मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
निकोलस क्रिस्टोफ
२०८० जेठ २१ आइतबार ११:३९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शैक्षिक क्रान्तिको अग्रपंक्तिमा सियरालियोन

Read Time : > 4 मिनेट
निकोलस क्रिस्टोफ
२०८० जेठ २१ आइतबार ११:३९:००

विश्वभर प्राथमिक विद्यालयमा हुनुपर्ने लगभग ६ करोड बालबालिका विद्यालयबाहिरै छन् 

कुनै पनि हतास अभिभावकले अलिमाटु सिसेजस्ता सन्तानको कामना गर्छन् । अत्यन्त उत्साही यी १६ वर्षे किशोरीसँग पाठ्यपुस्तक खरिद गर्ने हैसियत छैन, तर उनी आफ्ना धनी सहपाठीसँग पाठ्यपुस्तक मागेर हरेक रात सडकबत्तीमा अध्ययन गर्छिन्, किनभने उनको भिडभाडयुक्त सानो झुपडीमा बिजुली बत्ती छैन ।

अलिमाटु सात सन्तानमध्ये एक हुन् । उनको बुबाको मृत्यु वर्षाैंपहिले भएको थियो, आमा निरक्षर छिन् । पैसा नभएर उनले कहिलेकाहीँ भोकै विद्यालय जानुपर्छ । तर, सियरालियोनमा जारी शैक्षिक क्रान्तिका कारण वकिल बन्ने यी मेधावी छात्राको सपना पूरा हुने बाटोमा अग्रसर छ । (वकिल बनेपछि आमालाई एउटा घर किन्दिन्छु भन्छिन् उनी ।)

सियरालियोन सरकारले सन् २०१८ मा विद्यालय शुल्कमा प्रतिबन्ध लगायो, जसले अलिमाटुका अभिभावक र अन्य लाखौँलाई विद्यालयमा उपस्थित हुने अवसर दियो । सरकारले विद्यालयमा शारीरिक दण्डलाई पनि गैरकानुनी बनाउँदै शिक्षामा लगानी बढाएको छ । राष्ट्रिय बजेटको २० प्रतिशतभन्दा बढी शिक्षाका लागि छुट्याइएको छ । परिणामस्वरूप भर्नामा ५० प्रतिशतले वृद्धि भएको छ र शिक्षाको गुणस्तरमा पनि स्पष्ट सुधार देखिएको छ । यसबाट गरिब बालबालिका सबैभन्दा बढी लाभान्वित भएका छन् ।

निर्मम ११ वर्षे गृहयुद्ध नसकिँदै सुरु भएको सन् २०१४ देखि ०१६ सम्म विस्तारित इबोला महामारीबाट तंग्रिन नपाउँदै कोरोनाको वैश्विक महामारीसमेत खेपेको सियरालियोनले कसरी एक विपन्न मुलुक पनि दृढ संकल्प र नेतृत्वद्वारा शिक्षा क्षेत्रलाई समतामूलक बनाउन समर्थ हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । अन्य देशले सियरालियोनका जर्जर अवस्थाका विद्यालयबाट केही कुरा सिक्न सक्छन् ।

सियरालियोनको उत्तरी क्षेत्रको एक ग्रामीण सडकछेउ मैले थुप्रै केटाकेटी स्कुलको दिनमा समेत खेतबारीमा काम गरिरहेको देखेँ । मैले उनीहरूसँग कुराकानी गरेँ । उनीहरूले स्कुल छोड्नुको एउटा कारण विद्यालयको शुल्क तिर्न नसक्दा बारम्बार सबैका सामु पिटाइ खानु र कक्षाकोठा बाहिर निकालिनु रहेको पाए । ‘सार्वजनिक विद्यालयमा विद्यालय शुल्क तिर्न नसक्दा सधैँ छडी खानुपर्छ ? के यस्तो हर्कत गैरकानुनी होइन ?’ मैले एक १६ वर्षे विद्यार्थी इसासँग प्रश्न गरेँ । उनले सहमतिमा टाउको हल्लाए । ‘तर, शिक्षकलाई यो गैरकानुनी हो भन्न डर लाग्छ मलाई । प्रतिवाद गरे स्कूलबाट निकाल्दिन्छन्,’ उनले भने । 

यसपटक म मेरो वार्षिक भ्रमणमा छु, जसमा मैले विश्वव्यापी समस्या र तिनका समाधानबारे अर्का एक विद्यार्थीसँग कुरा गरेँ, जो येलका नवस्नातक म्याडी बेन्डर थिए । कुराकानीलाई शिक्षामै केन्द्रित गरियो । किनकि विश्वभर प्राथमिक विद्यालयमा हुनुपर्ने लगभग ६ करोड बालबालिका विद्यालयबाहिरै छन् । माध्यमिक वा उच्च विद्यालय जान नपाउनेको संख्या योभन्दा अझ धेरै छ । 

