मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टिएन आचार्य
२०८० जेठ १९ शुक्रबार ०८:४३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कहाँ छ भ्रष्टाचारको जरो ?

Read Time : > 5 मिनेट
टिएन आचार्य
२०८० जेठ १९ शुक्रबार ०८:४३:००

हामी नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारी, कृषकलगायत सबै तह र तप्काले बुझ्नु जरुरी छ– भ्रष्टाचारको जरो आफैँमा छ

सन् १९४५ मा जन्मेका भोजपुरी विद्वान् गोरख पाण्डेको एउटा प्रख्यात भनाइ छ– ‘मान्छे वैचारिक रूपमा जुन चिजलाई सबभन्दा बढी घृणा गर्छ, भावनात्मक तहमा त्यसैलाई प्रेम गर्छ ।’ आममान्छेको जीवन र समाजलाई बुझ्न यो भनाइ हजारौँ, लाखौँ शब्दबराबर छ । यसले मान्छेको प्रकृति र मानव इतिहासको एउटा कटु यथार्थलाई पनि उजागर गर्छ । यसको जरोमा जाँदा जो मान्छे वैचारिक रूपमा जुन चिजलाई घृणाका रूपमा विरोध गर्छ, उसले त्यसको इतिहास, फाइदा, बेफाइदा, महत्व, असर आदिबारे बढी ज्ञान हासिल गरेको मात्र नभई आफैँ प्रशिक्षित पनि भएको हुन्छ ।

पाण्डेको भनाइ व्यक्तिगत आचरण विश्लेषणमा मात्र नभई आमसामाजिक चरित्र विश्लेषणमा पनि उत्तिकै जीवनोपयोगी छ भन्ने प्रकाश पार्न यो आलेख पेस गरिएको छ । यो हाम्रा विशिष्ट नेताहरूको चरित्र विश्लेषणमा पनि उपयोगी हुने देखिन्छ । जुन नेताले लोकतन्त्रका लागि लामो संघर्ष गर्‍यो, व्यवहारमा अलोकतान्त्रिक हुने, अन्तरपार्टी लोकतान्त्रिक अभ्यास मन नपराउने, विरोधीलाई देखिनसहने, अरूलाई हेलाहोचो गर्ने व्यवहार देखिएकै छ । जो नेताले राजतन्त्रविरुद्ध जीवनभरको संघर्ष गरे, उसले राजसी व्यवहार अँगाल्ने, कोसेली तथा चाकडीको अपेक्षा गर्ने वा त्यसमा रमाउने गरेको हामीले भोगेका छौँ । जसले हिजो गरिबको वर्ग उत्थानका लागि संघर्ष गरेको वा सुदखोर, शोषक वर्गको विरोध गरेको थियो, उही नै अहिले सोचमा सामन्त, विनालगानीको आम्दानी खोज्ने, श्रमलाई बेवास्ता गर्ने जनविरोधी र एक नम्बरको विकासविरोधी छ । यसैगरी जो नेताले छुवाछुतविरुद्ध संघर्ष गर्‍यो, ऊ व्यवहारमा आफूलाई उच्च ठान्ने, जो नेताले महिला विभेदविरुद्ध लामो संघर्ष गर्‍यो, उसले आफूलाई अरू महिलाभन्दा अब्बल ठान्ने मनोविज्ञान बोकेको हुन्छ । 

मान्छे त्यही चिजलाई वैचारिक रूपमा घृणा गर्छ, तर भावानात्मक रूपले प्रेम गर्छ । किन ? यसको कारण यसरी खोतल्न सकिन्छ । मानौँ, एउटा व्यक्तिले निरंकुशताविरुद्ध कठोर संघर्ष गरेको छ । यसका लागि उसले अनेकौँ अध्ययन गरेको हुन्छ । इतिहासदेखि विभिन्न तानाशाहका जीवनी, निरंकुशताले प्रश्रय पाएका कारण यसले पुर्‍याएको क्षति, यसको विरोध गर्नुपर्ने कारण, यसका सकारात्मक नकारात्मक परिणाम आदि । यस्ता कुराको ज्ञान र अध्ययनविना निरंकुशताका विरोध गर्नु सम्भव हुन्न । अध्ययनका क्रममा उसले निरंकुश नेताको दैनिक व्यवहार, श्रीमती संख्या, खानपान, विभिन्न किस्सा, सम्मान गर्ने तरिका, अपमानका उदाहरण, मनोरञ्जनको तरिका पनि अध्ययन गरेको हुन्छ । ऊ आफैँमा ती शिक्षाबाट दीक्षित पनि भइरहेको र मनोवैज्ञानिक रूपमा प्रभावित पनि भइरहेको हुन्छ । उसको दिमागमा ती कुरा गढेर बसेका हुन्छन् र व्यवहारमा दीक्षित पनि भइरहेको हुन्छ । जो मान्छेले भ्रष्टाचारको इतिहास, नालिबेली, फलानो, तिलानोदेखि लिएर इतिहास, वर्तमान र फेहरिस्त बताउँछ, बिस्तारै यसबाट ऊ स्वयं दीक्षित पनि हुँदै गएको हुन्छ । प्रभावित पनि हुँदै जान्छ । दिमागमा आफूलाई अत्यन्तै नकारात्मक लागेका कुरा लामो समय रहन्नन् वा लामो बस्ने कुरा केवल नकारात्मक प्रभाव मात्र राखिराख्ने हुन्नन् ।

आजकल भ्रष्टाचारको विरोध नेपालमा सबैभन्दा बिकाउ नारा बनेको छ । कसैलाई कोही अमूक मान्छेले यो भ्रष्टाचारी हो भनेर आरोप लगाउनासाथ सुन्नेले पत्याउने, तर फलानो निकै राम्रो मान्छे हो भन्यो भने यसको कुनै स्वार्थ रहेछ भनेर शंका गर्ने वातावरण छ । मलाई लाग्छ, हाम्रो समग्र समाज यति धेरै भ्रष्टाचारविरोधी यसअघि कहिल्यै थिएन । के यो विरोधमा पाण्डेले उजागर गरेको मानवीय पक्षलाई जोड्न सकिन्छ ? मतलब हामी आमनेपालीले वैचारिक रूपमा भ्रष्टाचारलाई घृणा गरे पनि भावनात्मक रूपमा फरक स्थानमा छ त ? प्रशस्त आशंका छन् । ‘म’ ‘हामी’लगायत आमसमाजको शुद्धीकरणविना भ्रष्टाचारको वैचारिक विरोधको सार बुझ्न आमनेपाली समाजको चरित्र विश्लेषण गर्नु जरुरी छ । किनकि, भ्रष्टाचारी नहुनु निरन्तरको प्रयास, त्याग र तपस्या हो । यो बोलिने मात्र विषय होइन ! 

हाम्रो घर, परिवार र समाजको जरोमा, संस्कृति वा संस्कारमै भ्रष्टाचारका बिउ रहेका छन् भन्दा अत्युक्ति नहोला । वास्तवमा यी बिउ नै व्यक्तिको चरित्रमा बानी र संस्कार बन्छन् । अवश्य पनि हाम्रो परिवार र समाजका धेरै व्यवहार भ्रष्टाचारलाई पुस्ट्याइँ गर्ने वा सहयोग गर्ने खालका छन् । जसका केही ज्वलन्त उदाहरण हेरौँ ।

बजारमा हामी फलफूल वा तरकारी किन्न जाँदा पसलेले तौल गरिरहेको वेला नहेरीकन बस्न सक्छौँ ? कुनै पसलेलाई मलाई दुई केजी अंगुर, एक केजी स्याउ, चार केजी करेला र एक केजी टमाटर राखिदिनू भनेर आफू छेउमा गएर फोन गर्ने र पसलेले तौल गरेको नहेरी सामानका झोला लिएर विश्वाससाथ घर फर्किन सक्छौँ ? अनि सामान किन्ने ग्राहक पसलमा नहेरी फोनमा व्यस्त भएको देखेर कति व्यापारीले २०, ५० वा सय ग्राम कम नगरी राखिदिन्छन् ? हामी क्रमशः ग्राहक र पसले दुवै भएर आफैँलाई सोधौँ । यस्ता अविश्वास र भोगाइ हाम्रो व्यवहारमा गडेको भ्रष्टाचार संस्कृति होइन र ?

अर्को एउटा गम्भीर प्रश्नको समीक्षा गरौँ । देश बनाउने जिम्मा कसको हो ? यही अवधारणामै हाम्रो समाजमा चरम भ्रष्टीकरण भएको देखिन्छ । देश बनाउने काम नेताको मात्र हो भन्ने सोच हामीमा छ । यस्तै नेताहरू पनि देश बनाउने ठेकेदार हामी हौँ भन्ने अव्यावहारिक सोचले थिचिएका छन् । के सारा जनता जिम्मेवार नभई देश बन्छ ? अनि दुई–चारजना नेताले हामी देश बनाउन पूर्ण जिम्मेवार छौँ भन्दैमा देश बन्छ ? यही अवस्तुगत सोच नै देश बनाउनेमा र प्रत्येक मान्छेको दायित्वबोधको कुरामा अवधारणागत भ्रष्टाचार हो भन्दा फरक पर्दैन । होटेलवालाले राम्रो सेवा दिने, बिल अनिवार्य दिने, कुचीकारले राम्रो बढार्ने, गाडीचालकले सुरक्षालाई प्राथमिकता दिएर सभ्य तरिकाले गाडी चलाउने, शिक्षकले राम्रो पढाउने र असल आचरण प्रदर्शन गर्ने, किसानले स्वस्थकर बाली वा तरकारी फलाउने र नेताले सबल र सक्षम तरिकाले नेतृत्व गरे मात्र देश बन्छ । यसबाहेक अन्य कुनै तर्कले देश विकासको मूल फुटाउन सकिन्न । यही सिलसिलामा आफ्नो घरको छोरा वा छोरीलाई आफ्नै देशमा बस्नुपर्छ, यही माटोमा सेवा गर्नुपर्छ भन्ने शिक्षासमेत आफू नदिने तर चियाचोकमा बसेर नेताले देश बिगारे, यसरी काम गर्नुपथ्र्यो, उसरी काम गर्नुपथ्र्यो भनेर नकारात्मक कुरा मात्र गर्ने अनि नेता आमने–सामने भेट हुँदा सही सल्लाह दिनुको सट्टा धनुष्टंकार नमस्कार गरेर ‘हजुर ल है बधाई छ, हजुरको बहुत राम्रो सुनिन्छ’ भनेर चाकडी गर्ने हाम्रो कस्तो आचरण हो ? कस्तो संस्कृति हो ? कस्तो सोच हो ? दोहोरो चरित्र मात्र हो कि देश बनाउन चाहिँ अर्काले बनाइदेओस्, मचाहिँ मेरो व्यक्तिगत घेराभन्दा बाहिर निस्कन्नँ भन्ने स्वार्थी सोच ?

हाम्रो समाजमा ‘पैसा कमाउनु त व्यापारीको धर्म नै हो नि’ भन्ने असंगतपूर्ण सोच छ । यही सोचको सांस्कृतिक र वैचारिक आवरणमा कर छल्ने, गुणस्तरमा सम्झौता गर्ने, मिलावट गर्ने, दलाली गर्ने, बिल नदिने वा नलिने, निर्माणको गुणस्तरमा आँखा छल्ने आदि कुराप्रति आमजनताको कडा विरोध हुन्न । यस्ता विषय आमसरोकारको विषय नभएर सामान्यीकरण गरिन्छ । अनि सरकारले हरेक क्षेत्रमा पुलिस खटाएर मात्र नियमन हुन्छ ? करछली अपराध हो कि चलाखी ? गुणस्तर कायम नगर्नु अपराध हो कि ‘व्यापारी हो अलि–अलि गरिहाल्छ नि’ भन्ने छुटको सोचाइ ? ‘ठेकेदार हो जसरी पनि कमाउनैपर्‍यो’, ‘नेता हो अलि–अलि नकमाई कसरी चल्ने त ?’ यस्ता सामान्यीकरण गरिएका स्वीकारोक्तिले हाम्रो समाजको सोच र आचरणमाथि निकै ठूलो प्रश्न खडा गरेका छन् । व्यापार वा उद्योगमा सबभन्दा ठूलो नैतिक आचरण हुनुपर्ने हो, तर यस्ता सोच व्याप्त हुनु हाम्रो समाजको अंग–अंगमा खराबी छ भन्ने अकाट्य प्रमाण हुन् ।

