१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी मिलान
२०८० जेठ २३ मंगलबार ०६:२६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ज्लाटनद्वारा सन्न्यास घोषणा

Read Time : > 2 मिनेट
एजेन्सी, मिलान
२०८० जेठ २३ मंगलबार ०६:२६:००

सिरिए क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिकले व्यावसायिक फुटबलबाट आइतबार सन्न्यास घोषणा गरेका छन् । ज्लाटनले सिरिए लिगको समापनसँगै व्यावसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरिसकेका थिए । सिरि ए लिगको आइतबार अन्तिम खेल थियो । उनले एसी मिलानबाट खेल्न पाउँदा खुसी र करिअरबाट बिदा हुँदा दुःख लागेको बताएका छन् । 

स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटनले करिअरमा आबद्ध क्लबमा प्रिमियर लिग उपाधि जिते । उनले पेरिस सेन्ट जर्मेन (पिएसजी), म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानबाट व्यावसायिक फुटबल खेलेका थिए । एसी मिलानका समर्थकलाई अन्तिमपटक सम्बोधन गर्दै ज्लाटनले फुटबलबाट टाढिएको बताएका छन् । ‘अहिले म केवल फुटबलबाट टाढिएको हुँ, समर्थकको मनबाट टाढिनेछैन,’ भावुक हुँदै उनले भने ।

युरोपका चर्चित क्लबबाट प्रतिस्पर्धा गरेका ज्लाटनले करिअरमा व्यावसायिक क्लब लेभलमा पाँच सय ११ गोल गरेका छन् । करिअरमा ज्लाटनले समग्रमा १४ पटक शीर्ष डिभिजनको प्रिमियर लिग उपाधि उचाले । उनले करिअरमा विभिन्न देशमा खेल्दा ३४ उपाधि हात पारे । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीका समकक्षीका रूपमा ज्लाटनलाई लिने गरिन्छ । 

उत्कृष्ट फर्ममा रहँदा ज्लाटनले दुवै खेलाडीलाई बालोन डिअर उपाधिमाथि दबाब राखेका थिए । कीर्तिमानी रूपमा उनी ११ पटक फिफाले प्रदान गर्ने बालोन डिअरको मनोनयनमा परेका थिए । तर, दुभाग्र्यवश उनी एकपटक पनि फिफाको सर्वोकृष्ट खेलाडी बन्न सकेनन् । क्लबस्तरीय करिअरमा उनले सबैभन्दा ठूलो उपाधि हात पारेको नै युरोपा लिग थियो । सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा ज्लाटनले युरोपा लिगको उपाधि चुमेका थिए । 

व्यावसायिक क्लब फुटबल प्रतियोगितामा ३४ उपाधि जितेका स्विडेनका स्ट्राइकर ज्लाटनले समग्र खेलबाटै सन्न्यास लिए

माल्मोदेखि एसी मिलानसम्म
ज्लाटनले सन् १९९९ मा क्लबस्तरीय फुटबल सुरुवात गरेका थिए । उनले स्विडेनकै माल्मो क्लबमा दुई वर्ष बिताए । सन् २००१ पछि नेदरल्यान्ड्सको एज्याक्समा आबद्ध भए । एज्याक्सबाट उनले तीन उपाधि जिते । तीन वर्षपछि उनी सिरिए क्लब युभेन्टससँग जोडिए । युभेन्टसमा उनले दुईपटक सिरिए लिग जिते । सन् २००९ मा स्पेनिस क्लब बार्सिलोनासँग उनी अनुबन्धित भए । उनको समयमा बार्सिलोनामा एकसेएक खेलाडी थिए । त्यसवेला मेसी, एन्डेस इनिस्टा, सावी र कार्लोस पियुलजस्ता खेलाडीसँग उनले ड्रेसिङ रुम सेयर गरेका थिए । बार्सिलोनामा केवल एक वर्ष मात्र बस्दा उनले स्पेनिस ला लिगको उपाधि ट्रफी उचालेका थिए ।

 फ्रान्सको पिएसजीमा उनले आफ्नो भविष्य खोजे । त्यसवेला पिएसजीले विश्वका राम्रा खेलाडी भित्र्याउने अभियान चलाएको थियो । उनले पिएसजीमा चार सिजन बिताउँदा चार लिग वान उपाधि हात पारेका थिए । पिएसजीबाट एक सय २२ खेलमा उनले एक सय १३ गोल गरेका थिए । सन् २०१६ मा उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइेटडसँग आबद्ध भए । म्यानचेस्टरमा दुई वर्ष रहँदा उनले लिग कप र युरोपा कप जिते । युरोपियन फुटबललाई छाडेर ज्लाटन अमेरिकन क्लब एलए ग्यालेक्सीसँग आबद्ध भए । सन् २०२० मा उनी पुनः एसी मिलानमै फर्किए । उनले एसी मिलानबाट एक सय ६३ खेलमा ९३ गोल गरेका थिए ।

६२ अन्तर्राष्ट्रिय गोल
स्विडेन फुटबल इतिहासमा ज्लाटन उत्कृष्ट स्ट्राइकरमा पर्छन् । स्विडेनका लागि एक सय २२ अन्तर्राष्ट्रिय खेलमा उनले ६२ गोल गरेका छन् । युवा खेलाडीलाई मौका दिनुपर्ने भावना बोकेका ज्लाटनले सन् २०१६ मा युरोकपपछि सन्न्यास लिए । तर, राष्ट्रिय फुटबल संघको दबाबमा उनले सन् २०२१ मा सन्न्यास फिर्ता लिए । सन्न्यास लिएपछि ज्लाटनले दोस्रोपटक मिलानबाट सधैँका लागि बिदा हुँदा दुःख लागेको बताएका छन् । 

‘पहिलोपटक मिलानमा आउँदा धेरै खुसी भएको थिएँ, अहिले यहाँबाट सन्न्यास लिँदा दुःख लागेको छ,’ उनले भने, ‘एसी मिलानका समर्थकले मलाई धेरै माया गर्नुभएको छ, यो मलाई घरजस्तै लाग्छ ।’ ४१ वर्षका ज्लाटन यस सिजन चोटका कारण अधिकांश समय मैदानबाहिर रहे । ‘यो मैदानमा बिताएका सबै क्षण यादगार रहनेछ,’ उनले भने, ‘मैले फुटबलबाट बिदाइ लिने समय आएको छ, समर्थकबाट कहिल्यै अलग हुनेछैन ।’