सियरालियोनले साहसिक र दृढतापूर्वक शैक्षिक समस्याहरूको सामना गरिरहेको छ, तर राजधानीका घोषणा इसाहरूका गाउँसम्म पुग्न सकेका छैनन् । ‘विद्यालयका एक अधिकारी कक्षाकोठामा आउँछन् । शुल्क तिर्न नसकेका बालबालिकालाई अगाडि आउन भन्छन् र पूरै कक्षाका सामु प्रत्येकलाई ६ लौरो बर्साउँछन्,’ उनले भने । 

सरकारले विद्यालयमा शारीरिक दण्डलाई पनि गैरकानुनी बनाउँदै शिक्षामा लगानी बढाएको छ । राष्ट्रिय बजेटको २० प्रतिशतभन्दा बढी शिक्षाका लागि छुट्याइएको छ । शिक्षाको गुणस्तरमा पनि स्पष्ट सुधार देखिएको छ ।

उनको कक्षाका ५२ विद्यार्थीमध्ये २४–२५ जना समयमै शुल्क नतिरेका कारण पिटिने गरेको उनी बताउँछन् । ‘पिटाइका कारण केही केटाकेटी नराम्रो रुन्छन् । अभिभावकलाई विद्यालयको शुल्क तिर्न लगाउन बालबालिकालाई पिटिन्छ,’ उनले थपे । 

प्राथमिक तहमा अध्ययनरत इसाका कान्छा भाइले पनि विद्यालयको शुल्क नतिरेको भन्दै आफूलाई पनि पटक–पटक कुटपिट गर्ने गरिएको बताए । उनका अनुसार उनको कक्षामा अध्ययनरत ३५ विद्यार्थीमध्ये १५ जनालाई समयमै शुल्क नतिरेको भन्दै कोर्रा लगाउने गरिएको छ । यस्तो कुरा सुनेपछि म उक्त केटाको प्राथमिक विद्यालयमा गएँ, जहाँ शिक्षक एवं कर्मचारीले शुल्क लिने गरेको एवं पिट्ने गरेको दुवै कुरा इन्कार गरे । उनीहरूको इन्कार पत्याउन सकिने खालको थिएन । किनभने प्रत्येक शिक्षकको डेस्कमा एउटा–एउटा बेतको छडी राखिएको थियो ।

इसाको हाईस्कुलमा पनि विद्यार्थीलाई यातना दिने गरिएको कुरा उसैगरी इन्कार गरियो । मैले विद्यालय प्रशासनसँग कुरा गरेँ, जुन रजिस्टरका आधारमा कसलाई छडी लगाउने भन्ने कुरा निर्धारण गरिन्छ भनेर मलाई विद्यार्थीले भनेका थिए, त्यो रजिस्टर पुस्तिका अवलोकन गर्ने अनुमति लिए । दर्ता पुस्तिकामा प्रत्येक बच्चाको सूची थियो, जसमा शुल्क तिर्ने र नतिर्नेलाई छुट्याइएको थियो । दर्जनबढी शिक्षकसँग कुराकानी गर्दा एक जोडी शिक्षकले भने सरकारी अनुदान अपर्याप्त भएकाले शिक्षकलाई तलब दिने अन्य उपाय नभएको तर्क गर्दै विद्यार्थीबाट शुल्क लिने गरिएको कुरा घुमाउरो तरिकाले स्वीकार गरेँ । 

आधा दर्जन गाउँमा थुप्रै दिन लगाएर गरिएको कुराकानीमा मसँग कुरा गरेका सबै बालबालिका र अभिभावकले आफूहरूलाई विद्यालय शुल्क, पुस्तक शुल्क, खाजा शुल्क वा भर्ना शुल्कजस्ता नाममा शुल्क तिर्न बाध्य पारिने गरेको बताए । लगभग हरेकजसो ग्रामीण विद्यालयका विद्यार्थीले शुल्क नतिरेको कारण आफूमाथि छडी बर्साउने गरिएको बताए । अदामासे नाउँकी एक १३ वर्षीया किशोरीको कुरा सुन्दा मेरो हृदय भक्कानियो, जसको आमाको यसै वर्ष मृत्यु भएको थियो । जसका कारण, उनी शुल्क तिर्न सक्ने स्थितिमा छैनन् । त्यसैले प्रत्येकपटक शुल्क तिर्न विलम्ब हुँदा उनले सम्पूर्ण कक्षाको सामु पाँच लौरो खानुपर्छ । 

आफूले देखेको कुराबारे सोध्न मैले सियरालियोनका राष्ट्रपति जुलियस माडा बायोसँग भेटवार्ता गरे, जो जारी शिक्षा कार्यक्रमका आर्किटेक्ट हुन् । उनी दुःखी देखिए । तर, उनले यसलाई इन्कार गरेनन् । उनको दुखेसो थियो, ‘विपन्नताका कारण तिनलाई कोर्रा हानियो !’ उनले परिवर्तनमा समय लाग्ने र यस्ता दुव्र्यवहार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

