५ देखि २० हजार बिरामी बेडमा भर्ना भएर उपचार गर्छन्, तर यहाँ कुरुवा बस्ने छुट्टै ठाउँ छैन । उनीहरू वार्डबाहिरका प्यासेज, कुना र जोखिमयुक्त स्थानमै बस्न बाध्य छन् । चिसो भुइँमा लामो समय बस्दा बिरामी हुने जोखिम त छँदै छ, शौचालय, नुहाउनेदेखि ओढ्ने–ओछ्याउनेलगायतका सामान राख्ने ठाउँ नहुँदा चोरीसँगै कुरुवामा मानसिक समस्या पनि देखिने गरेको छ । ५२ वर्षीया श्रीमतीलाई मिर्गौलामा समस्या देखिएपछि शुक्रबारदेखि कुरुवा बसिरहेका बाराका मधुसूदन साहले भने, ‘भुइँमै रात बिताउनुपर्दा म आफैँ बिरामी पर्न थालिसकेँ । साँझपखपछि ज्वरो आउँछ ।’

टिचिङमा क्रिटिकल केयरका बिरामीका २० कुरुवाका लागि मात्र ठाउँ, अन्य पेटीमै सुत्छन्

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयरका बिरामीका लागि २० बेडको कुरुवाघर छ । तर, क्रिकिटल केयरका बिरामीका कुरुवा नै त्यहाँ नअटाउने भएपछि सँगैको सुरेश वाग्ले भवनको पेटीसमेत छुट्याइएको छ । अन्य बिरामीका कुरुवा भने सम्बन्धित वार्डबाहिर पेटीमै सुत्न बाध्य छन् । ‘अस्पतालमा बिरामी राख्ने बेडहरू नै पर्याप्त छैनन्, यस्तो अवस्थामा कुरुवाका लागि छुट्टै व्यवस्था गर्न नसकिने अवस्था छ । केही दातृ निकायले कुरुवाघर बनाउन सहयोग गर्ने बताए पनि प्रक्रिया थाल्न सकिएको छैन,’ त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रमोदकुमार निरौलाले भने ।

निर्देशिकाले नै भनेको छ– बिरामीका एक कुरुवा बस्ने प्रबन्ध हुनुपर्छ 
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० ले नै बिरामी कुरुवाका लागि कुरुवाघर हुनुपर्ने भनेको छ । निर्देशिकाको परिच्छेद ४ अन्तर्गत अस्पतालसम्बन्धी मापदण्डमा अस्पतालको वार्ड तथा अन्य उपचार दिने स्थानमा आवश्यकताअनुसार बिरामीको साथमा रहने एक कुरुवा बस्ने प्रबन्ध हुनुपर्ने भनिएको छ ।

तर, अत्यधिक भिडभाड हुने अस्पतालहरूमै बिरामी कुरुवा आवास हुनुपर्ने मापदण्ड कार्यान्वयनमा आउन सकेको छैन । कुरुवाघरको अभावले अस्पतालमा उनीहरूको स्वास्थ्यमा मात्रै होइन, अस्पताल व्यवस्थापनमै समस्या हुने बताउँछन् जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी । उनले भने, ‘हेर्दा सामान्य लागे पनि वार्डबाहिरका करिडोरमा बस्दा कुरुवा नै बिरामी परेर अस्पताल भर्ना हुनुपर्ने अवस्था छ । भिडभाडका कारण फोहोर बढ्ने, भिडभाडमा स्वास्थ्यकर्मीको सेवासमेत प्रभावित हुनेलगायत समस्या पनि देखिन्छन् । यसमा अस्पताल प्रशासनको खासै ध्यान गएको देखिँदैन ।’

सकेसम्म अस्पतालभित्रै वा सम्भव नभए अस्पतालनजिक एक बिरामीबराबर एकजना बस्न मिल्ने गरी कुरुवाघर बनाउन सके धेरै समस्या एकैचोटि समाधान हुने डा. मरासिनीको सुझाव छ ।

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका