१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देवदह दरबार रहेको अनुमान गरिएको खयरडाँडामा उत्खनन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा उत्खनन सुरु गरिएको छ। बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले संयुक्त रूपमा उत्खननकाे शुभारम्भ गरेका हुन्।

देवदह नगरपालिका– ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए। देवदहका स्थानीयसमेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताले दाबी गरेअनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण बन्ने बताए।

उनले कोषले बौद्ध पुरातात्विक क्षेत्रहरूको उत्खनन र संरक्षणमा पुरातत्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताए। भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको उल्लेख गरे। ‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रूपमा पुष्टि हुन बाँकी छ। तर, खयरडाँडा पुरातात्विक स्थल रहेकोमा कुनै शंका छैन,’ उनले भने।
देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने उनको भनाइ छ।

उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले खयरडाँडा क्षेत्र नै कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र रहेको दाबी गरे। उनले उत्तरतर्फ पुष्करणी दह  र पश्चिमपट्टि रोहिणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफूहरूको विश्वास रहेको बताए। उनले लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन सुरु गरेर पुरातात्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पुर्‍याउने बताए। नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक वस्तु र स्मारकहरूलाई नगरपालिकाले संग्रहालय बनाएर राख्ने प्रतिबद्धता जनाए।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सातजनाको टोली उत्खननमा खटिएको छ। लामो समयदेखि स्थानीयको माग रहे पनि विविध कारणले हुन नसकेको उत्खनन यसपटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए। स्थानीयको दाबीअनुसार खयरडाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र हो। पुरातात्विक रूपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरू जुटाउने अपेक्षा गरिएको छ। 

उत्खनन आगामी असार १५ गते एक महिनासम्म चल्नेछ। यसअघि कोषले बैरीमाई र कन्यामाई तथा पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो। कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको थियो।