३६ वर्षे मोइनिना डेभिड सेन्घी ऊर्जावान् शिक्षा मन्त्री हुन् । उनी सियरालियोनको विद्यालय शिक्षा क्रान्तिको एक महत्वपूर्ण व्यक्ति हुन् । उनी हार्वर्डका स्नातक र एमआइटीका विद्यावारिधि हुन् । सेन्घीसँग डेटा साइन्स र प्रोस्थेटिक्सका थुप्रै पेटेन्ट छन् । उनी आफ्नो खाली समयमा कृत्रिम अंगका सकेट डिजाइन गर्न सघाउँछन् । 

सन् २०१८ मा राष्ट्रपति बायोले सेन्घीलाई देशको प्रमुख नवप्रवर्तन अधिकारी बनाउन बोलाए, जतिखेर उनी आइबिएमको अनुसन्धानमा काम गरिरहेका थिए । त्यसपछि उनी शिक्षामन्त्रीमा नियुक्त भए । सेन्घीले भर्खरै ‘रेडिकल इन्क्लुजन’ नामक पुस्तक प्रकाशित गरेका छन्, जसलाई बिल गेट्सले ‘पढ्नैपर्ने’ पुस्तकका रूपमा प्रशंसा गर्दै विद्यालय शिक्षा सुधारमा सियरालियोनका प्रयास र सेन्घी दुवैलाई प्रकाशमा ल्याइदिए । तर, इतिहास विपन्न देशका शिक्षामा पहुँच सुधार गर्ने प्रयासका असफलताले भरिएको छ । शुल्कमा प्रतिबन्ध लगाउन सजिलो छ, तर सार्वजनिक विद्यालय प्रणालीको खर्च जुटाउने नयाँ तरिका फेला पार्न कठिन छ । घानाले सन् १९६१ मै शुल्क अन्त्यको घोषणा गरेको हो, त्यसपछि केही अफ्रिकी देशले उसको अनुशरण गरे । परिणामतः भर्नामा विस्तार त भयो, तर विद्यालयले आयस्रोत गुमाउँदा र पढाउनुपर्ने विद्यार्थीको संख्यामा वृद्धि साक्षात्कार गर्दा गुणस्तरमा गिरावट आयो । 

शिक्षाको गुणस्तर विश्वव्यापी रूपमा नै ठूलो समस्या रहेको छ । विश्व बैंकको अनुमानअनुसार विपन्न र मध्यम आययुक्त मुलुकका १० वर्षका ७० प्रतिशत बालबालिकाले साधारण पाठ नै पढ्न सक्दैनन् । नाइजेरियामा सातदेखि १४ वर्ष उमेर समूहका तीन चौथाइ बालबालिकाले साधारण वाक्य पढ्न सक्दैनन् । सियरालियोनले सजग अनुसन्धान र सुधारिएको विधि र जवाफदेहिताका साथ शिक्षकको संख्या र गुणस्तर वृद्धिमा लगानी गरेर यो पासोबाट बाहिर निस्किने प्रयास गरिरहेको छ । मेरो दृष्टिमा सियरालियोनका सबैभन्दा महत्वपूर्ण पहलहरूमध्ये यादृच्छिक नियन्त्रित परीक्षणहरूको शृंखला (सिरिज अफ र्‍यान्डोमाइज्ड कन्ट्रोल ट्रायल्स) एक हो । यसले विद्यालय शिक्षाका विभिन्न दृष्टिकोणको परीक्षण गर्छ । हामी संसारभरको शिक्षा सुधारमा मद्दत गर्न सक्ने केही कुरा सियरालियोनबाट सिक्न सक्छौँ ।

यसैबीच, अलिमाटुले पढाइमा राम्रो गर्दै छिन् । तर, उनीसँग केवल एक थान मात्रै विद्यालय पोसाक छ, त्यो पनि दुई वर्ष पुरानो । यसलाई उनले स्नातक पूरा नहुँदासम्म थप एक वर्षका लागि टिकाउनुपर्नेछ । उनीसँग मोजा पनि एकजोडा मात्रै छ र त्यो पनि त्यही पोसाकसँगै आएको हो । उनी यसको बढो जतन गर्छिन् । किनकि मोजा हरायो भने उनको पोसाक अपूर्ण हुनेछ र उनलाई विद्यालयमा छिर्न दिइनेछैन । 

हामी सबैका अलिमाटुजस्ता बालबच्चा होऊन्, जसले कहिल्यै मोजा हराउँदैनन् र आफ्ना सपना पूरा गर्ने मार्गतर्फ अग्रसर रहन्छन् । मलाई आशा छ, सियरालियोनको शिक्षा क्रान्तिले आफ्नो प्रतिज्ञा पूरा गर्नेछ र त्यो क्रान्ति विदेशमा संक्रामक हुनेछ । त्यसले सबै मुलुकमा अलिमाटुजस्ता बच्चालाई तिनका जीवन र मुलुकको रुपान्तरण गर्न शिक्षा प्राप्तिको अवसर दिनेछ ।

(दुईपटक पुलित्जर पुरस्कार प्राप्त गरिसकेका क्रिस्टोफ न्युयोर्क टाइम्सका स्तम्भकार हुन्)
न्युयोर्क टाइम्स