१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १८ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ १८ बिहीबार १२:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाश गाउँपालिकाद्वारा ६ किशोरीलाई नगदसहित सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १८ बिहीबार १२:३o:oo

विवाहअघि कम्तीमा १० जोड २ पास गर्नुपर्ने र २० वर्ष पूरा हुनुपर्ने भन्दै मकवानपुरको विकट कैलाश गाउँपालिकाले ६ जना किशाेरीलाई सम्मान गरेको छ। 

पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश किशारी प्रोत्साहन कार्यक्रमअनुसार पालिकाभित्रका चेलीहरूलाई अध्ययन पूरा गर्न र २० बवर्ष उमेर पुगेपछि मात्र विवाह गर्न प्रेरणा मिलोस् भनेर विभिन्न वडाका ६ जना चेलीलाई नगदसहित सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर माेक्तानले १० जोड २ पास गर्ने कैलाश– ६ की संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश– १० की सरुया प्रजा तथा उर्मिला थिङ र कैलाश– २ की लक्ष्मी माेक्तानलाई चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत नगद २० हजारसहित सम्मानपत्रले सम्मान गरेको जानकारी दिए।

‘विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखेका थियाैँ। सोहीअनुसार यसपटक ६ जना चेलीलाई सम्मान गरेका हौँ,’ उनले भने, ‘आगामी दिनमा यो संख्या बढ्छ भन्ने विश्वस लिएका छौँ।’

पालिकाका अध्यक्ष मोक्तानले पालिकामा अधिकांश चेलीहरूको अध्ययन पूरा नहुने, उमेर नपुग्दै विवाह हुने प्रचलन रहेकाले यसलाई निरुत्साहित गर्न चेली कार्यक्रम ल्याएको बताए। ‘उमेर नपुग्दै विवाह हुने, पढाइ पूरा नगर्ने समस्या गाउँघरमा छ। बाल मृत्युदर र मातृ मृत्युदर कम गर्न सकियोस् र चेलीहरूलाई आफ्नो खुट्टामा आफैँ उभिन सक्ने वातावरण बनाउन सकियोस् भनेर यो कार्यक्रम ल्याएका हौँ,’ उनले भने।

सम्मानित भएपछि कैलाश– ६ की संगिता ढुंगानाले आफूलाई पालिकाले सम्मान गरेकोमा खुसी लागेको र उच्च अध्ययनका लागि थप हौसला मिलेको बताइन्। ‘यसरी पालिकाले नगदसहित सम्मान गर्दा खुसी लाग्नु स्वाभाविक हो। अझ उच्च अध्ययनका लागि थप हौसला मिलेको छ,’ उनले भनिन्।

गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले देशभरका स्थानीय तहहरूमध्ये यो कार्यक्रम पृथक भएको दाबी गरे। उनले गउँघरमा छोरीलाई वालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको बताउँदै यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

उनले कार्यक्रमलाई अझ बृहत् रूपमा विस्तार गर्दै लैजाने बताउँदै पालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा चेली र युवालक्षित थप नयाँ सामाजिक कार्यक्रम ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।