मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २१ आइतबार ०७:४४:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आइन्स्टाइनको सफलताको सूत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २१ आइतबार ०७:४४:००

महान् वैज्ञानिक अल्बर्ट आइनस्टाइन आफ्ना साधारणदेखिमहत्वपूर्ण कुनै पनि काममा अत्यन्त गम्भीरतापूर्वक खटिन्थे र सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे । 

एकपटक आइनस्टाइन एउटा शोधपत्र लेख्दै थिए । केही समयको अथक मिहिनेतपछि उनले त्यसलाई पूर्णता दिए । शोधपत्रको पूर्णतापछि उनले जब त्यसलाई च्याप्न क्लिप खोजे, तर कतै भेटेनन् । उनले सम्भाव्य सबै ठाउँमा खोजे, तर कतै पनि पेपर क्लिप भेटेनन् । तैपनि, निराश नभई उनले खोजीकार्य जारी राखे । खोज्दै जाँदा उनले कोठाको कुनामा बिग्रेर फालिएको एउटा थोत्रो क्लिप भेटे ।

कागज च्याप्न नमिल्ने गरी बिग्रेको पेपर क्लिप भेटेपछि आइनस्टाइन खुसी भए । उनी सोही क्लिप बनाउन लागिपरे । उनी पेपर क्लिप मर्मतमा जुटिरहेकै समयमा उनका सहयोगी आइपुगे । आइनस्टाइन एउटा बिग्रेको सामान्य क्लिप मर्मतमा दत्तचित्त भई लागेको देख्दा उनी छक्क परे । 

कोठाको एउटा कुनामा राखिएको दराजबाट एक बट्टा पेपर क्लिप निकालेर आइनस्टाइनलाई दिँदै सहयोगीले भने– महाशय, हामीसित प्रशस्तै पेपर क्लिप छन् । हजुर बेकारमा त्यो थोत्रो क्लिप मर्मतमा आफ्नो ऊर्जा खेर फालिरहनुभएको छ । त्यसलाई फालिदिनुहोस् । यिनै नयाँ क्लिप प्रयोग गर्नुहोस् । 

आइनस्टाइनले आफ्ना सहयोगीको कुरामा ध्यान दिएनन् । कामको धुनमा सायद उनले सहयोगीको कुरा सुन्दै सुनेनन् कि जस्तो लाग्दै थियो । लगातारको अथक प्रयासपछि उनले क्लिप मर्मतमा सफलता पाइछाडे र त्यसैबाट शोधपत्र च्यापे । अनि, आफ्ना सहयोगीलाई बोलाएर भने– लक्ष्य सानो होस् वा ठूलो, जहिल्यै निरन्तर त्यसमा लागिरहनुपर्छ । कहिल्यै विचलित हुनुहुन्न । अनि मात्र सफलता हात पर्छ ।