१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिंगापुर लगिदिन्छु भन्दै १० करोड ठगेर फरार

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४७:oo

सिंगापुरमा रोजगारी लगाइदिने भन्दै ३९ जना युवाबाट करिब १० करोड ठगेर उदयपुरका सुजन आचार्य फरार भएका छन् । प्रतिव्यक्ति पाँच लाखदेखि २० लाखसम्म असुलेर आचार्य सिंगापुर फरार भएको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभाग र मानव बेचबिखन तथा अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् । विभागले गत २६ चैतमा आचार्यको नाममा पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । पक्राउ पुर्जी जारी गरे पनि प्रहरी र प्रशासनको बेवास्ताले उनी भाग्न सफल भएको पीडितहरूको आरोप छ । 

आचार्य, उनकी सानिमाका छोरा सिर्जन निरौला र बिनु शाक्यले नियतवश योजनाबद्ध रूपमा युवाहरूलाई ठगी गरेको उनीहरूको आरोप छ । पछिल्लो एक महिनादेखि सम्पर्कमा नआएका आचार्यले उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिएको पीडित युवाहरूले बताए । 

उदयपुरका सुजन आचार्यले सिंगापुरमा आफ्नै रेस्टुरेस्ट, होटेलमा कामदारको आवश्यकता भएको भन्दै युवाहरूलाई प्रभावित पारेका थिए । सिंगापुर जानुपूर्व आधा रकम नेपालमा नै र आधा रकम सिंगापुर पुगेपछि बुझाउनुपर्ने भन्दै ठगी गरेको पीडित पारस अधिकारीले बताए । ‘सुरुमा आधा रकम सिंगापुरमा पुगेपछि दिए हुन्छ भन्छ । तर, आधा रकम लिएपछि विभिन्न बहाना बनाएर बाँकी रकम पनि नेपालमा नै असुल्छ,’ उनले भने । अधिकारीले सिंगापुर जानकै लागि आचार्यलाई नेपालमा १० लाख बुझाएको बताए ।  

आचार्यबाट ठगिएका १२ जिल्लाका ३९ जना युवा संगठित भएका छन् भने अन्य २५ देखि ३० जना पीडित रहेको उनीहरूको अनुमान छ । ठगिएकामध्ये एकै परिवारका धेरै छन् ।  सिंगापुरमा बसेर काम गर्नुभन्दा अगाडि ‘ट्राभल हिस्ट्री’ बनाउनुपर्छ भन्दै केही दिन सिंगापुर नै पु¥याएको पीडित अछामका अनिल अधिकारीले बताए । सिंगापुरमा आफ्नो लगानीको रेस्टुरेस्ट भन्दै विभिन्न ठाउँमा समेत घुमाएको उनले बताए । नेपाल फर्किएपछि आफ्ना काका र भान्जालाई समेत आचार्यसँग सम्पर्क गराइदिएको उनले बताए । यसरी उनका आफन्तीमा पनि ठगीमा परे । 

यसरी ठगिए युवा 
आचार्यले आफूलाई एस ग्रुप ग्लोबल कम्पनीको मालिकका साथै सिंगापुरको पाँचतारे होटेल भिलान्द्रोमा आफ्नो लगानी रहेको बताउँथे । सिंगापुर बैंकमा आफ्नो पाँच लाख डलर रहेको विवरण देखाउँदै युवाहरूका अगाडि उनी फोनमा ठूला–ठूला व्यवसायको कुरा गर्थे । लवाइ, बसाइ र खुवाइ पनि उनको राजसी शैलीको हुन्थ्यो । नेपालमा चारपाँचवटा फ्ल्याट भएको सिंगापुर, फिलिपिन्सलगायका मुलुकमा लगानी रहेकोसमेत बताउँथे । 

राजनीतिक वृतमा आफ्नो ठूलै पहुँच भएको भन्दै विभिन्न नेता र मन्त्रीहरूसँग खिचेको फोटो देखाउँथे । सुरु–सुरुमा सम्भावित युवालाई पनि खुवाउने, पिलाउने गर्थे । यति गरेपछि युवाहरूले उनको राम्रो व्यवसाय भएको र नेपालको राजनीति र प्रशासनमा ठूलै पहुँच भएको विश्वास गर्थे । त्यसपछि उनी युवाबाट रकम असुल्ने सुर गर्थे । केही युवालाई उनले सिंगापुर लगेर आफ्नो लगानी भएको कम्पनी भन्दै घुमाउने काम पनि गरे । एकदुई पटक ‘ट्राभल हिस्ट्री’का लागि सिंगापुर पुगेर फर्कने कामदारलाई बढी रकम असुल्थे, तर सिंगापुर पुगेर नफर्कने युवासँग कम रकम लिन्थे । 

सुरुमा आधा रकम लिएर सिंगापुर जाने दिन र फलाइट्समेत निश्चित गरेर टिकट पनि बनाउँथे । सिंगापुर उड्ने दिन आएपछि विभिन्न बहानामा बाँकी रकम माग्थे । फ्लाइट निश्चित भइसकेका कारण युवाहरूले पनि ढुक्क भएर रकम दिन्थे । रकम नदिने युवाको उनले टिकट रद्द गराइदिन्थे । ‘ट्राभल हिस्ट्री’का लागि एकपटक सिंगापुर पुगेर फर्कन्छु भन्ने कतिपय युवालाई उनले सिंगापुरमा नै ट्र्यापमा पारी रकम असुल गर्थे ।

तर, आचार्यले रकम भने कहिल्यै आफ्नो खातामा राख्न लगाएनन् । आफूसँग धेरै सम्पत्ति भएका कारण खातामा पैसा राख्न मिल्दैन भन्दै प्रेमिका बिनु शाक्य र भाइ सिर्जन निरौलाको खातामा रकम जम्मा गर्न लगाउँथे ।   
 

ad
ad