जति धेरै आर्थिक भ्रष्टाचारको मात्र विरोध आमसमाजमा घृणाको तहमा भइरहेको छ, त्यति धेरै हाम्रो समाज धनलम्पट भइरहेको छ भन्ने अनुमान किन नलगाउने ? अर्को व्यक्तिले सम्पत्ति कमाएको, तर आफूले त्यो मौका नपाएको मनोवैज्ञानिक झोकमा विरोध हुनु वा गर्नु स्वाभाविक पनि हो । तर, कसरी कमाएको हो भन्ने बुझ्दाबुझ्दै अन्तरहृदयबाट त्यसको डाह गर्नुचाहिँ हाम्रो त्यसप्रतिको अन्तस्करणमा बसेको प्रेम हो ।

यसर्थ व्यवहार र आचरणको रूपमा प्रतिवाद गर्नु र घृणाको रूपमा प्रतिवाद गर्नुको विश्लेषण फरक ढंगले गर्नुपर्छ । विरोधलाई घृणाको तहमा नभएर शिक्षाको रूपमा र आफू जे गरिन्छ, त्यहाँ व्यवहारमा उतार्ने कुरा नै मुख्य कुरा हो । काम गरिरहेका, व्यवहारमा परिणाम दिइरहेका र समाज परिवर्तनमा मात्रात्मक योगदान दिइरहेका व्यक्तिहरूको आचार, विचार र भ्रष्टाचारसम्बन्धी सोच घृणाको तहमा भन्दा वस्तुगत तहमा हुन्छ । यस्ता मान्छे व्यवहारले पाकेर भ्रष्टाचारका कुरालाई घृणाभन्दा पनि व्यावहारिक कठिनाइ छिचोलेर कसरी जित्न सकिन्छ भनेर वस्तुवादी हुन्छन् । किनकि काम गर्न र परिणाम निकाल्न वस्तुवादी हुनैपर्छ ।

मलाई लाग्छ विद्वान्ले भनेको कुरा ‘मान्छे वैचारिक रूपमा जुन चिजलाई सबभन्दा बढी घृणा गर्छ, भावनात्मक तहमा त्यसैलाई प्रेम गर्छ’ सत्य हो । तर, यो स्वस्फूर्त हो भनेर हामीले विरोध नै नगर्ने कि अझै गहिरिएर विश्लेषण गर्ने ? अवश्य पनि भ्रष्टाचारको विरोध गर्नैपर्छ । तर, विरोध–व्यवहार–विरोधको चक्रमा हिँडियो भने मात्र उन्नत, पारदर्शी र सभ्य समाजको निर्माण हुन्छ । हामीले देखेका नेताहरूको राजकीय आचरण, तानाशाही शैली, आइस्यो, गइस्यो खोज्ने, कोसेली मन पराउने प्रवृत्ति दैनिक व्यवहारमा ध्यान दिएर हरेक दिन परिवर्तन गरिएको भए रोक्न सकिन्थ्यो । आचरण र व्यवहारमा दैनिक रूपान्तरण भएको सुनिश्चित गरेको भए आज नेताहरूको भनाइ र गराइको अन्तर कम हुन्थ्यो । हामी जे कुराको सख्त विरोध गर्छौं, कतै आफ्नो व्यवहार त्यसको विपरीत त छैन ? हामी नेता, कार्यकर्ता, शिक्षक, व्यापारी, कृषकलगायत सबै तह र तप्काले बुझ्नु जरुरी छ कि भ्रष्टाचारको जरो कहाँ छ र त्यसलाई कसरी निर्मूल तथा न्यूनीकरण गर्न सकिन्छ । कार्लमार्क्सले भनेका छन्– ‘संसारको व्याख्या गर्नु मुख्य कुरा होइन, मुख्य कुरा त यसलाई बदल्नु हो ।’

(आचार्य चार्टर्ड एकाउन्टेन्ट हुन्)